​गुण गर्ने बेला त कहाँ छ र गुरुजी !

यो संवाद हेर्नुस् त – सोध्ने प्रहरी, जवाफ दिने एकजना सुन्दरी !
० के तिमीले यिनीहरुमाथि ठगी गरेकी हौ ? 
– हो सर, मैले ठगेकै हो !
० किन ठग्यौ ?
– मेरो कामै ठग्ने हो ।
० अब यिनीहरुलाई के गर्ने त ?
– यिनीहरुले मलाई पैसा दिएका हुन् । मैले लिएकी हुँ । अहिले पैसा सकियो । अब दिन्नँ । मलाई पैसा दिएको प्रमाण केही पनि छैन । तपाईंले मलाई धेरैमा २५ दिन थुन्ने हो ।  निस्किएर म फेरि आफ्नो काम गरिहाल्छु ।
० तिमीले यी गरिवलाई नै किन ठग्यौ त ?
– भनिहालेँ त सर, मेरो कामै ठग्ने हो । यिनीहरुले किन मलाई पैसा दिए ? मलाई पैसा नदिएको भए यिनीहरु ठगिने थिएनन् !

मेर ३० कटेको छैन । राम्री, हेरिरहुँजस्ती ! जे सोध्यो, फ्याट्टै भनिहाल्ने, नढाँट्ने पनि ! प्रहरीले समातेर हत्कडी बाँधेको छ, तर कुनै चिन्ता छैन । सोधेको कुराको जवाफ सुनेर अपराध महाशाखाका एसपी नरेन्द्र उपे्रती एकछिन ट्वाल्ल पर्छन् । हो पनि, बिनाप्रमाणका कसुर अदालतले ठहर गर्दैन । प्रहरीसँग अनुसन्धान गर्ने म्याद जति हो, बिनाप्रमाणका कसुरदार त्यति दिन मात्र हिरासतमा बस्छन्, त्यसपछि छुट्छन् । 
यसपछि क्यानाडा जानका लागि पाँच लाख रुपैयाँ बुझाएका सिराहाका जगदीश यादवले सोधे, ‘दिदी, दु–चार हजार त खर्च भयो होला, पाँच–पाँच लाख खोई ?’ उनले मुन्टो मुन्तिर झार्दै भनिन्, ‘यी यहाँ छ, देखाइदिऊँ ? साले, तँलाई केटी चाहियो, केटी मिलाइदिएँ, रक्सी भनिस् रक्सी किनिदिएँ । अहिले यहाँ थुनाउन ल्याएर हल्ला गर्छस्…!’ यति भनिसकेपछि त्यहाँबाट भागेका पीडित यादव फेरि प्रहरीको सम्पर्कमा आएनन् ।
यी युवतीको नाम हो, कृष्टिना गुरुङ, घर पोखरा । चार वर्षकी छोरी लण्डनमा छिन् । घोषित पतिसँग छोरी जन्मिएको दुई महिनामा अलग्गिइन् । अहिले आठ–नौ जना साथी छन् । आफन्त त छन्, तर आवत–जावत र भेटघाट छैन । भर्खरै ठगीको अभियोगमा महिला बन्दीगृह सुन्धारा (सेन्टर जेल) मा पुगेकी छन् ।

यसचोटि उनी सिराहाका जगदिश यादवसहित त्यतैतिरका तीन विद्यार्थी युवकलाई ठगेर प्रहरीकहाँ पुगेकी थिइन् । उनको आश्वासन थियो, एमबिबिएस पढ्नका लागि अष्ट्रेलिया र क्यानाडा पठाइदिने । जम्मा लाग्ने खर्च २५ लाख । पेश्की दिनुपर्ने पाँच लाख । तीजना केटासँग पाँच लाखका दरले उठाएको पेश्कीबापतको १५ लाख रुपैयाँले अहिले जेल पु¥याएको छ । प्रहरी नै चकित हुने यी ठगको शैली यस्तो छ– तीनजना केटासँग कोटेश्वरमा भेटेर पैसा लिइन् । त्यसपछि एकजनालाई सुन्धारा, अर्कालाई बालाजु र तेस्रो केटालाई कोटेश्वरकै एक–एक वटा होटलमा कोठा लिएर राखिन् । उनीहरुको मोबाइल चलाउन नमिल्ने भन्दै खोसिन् र एक महिनासम्म त्यहीँ बस्ने, खाएको पैसा मैले तिर्ने, कसैलाई फोन नगर्ने र एक महिनामा भिसा लागेपछि विदेश जाने तयारीमा लाग्ने भन्दै उनीहरुका सक्कली डकुमेन्ट आफूसँग राखिन् । सम्पर्क हुने माध्यम होटलको ल्याण्डलाइन नम्बर थियो । केटाहरुलाई जे चाहिन्थ्यो, सबथोक कृष्टिनाले नै व्यवस्था गरिदिने । रक्सी, युवती– यही न हो आजकलका उरण्ठेउला केटाहरुले खोज्ने ! कृष्टिनालाई पैसा दिएको र होटलमा बसेको कुरा केटाहरुले घरमा भनेका थिएनन् । तर, एमबिबिएस पढ्न घरबाट पैसा लिएर हिँडेको छोरो १५/१६ दिनदेखि सम्पर्कमा नआएपछि घरका मान्छे आत्तिने नै भए । छोराको खोजीका क्रममा अभिभावक अपराध महाशाखा पुगेका थिए, दुई महिनाअघि । उनीहरुको मोबाइल नम्बरसहित उजुरी दर्ता गरेपछि प्रहरीले लोकसन ट्रेस ग¥यो । जगदिश भेटिए कोटेश्वरमा । प्रहरी पुग्यो । जगदिशले उल्टै प्रहरीलाई हप्काए, ‘हामीलाई किन तपाईंले खोज्ने ? दिदीले विदेश पठाउँछ, एक महिना लाग्छ भनेपछि हामी आफ्नो तयारी गरिरहेछौँ ।’ अर्थात्, कृष्टिनाले एक महिनाभित्र कि अष्ट्रेलिया, कि क्यानाडा उडाइदिने कुरामा उनीहरु ढुक्क रहेछन् । जगदिशले सबै कुरा प्रहरीलाई सुनाए । यसपछि प्रहरीले कृष्टिनालाई खोज्यो । त्यसबेला कृष्टिनाले अझै तीन लाख रुपैयाँ मागिरहेकी थिइन् । जगदिशले फोन गरे । उनी आफैँ गइनन्, कोही अरु केटा पठाइन् । केटालाई जगदिशले ‘आफूसँग भएको…’ भन्दै ५० हजार बुझाए । त्यो पैसा लिएर हिँडेका ती केटाको पिछा गर्दै प्रहरी पनि हिँड्यो र क्रिष्टिना पक्राउ परिन्, तीनकुनेबाट । यसपछि मात्र कृष्टिनाको विश्वासमा परेर होटलमा मस्ती गरिरहेका केटाहरु झस्किए, आफूहरु ठगिएको भनेर । 

कृष्टिना पढेलेखेकी, अंग्रेजी पनि बोल्ने, देखिँदा स्मार्ट युवती हुन् । २०६६ सालमा एउटा अपहरण मुद्दामा पक्राउ परेकी थिइन् र पुर्पक्षका लागि महिला बन्दीगृहमा राखिएकी थिइन् । त्यसबेला पेटमा सात महिनाको बच्चा थियो । जेलभित्रै बच्चा जन्माइन् । तर, उनीसँग न आफ्नो लागि पौष्टिकतत्व खाने पैसा थियो, न बच्चा स्याहार्ने खर्च नै । आफन्तलाई भनिन्, कसैले वास्ता गरेनन् । भित्रै थिइन्, ठगी मुद्दामा परेकी माया तामाङ । उनले कृष्टिनालाई सहयोगमात्रै गरिनन्, आफ्नो पेशाका बारेमा सिकाइन् पनि । सात महिनापछि पाँच महिनाकी छोरी च्यापेर जेलबाट निस्किइन् । धरौटी रकम पनि मायाले नै हालिदिइन् । बाहिर आएर पैसा तिर्नका लागि मायाले नै सिकाएको काम थालिन्, ठगीको । बीचमा कहिले गौशाला, कहिले महाराजगञ्जका प्रहरीले समातिरह्यो । उनी कतिसम्मको माहिर भने, प्रमाण सब नष्ट गरेर मान्छेलाई लठ्याउने ! गौशालाको प्रहरी हैरान भएर उजुरी परे पनि उनलाई पक्रिएर आफूले दुःख नपाउने निचोडमा पुगिसकेको थियो । किनभने, दुःख गरेर समात्यो, थुन्यो, अदालतमा लग्यो, प्रमाणको अभावमा छुटिहाल्ने । अहिले उनका विरुद्ध १८ लाखको बिगो माग गरिएको छ । यसअघिका विभिन्न ठगीमा ३ वर्षको कैद भुक्तान गर्न बाँकी र २० लाख रुपैयाँ जरिवाना तिर्न बाँकी छ । 

 उस्तै नागराज

कृष्टिनाजस्तै, तर फरक काम गर्ने नागराजले पनि त्यस्तै भनेका छन् । आइपिएल क्रिकेटमा सट्टेबाजीको नाममा पैसा लिएर ठगी गरेको आरोपमा पक्राउ परेका नथमल अग्रवाल (नागराज) ले पनि प्रहरीलाई त्यस्तै चुनौति दिएका छन् । अदालतमा पेश गर्नुअघि उनले प्रहरीलाई भने, ‘मलाई जेल पठाउनुहुन्छ, म जान्छु । त्यहाँ गएर नयाँ–नयाँ अपराध सिकेर आउँछु ।’ उनले आर्थिक कारोबार गर्न थालेको काठमाडौंका विभिन्न क्यासिनोमा लगानी गरेर हो । पहिला काठमाडौंका राम्रै क्यासिनोमा लगानीकर्ता थिए । क्यासिनो खेल्न जानेलाई घण्टे व्याजमा पैसा दिन्थे र गुण्डा परिचालन गरेर उठाउँथे । तर, त्यसमा झण्झट भएपछि आएपिएलका नाममा सट्टेबाजीको काम शुरु गरेका हुन् । 

जमाना अचम्मको

अब मान्छेलाई गुन लाउने जमानै रहेन । कसैमाथि गुन गर्दा रातोपुलमा चिया पसल चलाउने धनकुटाकी विपना लिम्बू यतिबेला प्रहरी हिरासतमा छिन् । 

गत सोमबार साँझ दोलखा घर बताउने सरिता खड्का विपनाको चिया पसल पुगिन् । चिया पिइन्, तर लामो समय त्यहाँबाट हिँडिनन् । साँझ आठ बजे पसल बन्द गर्ने बेलामा भनिन्, ‘बहिनी, अब पसल बन्द गर्ने बेला भयो । जानुस् है ।’ तर, सरिता गइनन् । ‘आजै चरिकोटबाट आएको । आफन्तको फोन नम्बर पनि हरायो । यतिबेला कहाँ जानु ? यतै बस्छु । एकरातलाई बास दिनुस् ।’ विपनाले ‘ठीकै छ, साँझको बेलामा भनिहाल्यौ, आजलाई मैँकहाँ बस, तर भोलि विहानै आफन्त खोजेर जाऊ’ भनिन् । भोलिपल्ट विहानै सरिता त्यहाँबाट हिँडिन् पनि । तर, पैसा राखेको व्याग, मोबाइल, घडीलगायतका सामान पनि त्यही बेला हरायो । विपनाले प्रहरीमा उजुर गरिन् । प्रहरीले भोलिपल्ट उनलाई पक्रियो । पैसाबाहेक लगेका सबै सामान फिर्ता गरिन् र चोरीको कसुरमा मुद्दा पनि चल्यो । तर, उनी पक्राउ परेको भोलिपल्ट प्रहरीले विपनालाई बोलाएर भन्यो, ‘तपाईंले सरितालाई अरु पुरुषसँग यौनकार्य गराउनका लागि दुव्र्यवहार गर्नुभयो भनेर बयानमा भनेकी छन् । त्यसैले तपाईंलाई पनि अदालतमा पेश गर्नुपर्ने भयो ।’ रातमा अपरिचित युवतीलाई बास दिनु, भोलिपल्ट आफ्नै सामान हराउनु र पर्सिपल्ट आफैँ अदालतमा गएर चार दिन प्रहरी हिरासतमा बस्ने म्याद थपिनु ! गुन गर्ने जमाना रहेछ त ?

टिप्पणीहरू