उदयपुरमा पनि १० बुँदे पक्षधरको बेहाल

उदयपुरमा पनि १० बुँदे पक्षधरको बेहाल

नेकपा एमालेको १० औँ महाधिवेशनका लागि प्रतिनिधि चयनमा उदयपुरमा ‘तेस्रोधार’ को कन्तबिजोग हुन नपाए पनि बिस्तारै बढारिने क्रम शुरु भएको छ । जिल्लावाट १६ जना महाधिवेशन प्रतिनिधि छनौट हुँदा १० बुँदे पक्षधर ‘१० भाइ’ समूहबाट जम्मा तीन जना चुनिएका छन् ।

दुई निर्वाचन क्षेत्र रहेको उदयपुरमा क्षेत्र नम्बर २ मा निर्विरोध र १ मा मतदानमार्फत प्रतिनिधि टुङ्गो लगाइएको थियो । निर्वाचन भएको क्षेत्र नम्बर १ मा छानिएका आठ जनामध्ये ‘१० भाइ’ समूहका एक जना मात्रै छन् । यसरी चुनिनेमा जिल्ला अध्यक्ष इश्वरमणि राउत हुन् । उनले ७ सय ८६ मत ल्याएर जितेका हुन् ।

अध्यक्ष राउतबाहेक खुला तर्फबाट बेलका नगरपालिकाका प्रमुख दुर्गाकुमार थापा १ हजार ८६, तत्कालीन ओली खेमाका अध्यक्ष तथा हालका सचिव प्रमेश घिमिरे ७ सय २२, प्रदेश सांसद विमल कार्की ७ सय ८५, कुशलबाबु बस्नेत ६ सय ५१ र कालु लामा ६ सय २४ मत पाएर निर्वाचित भएका छन् । त्यस्तै, समावेशीतर्फ सिर्जना दनुवार ८ सय र महेश्वरी राई ७ सय २१ मत प्राप्त गरेर प्रतिनिधि छानिएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) मा जिम्मेवारी पाएका र समाहित भएका पूर्व एमालेहरुलाई पनि निर्वाचनमा भाग लिन आह्वान गरिएको थियो । उनीहरुलाई पार्टी सदस्यता नवीकरण गरिएको जानकारी गराइएको थियो । तर आठ हजारको हाराहारीमा सदस्यता रहेको एमालेको उक्त निर्वाचन क्षेत्रमा १ हजार ८ सय ६९ जनाले मात्र भाग लिएका थिए ।

निर्वाचितमध्ये बेलकाका प्रमुख थापाबाहेक सबै सदरमुकाम गाईघाटभित्र घर तथा बसोबास भएका हुन् । यसले एमालेको शहर केन्द्रीत राजनीतिलाई सतहमा ल्याइदिएको छ ।

‘१० भाइ’ समूह मात्र होइन उदयपुरमा पुराना कम्युनिष्ट नेताहरु पनि प्रतिनिधि छानिनबाट बन्चित भएका छन् । मणिराज पौड्याल, पदमबहादुर राई, चन्द्रनारायण चौधरी, नारदराज थापा, धनपति आचार्य र डिल्लीराम विमली जस्ता पाका र पुराना नेताहरुले इज्जतिलो मत समेत प्राप्त गर्न सकेनन् । उनीहरुले कसैले पनि ५ सय मत कटाएका छैन् । यसले एमालेभित्र पुराना कम्युनिष्टहरुको समेत कन्तबिजोग शुरु भएको संकेत गरेको छ ।

उम्मेदवार बनेका थारु, दनुवार, दलित र व्राह्मण समुदायका नेतृत्वको करिब–करिब पत्ता साफ भएको छ । चर्चित एमाले नेताका रुपमा रहेका वेदप्रसाद पोखरेललगायत धेरैले गुटबन्दीका कारण उम्मेदवारी दिने हिम्मतसमेत गरेनन् । त्यसैगरी, आदिवासी जनजाति बाहुल्य क्षेत्र भए पनि उनीहरुको आशलाग्दो प्रतिनिधित्व समेत हुन सकेको देखिएको छैन । जनजाति बाहुल्य क्षेत्र रहेको सो क्षेत्रमा उनीहरुको उपस्थिति नगण्य मात्रामा देखिएको छ ।

तेस्रोधार भनिने कतिपयले भने ओलीलाई भगवान बनाउनबाट रोक्न सक्ने ल्याकत नभएकाले निर्वाचनमा भाग नलिएको बताएका छन् । निर्वाचन क्षेत्र नम्बर २ बाट भने कटारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र श्रेष्ठ र उपप्रमुख भीमकुमारी राउत दुबै जना सर्वसम्मत प्रतिनिधि छानिएका छन् । छ जना प्रतिनिधिमध्ये अमर रायमाझी र ताप्ली गाउँपालिकाका अध्यक्ष उद्धवसिंह थापा भने १० बुँदेका तर्फबाट सर्वसम्मतमा पर्न सफल भएका छन् । बाँकी दुई शैलेश राई र कला घले भने ओली खेमाका हुन् ।

उदयपुरमा प्रतिनिधि छानिएका १६ मध्ये दुई दलित कोटाबाट जिल्ला समन्वय प्रमुख खड्ग परियार र गिरी परियारले सर्वसम्मतरुपमा बाजि मारेको देखिन्छ । उदयपुरको २ नम्बर निर्वाचन क्षेत्रमा राम्रो मत संख्या भएको दनुवार राई र तामाङहरुले सर्वसम्मतको नाममा नेतृत्व विकास गर्ने अवसरबाट वञ्चित तुल्याएको गुनासो गरेका छन् ।

टिप्पणीहरू