चुच्चे नक्साको क्षेत्रमा जनगणना अन्योलमा, प्रवक्ता भन्छन् : पत्रकारले धेरै उचाले

चुच्चे नक्साको क्षेत्रमा जनगणना अन्योलमा, प्रवक्ता भन्छन् : पत्रकारले धेरै उचाले

१२ औं राष्ट्रिय जनगणना कात्तिक २५ गतेबाट देशव्यापीरुपमा शुरु भएको छ । जनगणनालाई भनेर मुलुकभर ४० हजार गणक र ८ हजार १६ जना सुपरिवेक्षक खटाइएको छ । गणनाको तेस्रो दिनसम्म आइपुग्दा देशभर अनुमानित १४ देखि १५ प्रतिशतको हारहारीमा तथ्याङ्क संकलनको काम सम्पन्न भएको केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ ।

विभागका अनुसार सुरुवाती चरण भएकाले सुस्त गतिमा तथ्याङ्क संकलन भइरहेको र छिट्टै दैनिक गणनामा वृद्धि हुने छ । विभागले यस पटक नेपालको चुच्चे नक्सामा समेटिएको कालापानी, लिपुलेक र लिम्पियाधुराका भू–भागमा पनि जनगणना गर्ने बताएको छ । तर, भारतीय सेनाले घेरेर बसेको नेपाली भू–भागमा तथ्याङ्क संकलन गर्न केन्द्रबाट कुनै जानकारी नपाएको जनगणना कार्यालय दार्चुलाका प्रमुख पदमराज पाण्डेले बताउनुभएको छ ।

जनआस्थासँग कुराकानी गर्दै प्रमुख पाण्डेले भारतीय भूमिहुँदै जनगणना गर्न जानुपर्ने भएकाले र भारतले सेना तैनाथ गरेकाले त्यहाँसम्म गणक नजाने बताउनुभएको हो । उहाँका अनुसार नेपालको प्रशासनिक उपस्थिति भएको ठाउँमा मात्र जनगणना हुने छ ।

उहाँका अनुसार दार्चुलाको व्यास गाउँपालिकाको वडा नम्बर १ को छाङरु र तिंकरमा मात्र गणकको उपस्थितिमा तथ्याङ्क संकलन भइरहेको छ । सोही गाउँपालिकाकै थप पाँच वटा गाउँमा भने जनगणनाको निम्ति भारतीय भूमि भएर जानुपर्ने भएकाले भारतीय पक्षको अनुमति चाहिने भएको छ ।

सरकारले चुच्चे नक्सामा समेटिएको नेपाली भू–भागमा जनगणना गर्ने भने तापनि भारतीय सेनाले कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रका गाउँको घरधुरी घेरेर बसेकाले सो ठाउँको सूचीकरण समेत गरिएको छैन । पाण्डेले जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायको सहयोग भएमा ओम पर्वत, लिपुलेक, कालापानी, गुञ्जी र कुटी क्षेत्रमा तथ्याङ्क संकलन गरिने बताउनुभएको छ । तर, उक्त क्षेत्रको जनगणनाको विषयमा केन्द्रबाट कुनै जानकारी आफूले नपाएको उहाँको भनाइ छ । स्याटलाईट मार्फत् जनगणना गरिने भनिए पनि त्यस विषयमा प्रविधि र तालिम केही पनि दिइएको छैन ।

हाल दार्चुला क्षेत्रमा जनगणना गर्न १ सय ८३ गणक खटिएका छन् । सञ्चारको राम्रो पहुँच नहुँदा हिजोसम्म कति तथ्याङ्क संकलन भयो भन्नेबारे यकिन हुन सकेको छैन । चुच्चे नक्सामा पर्ने भू–भागको नेपालले वि.सं. २०१८ सम्म जनगणना गरेको तर पछिल्लो समय उक्त स्थानमा भारतले जनगणना गर्दै आएको पाण्डेको भनाइ छ । भारतीय सेनाले उक्त क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेर दुबै मुलुकका नागरिकलाई उक्त स्थानमा प्रवेश गर्न भारतीय पक्षकै पास अनिवार्य गरेको छ ।

‘यो विषयलाई पत्रकारले उचालेका हुन् : विभागका प्रवक्ता’

चुच्चे नक्साभित्रको क्षेत्रमा पनि जनगणना गरिने बताउँदै आएको केन्द्रीय तथ्याङ्क विभागले उक्त क्षेत्रको जनगणना वैकल्पिक माध्यमबाट पछि गरिने बताउँदै आएको छ । कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रको जनगणना कसले र कसरी गर्दै छ भन्ने जनआस्थाको जिज्ञासाको जवाफ दिँदै विभागका प्रवक्ता तीर्थराज चौलागाईंले जनगणनाको सम्पूर्ण कार्य सकेपछि वैकल्पिक माध्यमबाट उक्त क्षेत्रको तथ्याङ्क संकलन गरिने जानकारी दिनुभएको छ ।

उहाँका अनुसार भारत अतिक्रमित उक्त क्षेत्रमा गणक खटाएर तथ्याङ्क संकलन गर्न भारतीय पक्षको अनुमति चाहिने भएकाले सो ठाउँको जनगणना स्याटलाइट प्रविधी मार्फत गरिने छ । नेपालले सार्वजनिक गरेको नयाँ नक्साका आधारमा उक्त क्षेत्रमा रहेका जनताको तथ्याङ्क संकलन स्याटेलाइट मार्फत हुने उहाँले बताउनुभयो ।

यसो त, सोही क्षेत्रकै सूचीकरणको काम सम्पन्न भएका केही स्थानमा भने जनगणना भइरहेको छ । जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायले चुच्चे नक्साभित्रको भू–भागमा जाने अनुमति दिएमो त्यहाँ गणक परिचालन गरेरै तथ्याङ्क संकलन गरिने चौलागाईंले बताउनुभयो ।

उहाँले तथ्याङ्क विभागले चुच्चे नक्साभित्रको नेपाली भू–भागमा जनगणना गर्नेभन्दा भन्दै पनि उक्त विषयलाई पत्रकारले उचालेको आरोप लगाउनु भएको छ । उहाँको भनाइ छ, ‘नेपाल सरकारको उपस्थिति भएका ठाउँमा राम्रोसँग गणना भएको छ । हेलम्बुलगायतका अप्ठ्यारा स्थानमा हामीले खुट्टा खियाएको कसैले देखेन ।’

यस्तै, नेपालको पछिल्लो नक्सामा समावेश भएको उक्त स्थानबारे सबै नेपालीलाई चासो रहेको भन्ने प्रश्नमा उहाँले भन्नुभयो, ‘कसैलाई केही चासो छैन, पत्रकारले उचालेर मात्रै हो ।’

टिप्पणीहरू