​ल्याङ–ल्याङ र लफडा

मधेसको सिंगो राजनीति बुझ्न यी दुई दृष्टान्त नै काफी हुँदैन र ? अहिले मधेसका दुई ठूला दलका शीर्षनेता संसद्का महासचिवसँग हरेक दिनजसो ‘किचकिच’ गरिरहेका छन् । कहिले महासचिव मनोहर भट्टराईसँग ‘ल्याङ ल्याङ’ गर्न पुग्छन् स्वास्थ्यमन्त्री उपेन्द्र यादव त कहिले पुग्छन् राजेन्द्र महतो । 

यसरी यी दुई अध्यक्षले संसद्का महासचिवसँग दोहोरी खेल्नुको कारण रहेछ मामुली संसदीय दलको कार्यालय छुट्ट्याइएको स्थान । अघिल्लो पटक उपेन्द्र यादवको पार्टी संघीय समाजवादी फोरमका संसदीय दलको कार्यालय २ नम्बर भवनको तेस्रो तलामा छुट्ट्याइएको थियो । यो पटक संसद् सचिवालयले उनका लागि पहिला (एकनाथ ढकाल, शरत्सिंह भण्डारी, हरिचरण साहलगायत साना दलका लागि छुट्ट्याइएको (एमाले संसदीय दलको कार्यालयपछाडि) टिनले छाना छाइएको भवन संसद् सचिवालयले छुट्ट्याएको थियो । जसै आफ्नो भागमा सानो भवन छुट्ट्याइयो ।

उपेन्द्र यादवले अत्तो थापे कि त्यसमा आफू बस्दै नबस्ने । केही दिनअघि मात्र संसद्का महासचिवलाई भेटेर हकारे ‘यस्ता थोत्रा टिनले छाएको ठाउँमा बस्ने मेरो हैसियत हो ?’ संसद् सचिवालय स्रोतका अनुसार स्वास्थ्यमन्त्री यादवले हकारेपछि मनोहरले पहिला छुट्ट्याइएको २ नम्बर भवन नै छुट्ट्याइएको छ । जहाँ अघिल्लो पटक माओवादीको संसदीय दलको कार्यालय थियो । तर, अघिल्लो पटकभन्दा दुई तलामाथि हालै थपिएको नयाँ तलामा । २ नम्बरको भवनको माथि थपिएको पाँचौं तला उपेन्द्र यादवको संघीय समाजवादी फोरका लागि छुट्ट्याइयोे । तर, कार्यालय उक्लन र ओर्लन सास्ती भएपछि अस्तिको साता मात्रै उनले संसद्का महासचिवलाई अर्काे अत्तो थाप्दै भेट्न पुगे ‘संसदीय दलको कार्यालय उक्लन गाह्रो भयो लिफ्ट हालिदेऊ ।’ लिफ्ट हाल्ने विषयमा सचिवालयमा उनले तीन पटक ताकेता गरिसकेका छन् । उपेन्द्र आफैं हात्तीवनतिरको अर्पाटमेन्टमा बस्छन् । अर्पाटमेन्टको सुविधा संसद् सचिवालयमा खोज्न थालेपछि संसद्का कर्मचारी उपेन्द्रबाट हत्तु छन् । उसो त सुविधा खोज्ने मामलामा उपेन्द्रलाई कसैले भेट्न सक्दैन । पहिला शहरी विकासमन्त्री बन्ने हल्ला चले पनि ३३ अर्ब बजेट हुने शहरी विकास छोडेर उनले ५८ अर्ब बजेट भएको स्वास्थ्य मन्त्रालय रोजेका छन् । 

उता, ससफोभन्दा १ सिट मात्र कम ल्याएको राजपा त्यही टिनले छाएको (एमाले संसदीय दल पछाडि) स्थानलाई संसदीय दलको कार्यालय पाएको छ । 

त्यता पनि अर्काे रोइलो छ । पहिला राजपामै रहेर हाल सूर्य चिह्नबाट चुनाव लडेर चुनाव जितेका हृदयेश त्रिपाठी र बृजेश गुप्ताहरूका लागि त्यही टिनले छाएको भवनमा पहिला स्वतन्त्र सांसदहरू चन्देश्वर झा र अत्तहर कमाल मुसलमान (अहिले कांग्रेस)हरूका लागि छुट्ट्याइएको कोठा छुट्ट्याइएको थियो । आफूबाट चोइटिएकाहरूलाई समेत एउटै भवनमा कार्यालय छुट्ट्याइएयो । यसो हुँदा राजपा र हृदयेश, बृजेशहरूको कार्यालय आमने–सामने हुन पुग्यो ।

 अध्यक्ष मण्डलका अध्यक्ष अनिल झा, महेन्द्र यादवका लागि छुट्ट्याइएकै कोठा अगाडिबाट यी दुई सांसद हिँड्न थालेपछि राजेन्द्र महतोले केही दिनअघि महासचिवलाई भेटेर यिनीहरू दुई वटाको अनुहारै हेर्न चाहन्नँ, यसरी अगाडिबाट हिँड्दा राजपा र बृजेश, हृदयेशबीच लफडा हुन्छ । यसो भएमा संसद् सचिवालयले नै जिम्मा लिनुपर्छ भन्दै राजेन्द्रले मनोहरलाई ¥याख¥याख्ती पारेसँगै सम्भावित झडपलाई संसद् सचिवालयले पहिलाको ढोका बन्द गरेर हालै मात्र एमाले संसदीय दलको कार्यालय छेउको ढोका खुला गरिएको छ । 

उपेन्द्रका उल्कापात 

उता, अर्काे गाईजात्रा छ स्वास्थ्य मन्त्रालयमा । खासमा त्यहाँ मन्त्री छन् उपेन्द्र यादव तर स्वास्थ्य मन्त्रालयका कर्मचारी व्यंग्य गर्दै भन्न थालेका छन् ‘यहाँका मन्त्री उपेन्द्र यादव हुन् वा रेणु यादव हुन् छुट्ट्याउनै गाह्रो छ हजुर ।’ 

स्वास्थ्यमन्त्री उपेन्द्र  अहिले दुई जना महिलाका कारण वदनाम भइरहेका उपेन्द्रकै पार्टीका नेता टिप्पणी गर्छन् । उपेन्द्र यादव मन्त्री बनेको महिना दिन पुग्दै छ । तर, संघीय समाजवादी फोरमकै व्यक्तिले उपेन्द्रसँग भेट्न नपाउने, भारतीय नागरिक र पूर्वराजावादी तथा म्यानपावरवालीहरूले रुचाएका मान्छेले मात्र उपेन्द्रसँग भेटघाट गर्न पाउने भएपछि संसफोका नेता उपेन्द्रसँग चिढिएका हुन् । रेणु यादवले उपेन्द्रलाई दबाब दिएर सचिवालयमा आफ्नो मान्छेलाई जागिर खुवाएकी छन् । त्यहाँ नियुक्त पाएका विजय यादवदेखि पूर्व शरत्सिंह शाहको कान्छी श्रीमती तथा म्यानपावर व्यवसायी अञ्जना शाहको प्रभावमा परेर स्वास्थ्य मन्त्रालय नै यी दुवैले चलाइरहेको र उपेन्द्र यादवलाई छाया मन्त्री बनाइएको भन्दै संसफोका नेताले चित्त दुखाउन थालेका छन् ।

टिप्पणीहरू