सेनामा सुसाइड

शान्ति स्थापनार्थ कंगो जान ठिक्क परेको पशुपतिप्रसाद गणका एकजना नायकले गत शुक्रबार राति कञ्चटमा गोली हानेर आफ्नो प्राणपखेरु आफैँ उडाएका छन् । फौजभित्र विदेशको मिसनमा छनौट हुनु आर्थिक आर्जनका दृष्टिले पनि आकर्षक मानिन्छ । तर, यस्तो अवसर पाएका सैनिकलेसमेत आफैँलाई किन सिध्याए ? यसबारे छानवीन चलिरहेको छ ।

सेनामा जागिर खाएका मानिसमा यसअघि पनि बेला–बेला मानसिक समस्या देखिने गरेको थियो । जस्तो कि, सन् १९८५ मा सेनाको स्काईभ्यान दुर्घटना हुँदा विभत्स लाश देखेर कतिपय सिपाहीले मर्न भनी चिउँडोमा बन्दूक तेस्र्याए । कतिपयले प्राणपखेरु उडाए ।  

उता, एक सय ५० का लागि भर्ना छनौट आवेदन खुलेकोमा चार हजारले आवेदन दिँदा १९ जनामात्र उत्तीर्ण भएका छन् । सेनाको इतिहासमा सम्भवतः यो पहिलो घटना हुनुपर्छ, यति थोरै परीक्षार्थी उत्तीर्ण भएको । देशको शिक्षा नीति त्यस्तो भएर हो वा लोकसेवाको प्रश्न शैली अनुकूल नभएर हो, आवेदन माग गरिएभन्दा निक्कै कम संख्यामा उत्तीर्ण हुने क्रम केही वर्षयता बढिरहेको छ । सेनामा यस्तो भद्रगोल हुनु, बृत्ति विकासमा ध्यान नदिइनुका केही कारण भने स्मरणीय छन् । शान्ति सेनामा खटिएर विदेश जाने क्रममा रक्षा र अर्थ मन्त्रालयले अघोषित कोटा मागेका हुन्छन् । यदि मागिएको कोटा पूरा गरिएन भने कतिपय संवेदनशील फाइल अड्किन्छन् । 

सेनामा अर्को दुःख छ । प्रहरीमा साह्रै हैन । त्यसैले आजकल सेनामा जागिर खानेहरु पनि प्रहरी सेवाप्रति आकर्षित छन् । किनभने, अब सशस्त्र द्वन्द्वकालमा जस्तो लडाइँमा मरिएला भन्ने पिर भएन । प्रहरीमा भए घरको भात र परिवारसँग बसेर जागिर खान पाइने, सेनामा अनिवार्य व्यारेकमै बस्नुपर्ने ! भिन्नता पनि छ, १२ कक्षा वा प्रमाणपत्र तह उत्तीर्ण भएपछि सेनामा राजपत्रांकित तृतीय श्रेणीको अधिकृतसरह (सेकेण्ड लप्टन) को जागिर पाइन्छ, प्रहरीमा त्यति नै पढ्नेले राजपत्र अनंकित चौथो श्रेणीसरहको (असई) हुन पाउँछ । तर, सेनामा भर्ना हुन कपालमा कालो दलेर, ट्याटु छोपेर जाने, तालिम क्रममा कपाललाई ब्रसकट बनाएर काटिँदा फुलेको कपाल देखिने, गुप्ताङ्गमात्र छोपिने कपडामा कवाज खेलाउँदा ट्याटु पनि फेला पर्ने भएपछि तालिमकै बीचमा धेरैले जागिर गुमाउनुपरेको छ ।

टिप्पणीहरू