​सञ्चारमा हेरफेरको सनसनी

निजी क्षेत्रको सबभन्दा ठूलो सञ्चारगृह कान्तिपुरको व्यवस्थापनमा टाइम्स अफ इण्डिया ग्रुपका मान्छे प्रवेश गर्ने भएपछि अहिलेका सम्पादक सुधीर शर्मा र दी काठमाडौं पोष्टका अखिलेश उपाध्यायले राजीनामा दिएका छन् ।

विगतमा मिडियामा विदेशी लगानीविरुद्ध आन्दोलनको अगुवाइ गरेको कान्तिपुरले नै अहिले विधिवत् रूपमा भारतीय व्यवस्थापनलाई प्रवेश गराएको छ । त्यहाँ टाइम्स अफ इण्डियाको व्यवस्थापकीय नेतृत्वसहित नेपाली पत्रकारभन्दा माथिल्लो तहमा रहने गरी रजनीश नामक व्यक्ति बहाली भइसकेका छन् । 

प्रधानमन्त्री केपी ओली चीन जाँदा भ्रमण दलमा सामेल सम्पादक सुधीर उतै भएको बेला यता यस्तो निर्णय भएको बताइन्छ । यसपछि कान्तिपुरमा को सम्पादक आउला ? त्यो भने प्रतीक्षाको विषय बनेको छ । यसअघि पनि योगेश उपाध्याय, युवराज घिमिरे, नारायण वाग्ले, प्रतीक प्रधान, अमित ढकालहरूले त्यहाँ सम्पादकको जिम्मेवारी निर्वाह गरी व्यवस्थापनसँग कुरा नमिल्दा छाड्नुपरेको थियो । 

त्यस्तै, गोरखापत्र संस्थान, सञ्चालक समितिका अध्यक्ष गोविन्द पोखरेलको राजीनामा मागिएको छ । महाप्रबन्धक वसन्तप्रकाश उपाध्याय सरकारको निर्णयले हटिसकेका छन् । पहिलाजस्तै गोरखापत्रमा फेरि पनि बाहिरबाट प्रधानसम्पादक लैजाने कुरा चलिरहेको छ । कस्तो अचम्म भने, सरकारी स्वामित्वको गोरखापत्रमै केही दिनअघि सरकारविरुद्ध ६ वटा समाचार प्रकाशित भयो । यही घटनाले हो, पार्टीका एकदमै विश्वासिला गोविन्द पोखरेलसमेतको राजीनामा माग्नुपर्ने स्थिति आएको । यसैबीच, ०७४ भदौ १४ पछि देउवा सरकारले गरेका नियुक्तिहरू एकमुष्ट खारेजीसँगै सञ्चारअन्तर्गत १४ नियुक्ति खाली भएको छ ।

टिप्पणीहरू