एमाले महाधिवेशन प्रतिनिधि चयन : ओलीकै क्षेत्रमा भएन सर्वसम्मत

एमाले महाधिवेशन प्रतिनिधि चयन : ओलीकै क्षेत्रमा भएन सर्वसम्मत

देशैभर निर्विरोध महाधिवेशन प्रतिनिधि छनौट गरेको नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला झापामा भने निर्वाचनमार्फत् प्रतिनिधि टुंगो लगाएको छ । सहमतिमै प्रतिनिधि छनोटको प्रयास असफल हुँदा झापाका दुई वटा निर्वाचन क्षेत्रमा निर्वाचनबाट प्रतिनिधि छानिएको हो ।

पाँच वटा निर्वाचन क्षेत्र रहेको झापाका क्षेत्र नम्बर ३ र ४ मा निर्वाचन भएको हो । अन्य क्षेत्रमा भने सहमतिमै प्रतिनिधि छानिएका छन् । क्षेत्र नम्बर ३ मा नौ जना प्रतिनिधि चुनिएका छन् । जसमध्ये खुलातर्फ बसन्त बानियाँ, लक्ष्मण पाठक, जीवन श्रेष्ठ, डम्बरबहादुर गिरी र तिलबहादुर राई छन् । यस्तै, बराबर मत ल्याएका हरि तिम्सिना र मोहनचन्द्र रेग्मी दुवै जना प्रतिनिधि छानिए । महिलातर्फ शुभलक्ष्मी राई र चन्द्रा श्रेष्ठ निर्वाचित भए ।

झापा– ४ बाट पनि ९ जना नै प्रतिनिधि छानिएका छन् । खुलातर्फ खेमनाथ मिश्र, चन्द्रकुमार सेर्मा, धनबहादुर थेवे, भैरवकुमार श्रेष्ठ, राजेन्द्रकुमार पोखरेल, राधाकृष्ण खनाल निर्वाचित हुँदा महिलातर्फ अमृता राई, इन्दिरा बस्नेत (भरत) र चम्पादेवी खनाल महाधिवेशन प्रतिनिधि बनेका छन् ।

अन्यत्रजस्तै झापामा पनि तत्कालीन माधव नेपाल समूह छाडेर एमालेमै बसेका ‘१० भाइ’ समूहको उपस्थिति शुन्य देखिएको छ । निर्वाचन भएका क्षेत्र नम्बर ३ र ४ मा व्यक्तिगत प्रतिस्पर्धा भएको र उनीहरु सबै अध्यक्ष ओलीलाई ‘बा’ भन्नेहरु नै रहेको बुझिएको छ ।

मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुने एमालेको १०औं महाधिवेशनका लागि शनिबारदेखि प्रतिनिधि छनोट भइरहेको छ । ७ लाख संगठित सदस्य रहेको एमालेले महाधिवेशनका लागि १ हजार ९ सय ९९ प्रतिनिधि छनौट गर्दैछ । देशैभरको अवस्था र प्रतिनिधि छनोट भइसकेका क्षेत्रको अवस्था हेर्दा ९० प्रतिशत भन्दाबढी ‘आई लभ यु ओली बा’ भन्नेहरु नै प्रतिनिधि बनेर आउने देखिएको छ ।

टिप्पणीहरू