‘ओलीले ढोका थुनेपछि बाहिरैबाट टाटा बाइबाइ गरेँ’

‘ओलीले ढोका थुनेपछि बाहिरैबाट टाटा बाइबाइ गरेँ’

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमालेमा रहनसक्ने अवस्था नभएपछि बाध्य भएर बिद्रोह गर्नुपरेको बताउनुभएको छ । पार्टी निकट अखिल नेपाल किसान महासंघको राष्ट्रिय समितिको घोषणसभालाई आज सम्बोधन गर्दै उहाँले विकल्प बाँकी नहुँदा विद्रोह अनिवार्य बनेको बताउनुभएको हो ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूहरुलाई ढोका थुनेर बाहिर निकालेकाले एमालेलाई टाटा बाइबाई गर्नुपरेको अध्यक्ष नेपालको भनाइ छ । एमालेमा बसेर अन्तरसंघर्ष गर्ने आफूहरुले अन्तिमसम्म प्रयास गरेपनि ओलीकै कारण सम्भव नभएको पनि उहाँले दाबी गर्नुभयो ।

आफूलाई छाडेर एमालेमै रहेका ‘१० भाइ’ समूहतर्फ इंगित गर्दै उहाँले भन्नुभयो, ‘कतिपयलाई किन विद्रोह गरेको त्यहीँ बसेर अन्तरसंघर्ष गरेको भए हुँदैन थियो भन्ने लागिरहेको हुनसक्छ । तर, एमालेमा स्पेस नै नभएकाले एमालेलाई टाटा बाइबाई गर्नुपरेको हो ।’

ओलीतिर लागेका ती नेताहरुलाई अध्यक्ष नेपालले आँट नभएकाहरुको समूह पनि भन्नुभएको छ । आँट नभएकै कारण उनीहरु अहिले एमालेको ढोकामा रुँदै र कराउँदै बस्नुपरेको उहाँको टिप्पणी छ ।

टिप्पणीहरू