मुस्ताङको हिमपहिरोमा ठूलो क्षति भएको छैन : प्रजिअ शर्मा

मुस्ताङको हिमपहिरोमा ठूलो क्षति भएको छैन : प्रजिअ शर्मा

मुस्ताङको थासाङ गाउँपालिका २ कोवाङमा हिजो गएको हिमपहिरोको प्रारम्भिक क्षति विवरण बाहिरिएको छ । हिजो मध्यान्ह करिब पौने १२ बजेको समयमा गएको हिम पहिरोबाट ठूलो क्षति नभएको बताइएको छ ।

प्रारम्भिक विवरणका आधारमा चरन क्षेत्रमा रहेका चौंरीगाई बेपत्ता भएको हुनसक्ने मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिनुभयो ।

शर्माका अनुसार चरनका लागि छाडिएका केही चौंरी फेला परेका छन् । पहिरोले चरन क्षेत्रमा छाडेका पशुचौपायमा क्षति भएको भएपनि बस्तिमा भने ठूलो क्षति नभएको शर्माको भनाई छ । बस्तीका केही घरका भित्ता पहिरोका कारण भत्किएका छन् ।

पहिरोले मानवीय क्षति भने गरेको छैन । पहिरो झरेको देखेपछि स्थानीयले भागेर ज्यान जोगाउने क्रममा सात विद्यार्थीसहित ११ जना घाइते भएको र उनीहरुको अवस्था अहिले सामान्य रहेको प्रजिअ शर्माको भनाइ छ ।
अहिले पहिरो प्रभावित क्षेत्रका स्थानीयहरु हराएका पशुचौपायाको खोजीमा लागेका छन् । सम्भवतः भोलिसम्ममा क्षतिको पूर्ण तथ्याङ्क सार्वजनिक गरिने उहाँले बताउनुभयो ।

हिमपहिरो मुस्ताङको सदरमुकाम जोमसोमबाट १९ किलोमिटर बेनीतर्फको एक हिमालबाट हिजो खसेको थियो ।

टिप्पणीहरू