चीनको अर्को ऐतिहासिक निर्णय : छिट्टै महाशक्ति राष्ट्र बन्ने

चीनको अर्को ऐतिहासिक निर्णय : छिट्टै महाशक्ति राष्ट्र बन्ने

चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको छैठौं पूर्णबैठक गत साता बेइजिङमा सम्पन्न भएको छ । चार दिनसम्म भएको बैठकले चीन, चिनियाँ जनता र चिनियाँ कम्युनिष्ट पार्टीको उज्जवल भविश्यको निम्ति महत्वपूर्ण निर्णय गरेको बताइन्छ । पार्टी महासचिव तथा राष्ट्रपति सि जिनपिङले बैठकको अन्तमा दिनुभएको मन्तव्यलाई चिनियाँ जनताले सारगर्वित भनेका छन् ।

बैठकले चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा आगामी शताव्दीमा चीन विश्वको प्रमुख महाशक्ति राष्ट्र बन्ने लक्ष्य लिएको छ । पार्टी स्थापनाको पछिल्लो एक शताव्दीको प्रमुख उपलब्धिहरुको चर्चापछि उक्त निश्कर्ष निकालिएको बताइन्छ । ऐतिहासिक अनुभवले समेत चीनले आगामी शताव्दीको शुरुमा उक्त लक्ष्यलाई व्यवहारमा परिणत गर्ने निचोड निकालिएको हो ।

महासचिव सि जिनपिंगले केन्द्रीय समिति, राजनीतिक ब्यूरोको तर्फबाट बैठकमा प्रतिवेदन प्रस्तुत गर्नुभएकोह हो । प्रतिवेदनमा नयाँ युगमा चिनियाँ विशेषतासहितको समाजवादलाई व्यापक तवरले लागू गर्ने, समाजवादको समर्थन र विकासलाई थप उचाइमा पुर्याउन आगामी राजनीतिक यात्रामा पार्टीको प्रमुख उपलब्धी र ऐतिहासिक अनुभवलाई धेरैभन्दा धेरै जनतामाझ पुर्याउने लक्ष्य लिइएको छ ।

महासचिवले बैठकमा दिनुभएको निर्देशन उल्लेख गर्दै चिनियाँ सञ्चारमाध्यमहरुमा भनिएको छ, ‘पार्टीको आत्म–सुधारलाई थप अघि बढाउने, नयाँ खालका जोखिम र चुनौतीहरूको सामना गर्न आफ्नो क्षमतामा समयानुकूल सुधार गर्ने, सधैं आफ्नो जोश र चिनियाँ जीवनशैलीलाई कायम राख्ने एवम् चिनियाँ जनतालाई राष्ट्रिय कायाकल्पको चिनियाँ सपना साकार पार्ने नेतृत्व लिन जोड दिनुपर्छ ।’

पछिल्लो शताव्दीमा पार्टीले हासिल गरेको उपलव्धी र प्राप्त चिनियाँ जनताको समृद्धिलाई पछ्याउँदै आगामी शताव्दी नलाग्दै त्यसको उच्चतम विन्दुमा पुग्ने महान लक्ष्य समेत बैठकले लिएको छ । बैठकमा सहभागीहरूले कम्युनिष्ट पार्टीले मुलुकको नयाँ लोकतान्त्रिक क्रान्तिमा प्राप्त गरेका ठूला उपलब्धिहरूको मुक्तकण्ठले प्रशंसा गरेका थिए । उनीहरुले समाजवादी क्रान्ति र निर्माण, समयानुकूल सुधार र आधुनिकीकरण प्रक्रियालाई चिनियाँ कम्युनिष्ट पार्टी र जनताको अथक प्रयासले सम्भव बनाएको बताएका छन् ।

बैठकमा सहभागीहरुले पार्टी र राज्यको साझा उद्देश्यलाई अघि बढाउन नयाँ युगका लागि चिनियाँ विशेषतायुक्त समाजवादमा सी विचारधाराको महत्वलाई जोड दिएका थिए । उनीहरुको निश्कर्ष छ, ‘यो विचार समकालीन चीन र २१ औं शताब्दीको माक्र्सवाद हो,’ भन्दै सञ्चारमाध्यममा सार्वजनिक भएको छ, ‘यसले वर्तमान सन्दर्भमा चिनियाँ संस्कृति र आचारको उत्कृष्ट प्रतिनिधित्व गरेको छ । माक्र्सवादलाई चिनियाँ प्रसंगमा अनुकूलन गर्ने नयाँ सफलताको प्रतिनिधित्व समेत गरेको छ ।’

राष्ट्रपति तथा पार्टी महासचिव सीको विचारधारा चिनियाँ कम्युनिष्ट पार्टी, सशस्त्र बल र सबै जातीय समूहका चिनियाँ जनताको साझा इच्छालाई एउटै मालामा उनेको बैठकको निश्कर्ष छ । निश्र्षमा भनिएको छ, ‘नयाँ युगमा पार्टी र राज्यको उद्देश्यलाई अघि बढाउन र राष्ट्रिय कायाकल्पको ऐतिहासिक प्रक्रियालाई समेत अगाडि बढाउन सी विचार कोशेढुंगा हुने अवश्यम्भावी छ ।’

पार्टी बैठकले मुलुकको आर्थिक वृद्धिदर, सुधार र खूल्लापन, पर्यावरणीय संरक्षण, सांस्कृतिक र सामाजिक विकास, राष्ट्रिय रक्षा र वैदेशिक मामिलामा चीनको उच्चस्तरीय भूमिकाका साथै कानुनमा आधारित शासन सञ्चालनको व्यवस्थालाई थप प्रवद्र्धन गर्ने संकल्प समेत यस पटकको बैठकले लिएको छ । बैठकको निर्णयमा भनिएको छ, ‘राष्ट्रिय सुरक्षाको संरक्षण गर्दे एक देशको नीतिलाई दृढताका साथ अघि बढाउने र दुई प्रणाली एवम् राष्ट्रिय पुनर्मिलनको अग्रतालाई कायम राखिने छ ।’

बैठकले भनेको छ, ‘हामी एक चीन सिद्धान्तको सहमतिलाई सदैव समर्थन गर्दछौं । तर ताइवानको स्वतन्त्रता खोज्ने पृथकतावादी गतिबिधिहरूको दृढताका साथ विरोध गर्दछौं । त्यसैगरी कुनै पनि सन्दर्भमा विदेशी हस्तक्षेपको बिरोध गर्दछौं । हामीले मुख्यभूमि र ताइवानबीचको सम्बन्ध कायम गर्ने पहल र क्षमतालाई सँधै कायम राखेका छौं ।’

बैठकले सबै पार्टी सदस्यहरूलाई, ‘ऐतिहासिक प्रवृत्तिको सटिक ढंगले अध्ययन र मनन गर्न आग्रह गरेको छ ।’ भनिएको छ, ‘हाम्रो आदर्श र विश्वासमा दृढ रहने हो । पार्टीको विस्तारमा सहयोगी बन्न हो । अहंकारी प्रवृत्तिलाई परास्त गर्दै उत्पन्न हुने कुनै पनि जोखिमबाट भाग्न हुँदैन ।’ पार्टी सदस्यहरुलाई कुनै पनि खालको अलमल्याउने तत्व र गलत बाटोबाट सजग रहन नेतृत्वले आग्रह गरेको छ । कार्यकर्तालाई भनिएको छ, ‘राष्ट्रिय मौलिक मुद्दाहरूमा विनाशकारी गल्तीहरू गर्नबाट सदैव जोगिनुहोस् ।’

बैठकमा सहभागीहरूले सबैको साझा समृद्धिलाई बढावा दिन, विज्ञान र प्रविधिमा आधारित मुलुकको शक्ति निर्माणमा विशेष जोड दिएका छन् । बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘ामीले सम्पूर्ण प्रक्रियाबाट जनताको प्रजातन्त्रको विकास गर्नुपर्छ । सबैले आफूलाई यो मुलुक चलाउने व्यक्तिको रुपमा सुनिश्चित गर्नुपर्दछ ।’ कम्युनिकले भन्यो।.

विकास र सुरक्षा अपरिहार्यतालाई सन्तुलनमा राख्न, राष्ट्रिय प्रतिरक्षा र सशस्त्र बललाई आधुनिकीकरण गर्नेतर्फ छिटो पाइला चाल्नुपर्नेमा समेत जोड दिइएको छ । चिनियाँ जनतालाई समृद्ध, सुन्दर मुलुक र समाजको निर्मामा समाहति गर्न पार्टीले समन्वयकारी भूमिका खेल्नुपर्ने बैठकको निर्णय रहेको बताइएको छ ।

कार्यकर्ता र पार्टी सदस्यमा पूर्ण र कडा स्वःशासनको प्रयोग अबको आवश्यकता रहेकोमा पार्टी नेतृत्व स्पष्ट भएको देखिएको छ । त्यसैले नयाँ युगमा पार्टी निर्माणको ठूलो योजनालाई अगाडि बढाउनु पर्ने महत्वलाई जोड दिँदै बैठकले सबै पार्टी सदस्यहरूलाई उनीहरूको आचरणमा सुधार ल्याउन, आफ्नो निष्ठा कायम राख्न र भ्रष्टाचारविरुद्ध लड्ने मार्गमा प्रतिबद्ध रहन महासचिवले प्रस्तुत गर्नुभएको प्रस्ताव पारित भएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘सिङ्गो चिनियाँ कम्युनिष्ट पार्टीले जनतासँग सँधै घनिष्ट सम्बन्ध कायम राख्नुपर्छ । जनताको विकासमा केन्द्रीत दर्शनअनुरूप कार्य गर्नपर्छ । यसले मात्रै जनताको बहुमतको आधारभूत हितलाई अझ राम्ररी बुझ्न, सुरक्षा दिन र अगाडि बढाउन सकिन्छ ।’

टिप्पणीहरू