कोरिया जान चाहनेहरुको परीक्षा पुसमा

कोरिया जान चाहनेहरुको परीक्षा पुसमा

रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत दक्षिण कोरियामा रोजगारीमा जानेहरुको भाषा परीक्षा आगामी पुसमा हुने भएको छ । इपिएस शाखा ग्वार्कोले दिएको जानकारीअनुसार आगामी पुस १ गतेदेखि ७ गतेसम्म सन् २०२१ को भाषा परीक्षा हुन लागेको हो ।

शाखाले तोकेअनुसार परीक्षाको फारम वितरण तथा दर्ता मंसिर ६ गतेदेखि ८ गतेसम्म हुने छ । नतिजा सन् २०२२ को जनवरीमा प्रकाशित हुने छ ।

गत वर्ष कोभिडका कारण हुन नसकेको भाषा परीक्षा यो वर्ष कम्प्युटरमा आधारित (पेपरलेस) हुने छ । यसअघि सन् २०१९ को भाषा परीक्षामा ८४ हजार २ सय १५ जना युवाले सहभागिता जनाएका थिए । जसमध्ये १२ हजार ९ जना उत्तीर्ण भएका थिए ।

उत्तीर्णमध्येबाट १० हजार ५० जनाले दक्षिण कोरिया प्रवेश पाउने बताइएको थियो । तर कोरोना महामारीका कारण उनीहरुले हालसम्म प्रवेश पाउन सकेका छैनन् । दक्षिण कोरियाले सन् २००८ देखि कोटा छुट्याएर नेपाली कामदार लैजाँदै आएको छ ।

टिप्पणीहरू