कोरोनाले थला परेको चलचित्र क्षेत्र ब्युँझिदै

कोरोनाले थला परेको चलचित्र क्षेत्र ब्युँझिदै

कोरोना महामारीका कारण थलिएको नेपाली चलचित्र क्षेत्र फेरी चलमलाउन थालेको छ । भारतीय चलचित्र ‘सूर्यवंशी’ ले हलमा दर्शक फर्काएर नेपाली सिने बजार चलायमान हुने संकेत दिएको हो ।

निर्माण सम्पन्न भएर प्रदर्शनको पर्खाइमा रहेकै बेला कोरोना महामारी शुरु भएपछि दुई वर्षसम्म त्यसै थन्किएका चलचित्रहरु अब धमाधम प्रदर्शनको तयारीमा छन् । हलमा दर्शक नपाउने चिन्ताले हिच्किचाएका कतिपय निर्माता÷निर्देशकहरुले प्रदर्शन मिति घोषणासमेत गर्न थालेका छन् ।

दशैंको मौका छोपेर नेपाली चलचित्र ‘डाँडाको वरपिपल’ प्रदर्शनमा आएपनि निर्माताले लगानीसमेत उठाउन सकेनन् । तर, तिहारको अवसर पारेर भारतीय अभिनेता अक्षयकुमार अभिनित बलिउड चलचित्र सूर्यवंशी हलमा लाग्यो । चलचित्रले अपेक्षा गरेभन्दा बढी धर्शक पाएसँगै नेपाली निर्माताहरु पनि हौसिएका हुन् ।

सूर्यवंशीले गरेको व्यापारले चलचित्र बजारमा उत्साह मात्र थपेको छैन, अधिकांश निर्माताहरु आफ्नो चलचित्र प्रदर्शन गर्न हतारिएका छन् । दादा प्रोडक्सन हाउस र रिच इन्टरटेनमेण्टको संयुक्त ब्यानरमा निर्माण भएको चलचित्र ‘ओभरडोज’ ले मंसिर १७ गतेलाई प्रदर्शन मिति तोकेको छ ।

सुमन पौडेलले निर्देशन गरेको उक्त चलचित्रमा प्रनिशराज पन्त, सबिनजंग थापा, बिना श्रेष्ठ, स्वामी डि, एलेन ब्रनिला, सदीक्षा कार्की, डुएन टर्नरलगायत कलाकारको अभिनय रहेको छ । निर्माता अर्जुन कुमारले चलचित्र ‘चपली हाइट’ को पनि प्रदर्शन मिति सार्वजनिक गरेका छन् । पुस २ मा सिनेमा रिलिज गर्ने तयारीमा निर्माण पक्ष जुटिसकेको छ ।

त्यस्तै, अभिनेत्री पूजा शर्मा र अभिनेता पल शाह अभिनित चलचित्र ‘म यस्तो गीत गाउँछु २’ आगामी माघ १९ गते प्रदर्शन हुने भएको छ । २०७६ साल फागुन ३० मा प्रदर्शनका लागि तयार भएको चलचित्र कोभिड महामारीका कारण रोकिएको थियो । चलचित्र सुदर्शन थापाले निर्देशन गरेका हुन् ।

टिप्पणीहरू