दूत बनेर को जाँदै देश देशावर ?

सबभन्दा नजिकको छिमेकी भारत । तर, फोहोर कात्तिकदेखि नै त्यहाँ नेपाली राजदूत छैनन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आउँदा कुरा पनि उठ्यो, यसरी लामो समय राजदूतविहीन अवस्था सुहाउँदो भएन । र, यही कुरा नेपालका प्रधानमन्त्री केपी ओली भारत गएका बेला पनि उठेकै हो । 

अब सरकारले भारतमा राजदूत पठाउने तयारी आजभोलिमै शुरु गर्ने भएको छ । त्यसका लागि भदौको २४ गतेदेखि पदावधि पूरा गरी अवकाशमा जाने प्रधानसेनापति राजेन्द्र क्षत्रीको अधिकतम् कोसिस चलेको छ । ०७२ मा भारतले नाकाबन्दी लगाएको बेला नाकाबन्दी खुलाउन आफूले महŒवपूर्ण पहल गरेको उनले दाबी गर्दै आएका छन् । प्रधानसेनापतिलाई भारत पठाउने कुरा चलिरहँदा प्रधानमन्त्री केपी ओलीले आफ्नै सचिवालयमा कार्यरत नेकपाका केन्द्रीय सदस्य राजन भट्टराईलाई ‘जाने हो त ?’ भनी सोधेको बताइन्छ । तर, राजनले काठमाडौं क्षेत्र नं. ४ मा आफ्नो सांगठनिक स्थितिमा क्रमशः सुधार आएको र राजनीतिक भूमिकामै जम्ने भन्दै जान चाहेनन् । पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले राजदूतको रूपमा काम गर्न रुचि देखाएका छन् । एमाले नेताहरूकै सिफारिसमा प्रमुख निर्वाचन आयुक्त भई ०७० को संविधानसभा निर्वाचन सफल बनाएको दृष्टान्तसहित दाबी पेश गरेका छन् । 

त्यस्तै, संयुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी नियोगको प्रतिनिधि दुर्गाप्रसाद भट्टराई फिर्ता भएपछि त्यहाँ कसलाई पठाउने भन्नेबारे अर्को तयारी शुरु भएको बताइन्छ । नेपालमा ०६३ को परिवर्तनसँगै शान्ति स्थापनार्थ प्रवेश गरेको संयुक्त राष्ट्रसंघीय मिसन अनमिन फिर्ता भएपछि नेपाली सेनाले संयुक्त राष्ट्रसंघमा फोर्स कमाण्डरको जिम्मेवारी निर्वाह गर्ने अवसर गुमाउँदै आएको छ । फोर्स कमाण्डरका लागि भिड्न गएका जर्नेल गौरव तण्डुल संयुक्त राष्ट्रसंघमा ओके भएनन् । नेपालमा ०६३ को परिवर्तनपछि खडा भएको संयुक्त राष्ट्रसंघीय शान्ति मिसन अनमिन फिर्ता भएपछि नेपाली सेनाबाट फोर्स कमाण्डरको संख्यामा कटौती हुँदै आएको छ । यसअघि पवन पाँडे, दिलीप रायमाझीसहित धेरैले यस्तो अवसर पाएनन् । अब हुने प्रधानसेनापति पूर्णचन्द्र थापा पछिल्लो समय फोर्स कमाण्डरबाट बीचैमा आएका व्यक्ति हुन् । तर, उनीपछि त्यो ठाउँमा पुग्नुपर्ने जर्नेल तण्डुललाई संयुक्त राष्ट्र संघले अस्वीकार गरी एकजना अफ्रिकन जनरललाई छानिसकेको छ ।  

यही बीच पुल्चोकस्थित संयुक्त राष्ट्रसंघीय राजनीतिक कार्यालय बन्द गर्ने नेपालको निर्णयले पनि सेना प्रभावित भइरहेको छ । यस्तोमा सम्बन्ध सुधार गर्न उनै राजेन्द्र क्षत्रीलाई पठाउने कुरा पनि उठेको छ । अनमिन फर्किएपछि नेपाली सेनाले गुमाउँदै आएको फोर्स कमाण्डरको जिम्मेवारीलाई पूर्ववत् बनाउने कुराको लबिङ गर्न सैनिक पृष्ठभूमिको दूत हुँदा सहज हुने आकलनसाथ राजेन्द्रको कुरा उठेको बताइन्छ । त्यही पोस्टिङमा परराष्ट्रबाट अहिलेका सचिव शंकर बैरागीलाई जान भनिएको तर उनले सम्भावना बढ्दो नचाहेको अर्को चर्चा छ । त्यसपछि तेस्रो हैसियतका भरत पौडेल जाने सम्भावना बढ्दो छ । बैंककस्थित राजदूत खगनाथ अधिकारीले साउन १६ मा उमेरहदका कारण अवकाश पाउँदै छन् । साउन १५ भित्र दुर्गाप्रसाद भट्टराईलाई छाडेर आउन भनिएको छ । त्यसैले अहिले तेस्रो हैसियतका भरत पौडेललाई संयुक्त राष्ट्रसंघ पठाउने, सचिव शंकर बैरागीको अढाई वर्षमा अवकाश हुन्छ । त्यसपछि शंकर न्युयोर्क जाने, भरत फर्किएर यता सचिव हुने हिसाब छ । त्यस्तै, यसअघि साउदी अरेवियामा राजदूतको कुशल भूमिका निर्वाह गरिसकेका नेकपाका नेता उदयराज पाण्डेलाई मलेसिया पठाउने गरी तयारी भइरहेको छ । खाली रहेको अर्को एक खाडी राष्ट्रमा परराष्ट्रकै अर्को सहसचिव जाँदै छन् । 

टिप्पणीहरू