पत्रकारहरुलाई प्रेस काउन्सिलको अनुदान

पत्रकारहरुलाई प्रेस काउन्सिलको अनुदान

प्रेस काउन्सिल नेपालले विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारहरुलाई अनुदान दिने बताएको छ । काउन्सिलले मिडिया र पत्रकारहरुलाई अनुदान लिनको लागि निवेदनको निम्ति आहवान गरेको छ ।

मिडिया विकास कोषद्वारा स्वीकृत योजनाअनुसार चालु आर्थिक वर्षमा अनुदान उपलब्ध गराउन लागिएको हो । अनुदानका लागि तोकिएको शर्त पूरा गरी ३५ दिनभित्र काउन्सिलको कार्यालयमा निवेदन दिनुपर्ने सूचनामा उल्लेख छ ।

काउन्सिलले निवेदनका आधारमा २० जिल्लामा एक वटाका दरले ल्यापटप खरिदका लागि ४० प्रतिशत, पाँच जिल्लामा एक वटाका दरले क्यामेरा खरिदका लागि ३० देखि ४० प्रतिशत, दुईवटा प्रेस स्थापनाका लागि अनुदान, दुईवटा रेडियो स्थापना र प्रत्येक प्रदेशबाट दुई जनालाई इन्टरनेट जडानमा अनुदान दिने भनिएको छ ।यस्तै, पत्रकारका लागि प्रत्येक प्रदेशबाट तीन जनाका दरले २१ जनालाई लेखनवृत्ति र स्नातकोत्तर तहमा सोधपत्र लेखनका लागि प्रत्येक प्रदेशबाट एकजना गरी सात जनालाई अनुदान उपलब्ध गराइने काउन्सिलले जनाएको छ ।

सहायताका लागि एउटा मिडियाबाट एक जना पत्रकारले कुनै एक सुविधाका लागि मात्रै निवेदन दिन पाइने छ । त्यसैगरी सञ्चार गृहले पनि कुनै एक सुविधाका लागि मात्रै निवदेन दिन पाउने बताइएको छ ।

काउन्सिलले दुर्गम, स्थानीय र यसअघि सुविधा नलिएका पत्रकार र सञ्चार माध्यमलाई प्राथमिकतामा दिइने बताएको छ ।

टिप्पणीहरू