२ नम्बर प्रदेशमा गाँजा मास्न थालियो

२ नम्बर प्रदेशमा गाँजा मास्न थालियो

सशस्त्र प्रहरी बलले २ नम्बर प्रदेशमा गाँजा फडानी गर्न थालेको छ । सशस्त्रले महोत्तरी र सर्लाहीमा गाँजा मास्ने अभियान नै थालेको हो  । हिजाे महोत्तरीको एकडाँरा गाउँपालिका ५, गोनाहा बथनाहा र अजम्बरपट्टीमा गाँजाको बोट मासिएको छ ।

त्यसैगरी रानिरतुवाका विभिन्न स्थानमा झण्डै ८ बिगाह क्षेत्रफलमा लगाइएको व्यावसायिक गाँजाखेतीको समेत फडानी गरिएको जनाइएको छ ।

गाँजा मास्ने अभियानमा प्रमुख जिल्ला अधिकारी, छिन्नमस्ता बाहिनीका बाहिनीपति, ९ नबर गणका सशस्त्र प्रहरी उपरीक्षक, प्रहरी उपरीक्षक, राष्ट्रिय अनुसन्धान आयोगका उपअनुसन्धान निर्देशकसहितको ७५ जनाको संयुक्त टोली परिचालन भएको हाे । टोलीले गाँजा फडानी तथा बरामद कार्य शुरु गरी नष्ट गरेको र आगामी दिनमा पनि यस्ता कार्यलाई निरन्तरता दिइने सो अवसरमा जानकारी गराइएको छ ।

त्यसैगरी सर्लाहीमा पनि त्यस्तै अभियान थालिएको छ । लालबन्दी नगरपालिका १४ कामिटारमा अन्दाजी ३ बिगाहा क्षेत्रमा लगाइएको गाँजा खेतीलाई आज नष्ट गरिएको हो । सशस्त्र प्रहरीको १० नम्बर गणबाट सशस्त्र प्रहरी नायव उपरीक्षक दीपेन्द्र थापा सहित ४० जना र जिल्ला प्रहरी कार्यालय, सर्लाहीबाट प्रहरी निरीक्षक सुरेश ठाकुरको २४ जना गरि ६४ जनाको संयुक्त टोली उक्त कार्यमा खटिएको हो ।

सर्लाहीमा पनि गाँजा फडानी तथा बरामद कार्य शुरु गरी नष्ट गरेको र आगामी दिनमा समेत उक्त कार्यलाई निरन्तरता दिइने बताइएको छ ।

टिप्पणीहरू