ललितपुरमा ‘बा’ भन्नेहरुको एकछत्र, ‘१० भाइ’ समूहको बिजोग

ललितपुरमा ‘बा’ भन्नेहरुको एकछत्र, ‘१० भाइ’ समूहको बिजोग

नेकपा एमालेको १० औँ महाधिवेशनअन्तर्गत प्रतिनिधि चयनमा ललितपुरबाट ‘तेस्रोधार’ भनिने तत्कालीन वरिष्ठ नेता समूह नराम्रोसँग बढारिएको छ । तीन निर्वाचन क्षेत्र रहेको ललितपुरबाट १८ जना महाधिवेशन प्रतिनिधि छनोट हुँदा तेस्रोधारबाट जम्मा दुई जना छानिएका छन् ।

तीन वटा निर्वाचन क्षेत्र रहेको ललितपुरमा दुई वटामा निर्विरोध र एउटामा निर्वाचनबाट प्रतिनिधि छानिएका हुन् । क्षेत्र नम्बर १ र २ मा निर्विरोध हुँदा स्थायी समिति सदस्य रघुजी पन्तको क्षेत्र ललितपुर–३ मा भने निर्वाचनमार्फत प्रतिनिधि छनोट गरिएको हो ।

निर्विरोध भएको क्षेत्र नम्बर १ बाट कूल ६ जना प्रतिनिधि चयन हुँदा तेस्रोधारबाट जम्मा एक जना मात्र परेका छन् । त्यहाँ संघीय सासंदसमेत रहेका नवराज सिलवाल, प्रदेश सांसदद्वय मधुसुदन पौडेल र चेतनाथ सञ्जेल, रामचन्द्र दाहाल, पुरुषोतम आचार्य खुलातर्फबाट प्रतिनिधि छानिए । महिलातर्फ तारा सञ्जेल र अन्नपूर्ण बस्नेत सर्वसम्मत चयन भएका छन् । सञ्जेल १० बुँदे सहमति गरेर एमालेमै बसेका ‘१० भाइ’ समूहकी हुन् ।

त्यस्तै, क्षेत्र नम्बर २ बाट पाँच जना प्रतिनिधि छानिएका छन् । जसमध्ये चिरञ्जीवी आचार्य ‘१० भाइ’ समूहका हुन् । त्यहाँ माओवादी छोडेर एमाले प्रवेश गरेका रामबहादुर थापा बादल समूहकी मञ्जरी शाक्य महिला कोटाबाट प्रतिनिधि छानिएकी छिन् । त्यसबाहेक जिल्ला अध्यक्ष हरिकृष्ण व्यञ्जनकार, रामेश्वर श्रेष्ठ, राम राउत खुलातर्फबाट प्रतिनिधि चयन भएका हुन् ।

यता, सर्वसम्मत हुन नसकेपछि क्षेत्र नम्बर ३ मा भने निर्वाचनमार्फत् प्रतिनिधि छानिएका छन् । त्यहाँ खुलातर्फबाट चार र महिलातर्फ एक गरि पाँच जना महाधिवेशन प्रतिनिधि छानिए । निर्वाचनमा खुलातर्फ राजेन्द्र श्रेष्ठ, बाबुकाजी प्रधान, रघुनाथ महर्जन र अमृत खड्का निर्वाचित भएका छन् भने महिलाबाट कमला थापा छानिएकी छिन् । उनीहरुले ‘१० भाइ’ समूहका उम्मेदवारलाई ठूलो मतान्तरले पराजित गरेका हुन् । रघुजी पन्तको गृहक्षेत्र समेत रहेको क्षेत्र नम्बर ३ मा उनीनिकट जीवन खड्का र देवकी श्रेष्ठ प्रतिष्पर्धामा भए पनि उनीहरु दुबै पराजित भएका छन् ।

महिलाबाट प्रतिनिधि छानिएकी थापाले ४ सय ८८ मत ल्याउँदा श्रेष्ठले जम्मा १ सय ३५ मत पाइन् । त्यस्तै, खड्काले २ सय ४१ मत पाउँदा निर्वाचित प्रतिनिधिले ५ सय ३१ सम्म मत ल्याएका छन् । खड्का र श्रेष्ठ दुवै बागमती प्रदेशसभा सदस्यसमेत हुन् । माधव नेपाल प्रधानमन्त्री हुँदा उहाँका राजनीतिक सल्लाहकारसमेत रहनुभएका पन्तनिकटहरुको यो पराजयले ‘१० भाइ’ समूहलाई ठूलो धक्का दिएको विश्लेषण गरिएको छ ।

क्षेत्र नम्बर १ मा नवौँ महाधिवेशनमै प्रतिनिधि भइसकेका कृष्णमान लामा, तारा सञ्जेल र शिवराज सञ्जेल ‘१० भाइ’ समूहबाट प्रतिनिधिको स्वाभाविक दाबेदार थिए । तर, कुनै हालतमा प्रतिनिधि बन्न नदिने रणनीतिका साथ ओलीपक्ष लागेपछि अन्ततः उनीहरु ब्याक भएका हुन् । अन्तिममा तारा सञ्जेललाई प्रतिनिधि बनाएर आफूहरुको टिम फुटाउन खोजिएको उक्त समूहको आरोप छ ।

तत्कालीन माधव नेपाल समूहमा लागेवापत सजाय पाउनेमा प्रेम महर्जन पनि हुन् । अघिल्लो महाधिवेशनमै प्रतिनिधि भइसकेका महर्जनलाई कुनै हालतमा प्रतिनिधि बन्न नदिने परिस्थिति बनाएपछि अन्ततः उनी आफैँ दावेदारीबाट पछि हटे । महर्जनले छोडेपछि चिरञ्जीवीलाई समेटेर निर्विरोध भएको घोषणा गरियो । ‘जहाँ हामी अलि बलियो छौँ, त्यहाँ फुटाउने र जहाँ कमजोर छौँ त्यहाँ सिध्याउने रणनीति देखियो’, तेस्रोधारका एक नेताले भने ।

ललितपुरमा मात्र होइन, ‘१० भाइ’ समूह देशैभर निरीह देखिएको छ । नवौँ महाधिवेशनपछि अध्यक्ष केपी ओलीविरुद्ध उभिएका तर, पछिल्लो समय १० बुँदे सहमति गरेर एमालेमै बसेका उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाललगायतका नेताहरुको समूह प्रतिनिधि चयनमा लगभग शुन्य भएको छ । यसै पनि पार्टीमा हस्तक्षेपकारी उपस्थिति जनाउन नसकेको यो समूह सर्वसम्मतिका नाममा केन्द्रीयता हावी हुँदा थप कमजोर बनेको हो ।

हिजोदेखि प्रतिनिधि चयनको प्रक्रिया अगाडि बढाएको एमालेले अधिकांश ठाउँमा सर्वसम्मतिमा प्रतिनिधि टुंगो लगाएको छ । एकाधबाहेक देशैभर सहमतिमै प्रतिनिधि छनोट गरिएको एमाले नेताहरुले बताएका छन् । यता, ‘१० भाइ’ समूहका नेताहरुले भने महाधिवेशन प्रतिनिधि चयनमा पार्टीसत्ताको चरम दुरुपयोग भएको आरोप लगाएका छन् । अध्यक्ष ओलीले सर्वसम्मतिका नाममा पार्टीमा आन्तरिक लोकतन्त्र मास्न खोजेको उनीहरुको आरोप छ ।

७ लाख संगठित सदस्य रहेको एमालेले महाधिवेशनका लागि १ हजार ९ सय ९९ प्रतिनिधि छनौट गर्दैछ । देशैभरको अवस्था र प्रतिनिधि छनोट भइसकेकाहरुको चित्र हेर्दा ९० प्रतिशत भन्दाबढी ‘आई लाभ यु ओली बा’ भन्नेहरु नै प्रतिनिधि बनेर आउने निश्चित देखिएको छ ।

टिप्पणीहरू