दलितहरुका जाँदैछन् दुःखपूर्ण दिन

दलितहरुका जाँदैछन् दुःखपूर्ण दिन

दृढ इच्छाशक्ति र संकल्प भए । असम्भव केही छैन दुनियाँमा । यो संसार नै जित्नेहरूको हो । तिनैको लेखिन्छ इतिहास । तिहारकै मुखमा एक निजामती कर्मचारीले रेकर्ड ब्रेक गरेका छन् । सीमान्तकृत समुदायबाट उठेका मेखबहादुर मंग्राती छन् तिनी । जसले कान्छो सहसचिवको रूपमा आफूलाई उपस्थित गराए । २३ वर्षको उमेरमा खरिदार बनेर ३५ वर्षको उमेरमा सहसचिवको यात्रा तय गरेका । ३५ वर्षको उमेरमै सहसचिवमा उक्लिन उनले कम्ता पापड बेलेनन् ।

तिहारअघि एकैपटक १८ जना कर्मचारी सहसचिव तहमा उक्लिए । आन्तरिकतर्फबाट १२ जना र खुला प्रतिस्पर्धाबाट माधवप्रसाद पोखरेल, तीर्थराज चिलुवाल, रामचन्द्र तिवारी, भोला दाहाल, रेखा दास र मेखबहादुर मंग्राती सहसचिव पदमा बढुवा भए । यस्तै परराष्ट्र सेवाबाट सुरेन्द्रकुमार यादव, न्याय सेवाबाट रामप्यारी सुनुवारसहित ६ जना आएमध्येका हुन् मंग्राती ।

सिन्धुलीको ढकालगाउँमा ०४३ भदौ ९ मा जन्मिए पिता भक्त र माता लीलावतीको कोखबाट । कान्छो छोरो, मायाको डोरो भन्छन् । पञ्चायत, प्रजातन्त्र, लोकतन्त्र हुँदै मुलुक गणतन्त्रमा प्रवेश गरिसकेको छ । अनेकन् तन्त्र फेरिएर के गर्नु ? दलितलाई हेर्ने मानिस र समाजको धारणा उस्तै छ । ३६ वर्षअघि दलितको कोखबाट जन्मिए र उच्च जातको थिचोमिचो अन्याय, अत्याचार सहँदै हुर्किए ।

प्रशस्त जग्गा–जमिन थिएन । बिहान खाए बेलुका के खाऊँ ? बेलुका खाए बिहान के खाऊँ ? हातमुख जोर्नै धौधौ थियो परिवारको अवस्था । घरको कमजोर आर्थिक अवस्थाकै कारण दिदीहरूले पढ्न पाउनु भएन । उनीचाहिँ जनज्योति मावि फोस्रेटारमा भर्ना भए । पढाइभन्दा घरकै काममा बढी ध्यान दिनुपथ्र्याे । बुवा आमालाई सघाउनमै बढी केन्द्रित हुँदा पढाइमा कमजोर । त्यसमाथि घरमा पढाइमा मद्दत गर्ने अरु कोही थिएन । सबै कुरामा पोख्त तर पढाइमा भने कमजोर । कक्षा ८ सम्म जसोतसो पार लगाए । त्यसपछि पढाइले विस्तारै गति लिन थाल्यो । ०५९ सालमा एसएलसी, कक्षा ११ र १२ पनि त्यहीँबाट ।

१२ कक्षामा पढ्दै गर्दा नागरिकता बनाउन जिल्ला प्रशासन कार्यालय सिन्धुली पुगें । सर्टिफिकेट र नागरिकताको सिफारिसमा केही गडबड भएछ । जानी जानी गल्ती कसैले गर्दैन । प्रशासन कार्यालयमा कार्यरत नासु वा खरिदार हुन्, एक कर्मचारीले सातो मात्र टिपे । दलित भन्दै तथानाम बोले । उनको त्यो शब्द इख बनेर बिझ्यो, इख नभएको मान्छे र विष नभएको सर्प काम छैन भनेझँै । जिप्रकाका तिनै कर्मचारीको अप्रिय क्षणखानसँगै मनमनै अठोट लिए कि योभन्दा ठूलो मान्छे बन्छु भनेर । स्नातक तहका लागि सिन्धुली बहुमुखी क्याम्पसमा भर्ना भए । र, सोही क्याम्पसबाट तय भयो निजामती सेवाको यात्रा ।

भन्छन् नि जीवनमा एक छाक खाना दिने मान्छेभन्दा प्रिय हुन्छ बाटो देखाइदिने मान्छे । सबैले कहाँ भेट्छन् र त्यस्ता व्यक्ति ? कलेज अध्ययन गर्दै गर्दा संगत हुन पुग्यो दीपेन्द्र गिरीसँग जो गाविस सचिवको रूपमा सिन्धुली आएका थिए । उनैले देखाएको बाटो हो यो । लोकसेवा आयोगको निरन्तर तयारीमा लागे । एक वर्षसम्म घरबाट बाहिरसमेत ननिस्की ढोका बन्द गरेर लगातार अध्ययनमा तल्लीन रहे । तिनताक लोकसेवाको ट्युसन पढ्न पैसा नै कहाँ थियो र ? ६ महिनापछि लोकसेवा आयोगको फारम खुल्यो । फारम भरे ०६६ सालमा । सफलता मिल्यो । पहिलो पटकमै समावेशी र खुला दुवैतर्फ नाम निकाल्न सफल भए ।

पहिलो पोष्टिङ भयो सोलुखुम्बुको वाकु गाविस सचिवको रूपमा । वाकुमा ६ महिना काम गरेपछि सोही वर्षको माघमा नायब सुब्बामा नाम निकाले । मनभरि उत्साह थियो । त्यहाँबाट पुरातत्व विभाग काठमाडौंमा काम गर्न थाले । निजामती सेवामा प्रवेश गरी पुरातत्व विभागमा सरुवा भएर काठमाडौं आइपुग्दा अधिकृत पदका लागि फाराम खुलिसकेको थियो । निजामती सेवामा प्रवेश गरिसकेपछि सबैको लक्ष्य हुन्छ सचिवसम्म बन्ने । सोही लक्ष्यअनुरूप काममै व्यस्त थिए । लोकसेवा खुलिसकेको थियो ।

एक वर्ष फाराम नभर्ने योजना थियो तर साथीहरूले कर गरे । हतारै हतारमा परीक्षा दिए, नाम निस्कियो । यसपछि पछाडि फर्केर हेर्नुपरेको छैन । २३ वर्षमा निजामती सेवामा प्रवेश गरेको । अधिकृत बनेसँगै जिल्ला प्रशासन कार्यालय भोजपुरमा सहायक सीडीओको रूपमा केही समय काम गरे । त्यहाँबाट जिप्रका मोरङ सरुवा भए । दुई वर्ष मोरङमै काम गरे । दुई वटा प्रशासन कार्यालयमा रहेर काम गर्दा गृह प्रशासनबारे मूलभूत कुराको जानकारी लिए ।

त्यहाँबाट स्थानीय विकास मन्त्रालय सरुवा भए । मन्त्रालयले अमरगढी नगरपालिका डडेल्धुरामा खटायो । डडेल्धुरामा कार्यकारी अधिकृतको रूपमा काम गरेपछि फेरि मन्त्रालयमै सरुवा भयो । त्यसपछि महालक्ष्मी नगरपालिका इमाडोलको प्रशासन शाखामा एक वर्ष काम गरे । साढे २ वर्ष राष्ट्रिय दलित आयोगमा कार्यरत रहे र हाल सहसचिवको रूपमा सरकारले खटाएको क्षेत्रमा जाँदै छन् । पदस्थापन भइसकेको छैन । ०७४ सालमा उपसचिवको वैकल्पिकमा नाम निस्किएर ०७६ सालमा संसद् सचिवालयको उपसचिवको लिखित परीक्षामा नाम आए पनि मौखिक परीक्षा दिन सकेका थिएनन् ।

कुनै समय थियो दलितहरू उच्च वर्गहरूको नजरबन्दमा बस्नुपर्ने । तर, समयले विस्तारै कोल्टे फेर्दै छ । अहिले समय परिवर्तनसँगै विस्तारै जातीयताका तगारा हट्दै छन् । दलित समुदायमै पनि केही व्यक्ति यस्ता छन्, जसले डटेर अघि बढ्दा सफलता हात पार्न सफल भए । मानबहादुर बिक पहिलो दलित सचिवको रूपमा काम गरेर रिटायर्ड भइसक्नुभएको छ । सीता परियार पहिलो दलित महिला सहायक सीडीओको रूपमा भक्तपुर जिल्लामा हुनुहुन्छ ।

यस्तै, उपेन्द्र बिक उपप्राध्यापक, सीता नेपाली सामाजिक अभियन्ता, सुरेश सुनुवार कान्छो सीडीओ गगनसिं सुनारले दलित समुदायबाट पहिलो मेयर बनेर रेकर्ड राख्नुभएको छ ।

टिप्पणीहरू