मकवानपुरमा काँग्रेस अधिवेशन : देउवापक्ष क्लियर, पौडेल पक्षमा हानाथाप

मकवानपुरमा काँग्रेस अधिवेशन : देउवापक्ष क्लियर, पौडेल पक्षमा हानाथाप

भोलि गते हुने प्रदेश निर्वाचन क्षेत्रस्तरीय समितिको नेतृत्वका लागि मकवानपुरमा नेपाली काँग्रेसका नेता कार्यकर्ताबीच गृहकार्य शुरु भएको छ । कतिपयले उम्मेदवारी घोषणा गरिसकेका छन् भने कतिपय रनभुल्लमा देखिएका छन् ।

नेपाली काँग्रेसको केन्द्रीय गुटको चलखेल यसपटक वडातहसम्मै देखिएको छ । कम्युनिष्ट पार्टीमा झैँ गुट र उपगुटका अनेकांै हल्लाबीच मकवानपुरको ४ वटै प्रदेश निर्वाचन क्षेत्रमा अधिवेशन हुँदैछ । तीमध्ये सबैजसो निर्वाचन क्षेत्रमा संस्थापन पक्ष अर्थात् प्रधानमन्त्री शेरबहादुर देउवा पक्षधर र वरिष्ठ नेता रामचन्द्र पौडेललगायतका पक्षबीच चुनाव हुँदैछ ।

नेपाली काँग्रेस निकट स्रोतका अनुसार मकवानपुरको निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश सभा ‘क’ मा सभापतिका दाबेदार सुशान्त श्रेष्ठ देखिएका छन् । नेपाली चलचित्रका खलपात्र उनलाई सर्वसम्मत सभापति बनाउने गृहकार्य जारी छ । यसअघि देउवा इतर मानिएका उनी देउवा र देउवाइतरको साझा सभापति हुने अवस्था रहेको बताइन्छ ।

मकवानपुर क्षेत्र नम्बर १ को ‘ख’ देउवा पक्षधरका राजेश बानियाँले सभापतिमा दाबी गरेका छन् । उनी हेटौँडा उपमहानगरपालिका ५ का वडाध्यक्ष छन् । उनीसँग देउवाइतर पक्षबाट उम्मेदवार बन्नेहरुको टुङ्गो लाग्न सकेको छैन ।

त्यसैगरी क्षेत्र नम्बर २ को ‘क’ मा थाहा नगरपालिकाका उपमेयर खड्ग गोपालीले सभापति पदमा दाबी गरेका छन् । उनी देउवा पक्षधरबाट सभापति पदमा निर्वाचनमा होमिएका हुन् । उनीसँग देउवाइतरका सुमन श्रेष्ठ, ओम बस्नेत, सुजन गोपालीलगायतले प्रतिस्पर्धा गर्दैछन् । यद्यपि, देउवाइतर पक्षबाट श्रेष्ठ, बस्नेत र गोपालीमध्येबाट एक जना मात्रै उम्मेदवार हुने गरी गृहकार्य भइरहेको स्रोतको दाबी छ ।

मकवानपुर क्षेत्र नम्बर २ को ‘ख’ देउवा पक्षबाट रञ्जन कालाखेतीको उम्मेदवारी टुङ्गिएको छ । उनीसँग राक्सिराङ गाउँपालिका ८ का वडाध्यक्ष तथा वर्तमान जिल्ला सदस्य रामकृष्ण प्रजाले प्रतिस्पर्धा गर्दै छन् । वर्तमान क्षेत्रीय उपसभापति नुरोजकुमार पौडेलले पनि देउवाइतर पक्षबाट चुनावमा सहभागिता जनाउने बताइन्छ । तर, अन्त्यमा प्रजा र पौडेलमध्ये एकजनाले मात्रै कालाखेतीसँग प्रतिस्पर्धा गर्ने देउवा इतरका नेताहरु बताउँछन् ।
मकवानपुरका सभापति समेत रहेका व्यवसायी इन्द्रबहादुर बानियाँले प्रधानमन्त्री देउवा पक्षधरको नेतृत्व गरेका छन् । उनीसगै केन्द्रीय सदस्य महलक्ष्मी डिना पनि देउवा पक्षधर हुन् । मकवानपुरमा आफ्नो पक्षधरले एकछत्र राज गर्नेगरी सभापति बानियाँ र केन्द्रीय सदस्य उपाध्यायको योजनाअनुसार प्रदेश निर्वाचन क्षेत्र अधिवेशनमा देउवा पक्षबाट एक जना मात्रै उम्मेदवार हुने उठाइने गरि फिल्डमा कार्यकर्ता खटाइएको छ ।

गैर देउवा पक्षधर अर्थात रामचन्द्र पौडेल, प्रकाशमान सिंह, शशांक कोइराला, विमलेन्द्र निधिलगायत नेताहरुका पक्षमा लागेकाहरुले भने साझा उम्मेदवार बनाउन ढिलाइ गरिरहेको देखिन्छ ।
पूर्वगृह राज्यमन्त्री भइसकेका बानियाँ हाल बागमती प्रदेशमा काँग्रेस संसदीय दलका नेता हुन् । मकवानपुरमा एकछत्र राज चल्न थालेको भन्दै काँग्रेसका पुराना नेताहरुको टिम बानियालाई घेराबन्दी गर्न उद्दत देखिएका छन् ।

बानियाँविरुद्ध अर्का नेता एवम् व्यवसायी जयराम लामिछानेसहित पूर्व जिल्ला सभापतिहरु, वर्तमान जिल्ला पदाधिकारी, सल्लाहकारहरु लागिपरेका छन् । यद्यपि, बानियाँ पक्षले जिल्लामा छानिएका १ हजार ९ सय ५० भन्दा बढी बुथ प्रतिनिधिमध्ये आफ्नो पक्षमा ७० प्रतिशत रहेको दाबी गर्दै आएको छ ।

टिप्पणीहरू