मदिराको विज्ञापन रोक्न खोज्दा विज्ञापन संघ भड्कियो

मदिराको विज्ञापन रोक्न खोज्दा विज्ञापन संघ भड्कियो

नेपाल विज्ञापन संघ (आन) ले आफूसँग सहकार्य नगरी विज्ञापन बोर्डले निकालेको विज्ञप्तिप्रति आपत्ति जनाएको छ । बोर्डले बिहीबार मदिराको विज्ञापन गर्न नपाइने जनाउँदै कारबाहीको चेतावनीसहितको विज्ञप्ति जारी गरेको थियो  ।

उक्त विज्ञप्तिप्रति संघले आपत्ति जनाएको हो । विज्ञापन व्यवसायीहरूसँग पर्याप्त छलफल नगरी बोर्डले सूचना जारी गर्नु दुःखद कुरा भएको बताउँदै आनले विज्ञप्ति जारी गरेको छ ।

आनका अध्यक्ष सोमप्रसाद धितालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘एकातर्फ सरकारले राजस्वको दोब्बर गर्ने लक्ष्य राख्नु अर्कातर्फ भइरहेको व्यापार व्यवसायमा असर गर्ने गरी विज्ञप्ति आउनु विरोधाभास छ । भर्खरै कोभिडको मारबाट थलिएको व्यवसायीहरुलाई व्यवसाय गर्न बर्जित गर्ने गरी षड्यन्त्रपूर्वक आएको विज्ञप्तिप्रति संघको घोर आपत्ति रहेको छ ।’आन्तरिक तथा वाह्य पर्यटनसँग प्रत्यक्ष जोडिएको यस क्षेत्रबाट सरकारले लिइरहेको अर्बौं रुपैयाँ राजश्वलगायत विषयलाई बेवास्ता गर्दै यस्तो विज्ञापनमा रोक लगाउनु भनेको उद्यमी, विज्ञापनदाता र विज्ञापन व्यवसायीलाई कुठाराघात गर्नु रहेको आनको धारणा छ ।

बोर्डले विज्ञप्तिमा जनस्वास्थ्य सेवा ऐन, २०७५ को दफा ४५ को उपदफा १ मा ‘मदिरा, चुरोट, सुर्ती तथा सुर्तीजन्य पदार्थलगायत मानव स्वास्थ्यलाई प्रतिकूल असर गर्ने कुनै पनि विज्ञापन सामग्रीको उत्पादन, वितरण तथा प्रचारप्रसार गर्न पाइने छैन’ भन्ने व्यवस्था गरिएकोतर्फ ध्यानाकर्षण गराएको छ ।

उसले विज्ञापन क्षेत्रमा भइरहेको अर्बौं लगानी, सृजित रोजगारी, राजश्वमा योगदान तथा विज्ञापनको माध्यमद्वारा सम्पादकीय स्वतन्त्रता रक्षा गरी नागरिकलाई सञ्चारगृहको माध्यमद्वारा सुसूचित गराउने विषयवस्तुलाई बोर्डको विज्ञप्तिले निश्चित रुपमा असर गर्ने बताएको छ ।

टिप्पणीहरू