‘महाधिवेशन प्रतिनिधि चयनमा सत्ताको घिनलाग्दो दुरुपयोग’

‘महाधिवेशन प्रतिनिधि चयनमा सत्ताको घिनलाग्दो दुरुपयोग’

महाधिवेशन प्रतिनिधि चयन प्रक्रियाप्रति नेकपा एमालेमा असन्तुष्टि चर्किएको छ । एमालेले देशभर सर्वसम्मतिमा प्रतिनिधि चयन भएको दाबी गरिरहँदा ‘तेस्रोधार’ भनिने तत्कालीन माधव नेपाल समूहका नेताहरुको असन्तुष्टि बाहिरिएको हो ।

केन्द्रीय सदस्य झपट रावलले प्रतिनिधि छनोटमा पार्टी सत्ताको चरम दुरुपयोग गरिएको आरोप लगाएका छन् । सर्वसम्मतिका नाममा चुन्ने र चुनिने कार्यकर्ताको सार्वभौम अधिकार खोसिएको उनको भनाइ छ ।

‘नेकपा एमाले कैलालीमा अधिवेशन र महाधिवेशन प्रतिनिधि छनौटमा पार्टी सत्ताको घिनलाग्दो दुरुपयोग । कार्यकर्ताको चुन्ने र चुनिने सार्वभौम अधिकारको चीरहरण । जबजको उपहास’, उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

१० बुँदे सहमति कार्यान्वयन नभएको भन्दै असन्तुष्ट नेता रावल उपाध्यक्ष भीम रावलनिकट नेता हुन् । सुदूरपश्चिममा पूर्वमाओवादी नेता लेखराज भट्ट हावी छन् । जसका कारण वडा अधिवेशनदेखि महाधिवेशन प्रतिनिधि छनौटसम्म भीम रावल समूह निरीह देखिएको छ ।

नवौँ महाधिवेशनमा तल्लो तहबाटै निर्वाचनमार्फत प्रतिनिधि चयनको मापदण्ड बनाएको एमालेले यसपटक प्रतिस्पर्धालाई निषेध गर्ने गरि सर्वसम्मत प्रतिनिधि चयन गरिरहेको छ । प्रतिनिधि छनौटको अघिल्लो दिन अस्ति अध्यक्ष केपी शर्मा ओलीले समझदारीका साथ सर्वसम्मतिमा प्रतिनिधि छान्न निर्देशन दिनुभएको थियो ।

रावलले त्यसतर्फ संकेत गर्दै प्रतिनिधि छनौटमा सत्ताको घिनलाग्दो दुरुपयोग भएको उल्लेख गरेका हुन् ।

टिप्पणीहरू