अब मोबाइलमा एमाले रिङटोन

अब मोबाइलमा एमाले रिङटोन

१० औँ महाधिवेशनको तयारीमा जुटेको नेकपा एमालेले प्रचार प्रसारको नयाँ शैली अपनाएको छ । प्रचार प्रसारमा हाइटेकलाई जोड दिएको एमालेले महाधिवेशन केन्द्रित मोबाइल रिङटोन बजाउनेदेखि उल्टो गन्ति प्रचार गर्नेसम्मका निर्णय गरेको छ ।

हिजो बसेको महाधिवेशन मूलव्यवस्थापन समितिको बैठकले प्रचार प्रसारलाई तीव्रता दिने निर्णय गरेको हो । सोही बैठकले महाधिवेशनको थीमसहितको मोबाइल रिङटोन घन्काउने निर्णय गरेको हो । ‘मङ्सिर १० गते १२ बजे नारायणगढ जाउँ’ अभियान केन्द्रित रिङटोन बनाउने एमालेको योजना छ ।

एमालेले रिङटोनलाई सोसल मिडियामा प्रचारप्रसार गरेर थप प्रभावकारी बनाउन पनि कार्यकर्तालाई भनेको छ । त्यस्तै, राष्ट्रिय र स्थानीय तहमा पत्रपत्रिका, रेडियो, टेलिभिजन, युट्युब र अनलाइनहरुमा महाधिवेशनकेन्द्रित बहस अन्तरक्रिया र अन्तर्वार्ताहरु प्रशारण गर्न अभिप्रेरित गर्ने, प्रचार सामाग्रीलाई पार्टीको वेबसाइट, एप, सोसल मिडिया, प्लेटफर्मबाट अपलोड गर्ने, पार्टीको वेबसाइटमार्फत महाधिवेशनको उल्टो गन्ति प्रचार गर्ने एमालेको निर्णय छ ।

मूल व्यवस्थापन कमिटीको बैठकले मंसिर २ देखि ९ गतेसम्म पार्टीको फेसबुक पेजमार्फत दैनिक १ घण्टा लाइभ प्रसारण गर्ने निर्णय पनि गरेको छ । त्यसैगरी, जबज र मदन भण्डारीकेन्द्रित, पुष्पलाल, मदन भण्डारी र मनमोहन अधिकारीका विशिष्ट योगदानकेन्द्रित वृत्तचित्र देखाउने, सरकारमा रहँदा गरेका कामको प्रचार गर्ने र समाजका लब्धप्रतिष्ठित व्यक्तिहरुको शुभकामना बजाउने पनि एमालेको तयारी छ ।

प्रचार विभाग प्रमुखसमेत रहेका सचिव योगेश भट्टराईको संयोजकत्वमा गठित प्रचार कमिटीले यस्तो कार्ययोजना पेश गरेको हो । मूलव्यवस्थापन कमिटीले विभिन्न १२ वटा उपकमिटीहरु पनि बनाएको छ । एमालेले यसअघि नै एकसिङ्गे गैंडाले कम्युनिष्ट पार्टीको झण्डा उठाएको महाधिवेशनको लोगो सार्वजनिक गरिसकेको छ ।

एमालेको महाधिवेशन आगामी मंसिर १० देखि १२ गेतसम्म चितवनमा हुँदैछ । त्यसका लागि देशभरबाट प्रतिनिधि चयन भइसकेका छन् । ९० प्रतिशत बढी प्रतिनिधि अध्यक्ष केपी ओलीलाई ‘आई लभ यू केपी बा’ भन्नेहरु प्रतिनिधि छानिएकाले एमाले महाधिवेशनले पुनः ओलीलाई नै अध्यक्षमा दोहोर्याउने निश्चितजस्तै छ ।

विचार, नीति र नेतृत्वको बहसमा खासै प्रभावकारिता नदेखिए पनि प्रचारको नयाँ शैलीले भने एमाले महाधिवेशनमा रौनक थप्ने एमालेजन स्वयम्ले बताएका छन् ।

टिप्पणीहरू