न्यायालय विवादमा पत्रकार महासंघ पनि बाहिर

न्यायालय विवादमा पत्रकार महासंघ पनि बाहिर

नेपाल पत्रकार महासंघले न्यायालयमा देखिएको पछिल्लो विवादबारे धारणा सार्वजनिक गरेको छ । महासंघले विज्ञप्ति जारी गर्दै कानुन व्यवसायीहरुको शान्तिपूर्ण आन्दोलनमा सर्वोच्च अदालत र प्रहरी प्रशासनबाट हस्तक्षेप भएको भन्दै चासो र चिन्ता प्रकट गरेको हो ।

नेपाल बार एसोसिएसनले गरेको शान्तिपूर्ण आन्दोलनमा सर्वोच्च अदालत र प्रहरी प्रशासनबाट हस्तक्षेप भएकोप्रति महासंघको ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘यसै विषयलाई लिएर सर्वोच्च अदालतमा देखिएको गतिरोधप्रति महासंघ गम्भीर चासो र चिन्ता प्रकट गर्दछ ।’महासंघले शक्तिपृथकीकरणको सिद्धान्तको अभ्यासमा गम्भीर हुन सम्बन्धित पक्षको ध्यानाकर्षण पनि गराएको छ । त्यस्तै, सर्वोच्च अदालत परिसर र परिसर बाहिर पत्रकारहरूलाई समाचार संकलनमा क्रममा पुर्याइएको अवरोधप्रति पनि महासंघले आपत्ति प्रकट गरेको छ ।

स्वतन्त्र रुपमा समाचार संकलनका लागि खटिएका पत्रकारमाथि अदालत र प्रहरी प्रशासनबाट दुव्र्यवहार गरिएको भन्दै महासंघले घटनाको निन्दा गरेको छ । समाचार संकलन गर्न गएका सञ्चारकर्मीलाई अवरोध गर्नु पत्रकारको संवैधानिक स्वतन्त्रता र अधिकारमाथिको हस्तक्षेप हुने महासंघको ठहर छ ।

महासंघले पत्रकारको संवैधानिक स्वतन्त्रताको सम्मान गरी निर्वाध र स्वतन्त्ररूपमा पत्रकारिता गर्ने वातावरण निर्माणमा सहयोग गर्न सम्बन्धित पक्षसँग आग्रह पनि गरेको छ ।

‘न्याय क्षेत्रमा देखिएको विकृतिको अन्त्य र सर्वोच्च अदालतका प्रधानन्यायाधीशको राजीनामाको माग गर्दै नेपाल बार एसोसिएसनले विगत केही दिनदेखि जारी राखेको शान्तिपूर्ण आन्दोलनको क्रममा पत्रकारहरूलाई अदालत र प्रहरी प्रशासनबाट समाचार संकलनमा अवरोध पुयाउने र दुव्र्यवहार गरिने काम हुदै आएको,’ महासंघले भनेको छ, ‘स्वतन्त्ररूपमा सञ्चारकर्ममा जुटेका पत्रकारको संवैधानिक स्वतन्त्रताको सम्मान गरि निर्वाध र स्वतन्त्र रूपमा पत्रकारिता गर्ने वातावरण निर्माणमा सहयोग गर्न महासंघ सम्बन्धित निकायसँग आग्रह गर्दछ ।’

टिप्पणीहरू