​लालबाबुकै आँगनमा लैबरी

विदेशका डिभी, पिआर लिएर सरकारी पदमा बस्नेहरूलाई एउटा त्याग्न लगाउने मन्त्री लालबाबु पण्डितकै जिल्लाका प्रमुख जिल्ला अधिकारी अमेरिकाको डिभीवाला छन् । मोरङका प्रजिअ रामप्रसाद आचार्यले अमेरिकी डिभी लिएर परिवारलाई उतै बसोबासको व्यवस्था मिलाइसकेका छन् । उनकी श्रीमती र दुई सन्तती अमेरिका नै बस्छन् ।

रामप्रसाद तिनै चतुर नोकरशाह हुन् जो भरत सुवेदी राजस्व अनुसन्धान विभागमा हुँदा उनीसँगै थिए । ०६० सालमा कर अधिकृत भएदेखि नै उनी कमाउ कार्यालयमा मात्र बस्दै आएका छन् । लोकमानसिंह कार्की अख्तियारको प्रमुख भएपछि रामप्रसाद आयोगमै उनका सहयोगीका रूपमा रहे । ०६० सालदेखि नै राजस्व प्रशासनमा बसी काम गरेका उनी लोकमानसँग अख्तियारमा रहुन्जेल उनीसँगै मिलेर कर र राजस्वमा बसी अकुत कमाएका कर्मचारीलाई १३ पन्ने भर्न लगाउँथे । त्यहाँ बसुञ्जेल उनकै सल्लाह र सूचनाका आधारमा अकुतमा भर्न लगाउँदै लाभ लिँदै गरिएको थियो । अकूतमा अनुसन्धान गर्ने भनी सम्पत्ति विवरण भर्न लगाउने र अन्त्यमा सकेसम्म बढी लाभ लिएर सफाइ दिने गरिन्थ्यो । उनी जहाँ बसे पनि मनमाफिक कमाइ गरेका र हात पारेका करोडौं रकम अवैध रुपले अमेरिका पठाउने कर्मचारी हुन् । 

राजस्व र करमा बसेर अकुत कमाएका अर्थका अधिकांश कर्मचारीलाई अख्तियारमा बसी हैरानी दिएर करोडौं कमाएका रामप्रसाद लोकमान अख्तियारबाट निकालिनासाथ माओवादी बनेर संखुवासभाको प्रजिअ भए । त्यहीँ रहँदै सहसचिवमा बढुवा भएपछि उनी तत्कालीन माओवादीले सम्हालेको गृह प्रशासनलाई रिझाएर मोरङको प्रजिअ बनेका हुन् । सो जिल्लामा भारतसित जोडिएको ६३ किलोमिटर खुला सिमाना रहेको छ । यसको फाइदा उठाउँदै उनले ढुंगा, गिट्टी, बालुवा भारततर्फ पठाउने धन्दामा लागेकाहरूसँग लाभ हासिल गरी सहयोग पु¥याउँदै आएका छन् ।

यसैगरी, रंगेलीलगायत नाकाबाट गाडी तथा बाइकका पार्टपुर्जा, कुर्ता सुरुवाललगायत कपडा उनकै मिलेमतोमा वारि भिœयाउने काम भइरहेको छ । अमेरिकी डिभीबारे उनले मन्त्रालयका उच्चाधिकारीहरूलाई पहिले थियो अहिले छाडिसकें भने पनि प्रमाणका रूपमा केही पेश गरेका छैनन् । श्रीमती र सन्तानलाई अमेरिकामै घरबास जोडेर राख्ने र आफू नेपालमा बसी भ्रष्टाचार गरी अवैध रूपले पठाइरहने रामप्रसादजस्ता कर्मचारीलाई प्रोत्साहित गरेर कसरी प्राप्त होला त समृद्धि ? परिवार नै उतै भएपछि उनी पनि अवकाश हुनासाथ अमेरिका जाने र उतैको नागरिकता लिने कुरामा त धेरै बहस गर्नु परेन । परिवारसहित भएका श्रीसम्पत्ति विदेशमै राख्ने र अवसरका लागि नेपाल बसेर अर्ति उपदेश दिने राष्ट्रवादी नेपाली कति होलान् ?

टिप्पणीहरू