मुस्ताङमा खस्यो हिम पहिरो, भाग्ने क्रममा नौ घाइते

मुस्ताङमा खस्यो हिम पहिरो, भाग्ने क्रममा नौ घाइते

मुस्ताङको कोवाङमा हिमपहिरो जाँदा ९ जना घाइते भएका छन् । जिल्लाको थासाङ गाउँपालिका-२ कोवाङमा आज मध्याहन्न पौने १२ बजे हिमपहिरो खसेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिनुभयो ।

पहिरो खसेको जानकारी पाएलगत्तै घटनास्थलमा पुग्नुभएका शर्माकाअनुसार पहिरोका कारण मानवीय क्षति भने भएको छैन । तर, खोला किनारमा बस्ने मानिहरु पहिरोले च्याप्ने डरले भाग्ने क्रममा घाइते भएका छन् । सामान्य घाइते भएका नौ जनालाई अहिले उपचारका लागि जोमसोम पठाइएको उहाँले बताउनुभयो ।

मुस्ताङको सदरमुकाम जोमसोमबाट १९ किलोमिटर बेनीतर्फको एक हिमालबाट पहिरो खसेको हो । पहिरो खसेपछि हिउँ पग्लिएर खोला बढेको र वरपरका गाउँमा सचेत रहनसमेत आग्रह गरिएको शर्माले जनआस्थासँगको कुराकानीमा बताउनुभयो । अहिले पहिरो खस्न रोकिएको उँहाको भनाई छ ।

पहिरोमा परेर चर्न गएका पशुपंक्षीहरुको क्षती भएको हुनसक्ने अनुमान गरिएको छ ।

टिप्पणीहरू