​कस्ता महिला र बालबालिका खतरामा ?

`मैं सोलह बरसकी, तु सत्रा बरसका….!
पुरानो हिन्दी गीतको बोल हो यो । खासै बुद्धि नभए पनि १५/१६ वर्षका किशोरकिशोरीमा प्रेम र यौनका भावना जागृत हुन्छ । त्यसैले भनिन्छ, १६ वर्षे जवानी । तर, त्यस्ता बालबालिकासित अलि ठूलाले सहमतिमै यौनकार्य गरे पनि बलात्कार, बिहे गरे बालविवाह मानिन्छ । कतिपय यस्ता घटनामा कानुन मात्रै नहेरी व्यावहारिक पक्षलाई पनि ध्यान दिनुपर्ने हुन्छ । २०/२२ वर्षका मानिस पनि परिपक्व हुँदैनन्, अल्लारे नै हुन्छन् । 

यहाँ केटीको उमेर १६ वर्ष, केटा २२ वर्षको । बालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा समातिए युवक । केटीको घाँटीमा केही नीलडाम छन्, योनिबाट रक्तश्राव भएको महिला प्रहरीको भनाइ छ । नवलपरासीको बुलिङटार घर भएकी सिर्जना चौधरी (परिवर्तित नाम) चितवनको भरतपुरमा दिदीको घरमा आई बसेकी । सोही स्थानका अमृत रोकाले केही दिनअघि मकैबारीमा लगी बलात्कार गरेको आरोप छ । केही दिन केटी घरबाट हराएकी थिइन्, केटाको घर गएकी रहिछन् । तीन दिन बसिछन् । केटाको आमा तथा परिवारका मान्छेले सोध्दा ‘म अमृत दाइलाई छोड्दिनँ, उसैसित बिहे गरी बस्छु’ भन्ने जवाफ दिएको बताइन्छ । अमृतकी आमाले केटी आफ्नो घरमा छोरासितै सुतेकी भन्दा महिला प्रहरीले ‘बालिकासित सुत्न दिने हो ? बढी नबोल्नुस्, नत्र तपाईंहरू पनि थुनिनुहोला !’ भन्दै थर्काइन् । ‘हामीलाई पनि टेन्सन हुन्छ, अर्काकी छोरी ल्याइसकेपछि’, बिहीबार प्रहरी कार्यालय परिसरमा रिताको भनाइ थियो, ‘केटाकेटी दुवै भोलिपल्ट नै केटीको अभिभावककोमा जान लागेका थिए, मैले नै तातो रिस होला भनेर हिजो पठाएको ।’ केटीलाई राखेर केटालाई घर पठाएपछि प्रहरीमा उजुरी गरेर आफ्नो छोरालाई लगिएको उनले बताइन् । 

किशोरी हराएको भनी माइती नेपालमासमेत उजुरी परेको थियो । क्षेत्रीय कार्यालय नारायणगढका कार्यक्रम संयोजक ईश्वर गिरीले भने, ‘भेटिएर सोधपुछ गर्दा उनले सहमतिमै केटासित सम्पर्क गरेको, केटा मन पर्छ, उसैसित बिहे गर्न चाहन्छु भनिन्, घाँटीका डाम केटाले किस खाँदा भएको बताइन् ।’ केटी पढेलेखेकी छैनन् । त्यसमाथि भर्खर बैंस फक्रिँदै गरेको कल्कलाउँदो उमेरमा किशोरीहरू यौनशिकार एवं बेचबिखन हुनसक्ने खतरा रहन्छ । अरुको घरमा बसेका, अभिभावकत्व राम्रो नभएका बालबालिका बढी जोखिममा रहने ईश्वर बताउँछन् । यस्तो जोखिममा रहेकाहरूलाई माइती नेपालले सकेसम्म उद्धार गरी परिवारको जिम्मा लगाउने गरेको छ । 

काठमाडौंबाट नारायणगढ आएर ब्युटीपार्लरमा काम गर्दै गरेकी एक युवतीकी सानीआमाले वीरगञ्जबाट युवतीलाई फोन गरी आफ्नी दिदीकी छोरीलाई कसैले भगाएर लगेको जानकारी गराएपछि माइती नेपालका कर्मचारीले समातेर ल्याई केही दिन संस्थाकै आवासमा राखेर पछि परिवारको जिम्मा लगाइदिए । बिहे गरेर बच्चा पनि भइसकेकी युवतीको आमालाई सोधेर आएको भनाइ थियो । माइती नेपालले समातेकोमा बदनाम हुन्छ कि भनेर आत्तिएकी, रोएकी थिइन् । एकल महिला, विपन्न, गरिब एवं घरेलु हिंसामा परेकाहरू नै धेरै बेचबिखनमा पर्ने गरेको देखिन्छ । आफन्त तथा नजिककै मानिसबाट यस्ता अपराध भइरहेको छ । अरु त अरु बाबु–ससुराबाटै छोरीचेली सुरक्षित छैनन् । कालिका नगरपालिका, पदमपुरका एक ससुराले बुहारीलाई सहकारीको काम छ भनेर बुटवल लगी औषधि ख्वाएर बलात्कार गरेको पाइएको ईश्वरले जनाए ।

ओमनमा पाँच हजार पाएपछि बाबुले ज्वाइँ इण्डियामा काम गर्छन्, त्यहीँ जाने भनी छोरीलाई बोर्डर कटाइदिए । दलालले महिलालाई ओमन पु¥याए । वैदेशिक रोजगारीमा दलालमार्फत् गएकी महिलाले त्यहाँ साहुको कुटपिट, शारीरिक शोषण सहन नसकेर परिवारलाई फोन गरिन् । माइती नेपालले नै उनलाई नेपाल झिकाएको बताइन्छ । 

ठोरी नाकाबाट चारजना दलाल फन्दामा परे । जगतपुरकी महिलालाई वैदेशिक रोजगारीको लालच देखाएर लान खोजिएको थियो । अर्की पनि महिला भएपछि शंका नहोला भनेर बोर्डर कटाउने काममा एउटी महिला पनि सामेल थिइन् । माइती नेपालका कर्मचारीले सोधपुछ गर्दा नागरिकता लगायत कारणले शंका लागी तुरुन्तै महिला प्रहरीलाई बोलाए । त्यसपछि इलाका प्रहरी कार्यालय माडीमा सशस्त्र प्रहरी बलको समेत उपस्थितिमा भएको अनुसन्धानमा कुमारी विक र धनबहादुर विक नक्कली पतिपत्नी बनेर युवतीलाई बोर्डर कटाइदिने धन्दामा लागेको भेटियो । सोबापत आफूले १० हजार पाउने कुरा धनबहादुरले बताएको माइती नेपालकी परामर्शदाता जयन्ती खनालले बताइन् । यसमा महिलालाई विदेश पठाउन पासपोर्ट लगायत बनाइदिने महेन्द्र परियार (वीरबहादुर) पनि समातिए । अर्का दलाल शिव चौधरी भने फरार रहेको बताइएको छ ।

यस्तै १३, १४ र १७ वर्षका तीनजना बालकलाई महेन्द्रनगरबाट इण्डिया लैजान लागेका शिवकुमार गौतमलाई पनि माइती नेपालका मान्छेले समातेर प्रहरीको जिम्मा लगाइदिए । एकजना बालक बसमा नबोली बसेको कारण इण्डिया नै पुगेछन्, ऊ पछि फर्किएर आएको बताइन्छ । तत्काल उद्धार गरिएका दुई जना बालकमा पोखरा बसपार्क नजिक बोटे टोलमा बस्ने केटाकी बहिनी सोनिया बोटे र क्षेत्रपुरको ईश्वर गुरुङलाई माइती नेपालको सहयोगमा विद्यालय भर्ना गरिएको पनि कार्यक्रम संयोजकले जानकारी दिए । उनी भन्छन्, ‘राज्यमा सामाजिक सुरक्षा शिक्षा, स्वास्थ्य, रोजगारीको ग्यारेन्टी हुनसक्यो भने बेचबिखन हुँदैन ।’

गत साता यौन सम्पर्कका लागि मिलाइदिन्छु भन्दै महिला देखाएर ग्राहकसँग १० हजार रुपैयाँ ठगी भाग्ने दुई जना पुरुष र महिलालाई पनि समातेको खबर जिल्ला प्रहरी कार्यालय चितवनले सार्वजनिक ग¥यो । महिलाको नाम गोप्य राखेर केटाहरूको नाम सार्वजनिक गरियो, भरतपुर–७ बस्ने २४ वर्षीय राजकुमार चौधरी र १९ वर्षीय डेविड सिलवाल । 

भएको के रहेछ भने एकजना पढेलेखेका युवकले टेम्पो ड्राइभरसित आफूलाई यौनर्मी मिलाइदिन भनेछन् । ड्राइभरले त्यो काम गर्ने रहेछन् र एउटी ३५/३६ वर्षीया महिलालाई फोन गरी बोलाइदिए । डक्टरी पढ्दै गरेको युवकले रातिको बेला महिलालाई वीरेन्द्र क्याम्पस पछाडिको आफ्नै कोठामा लगेछन् । त्यतिञ्जेल ड्राइभर कतै गएर अर्काे टेम्पो ड्राइभर साथीसित गफिँदै बसेछ । काम सकिएपछि महिलाले ड्राइभरलाई फोन गरी लिन बोलाइन् । एउटै टेम्पोमा दुवै ड्राइभर एकसाथ आए । पैसा दिने बेलामा किचकिच भएछ । युवकले १० हजार दिने भनेकोमा ६ हजारमात्रै दिएको बताइन्छ । त्यही भएपनि लिएर महिलासहित टेम्पो चालक बाटो लागेछन् । अनि युवकले प्रहरीलाई फोन गरी आफू ठगिएको जानकारी टेम्पो नम्बरसहित टिपाएको प्रहरी नायव उपरीक्षक शिव शर्मा आचार्य बताउँछन् । 

प्रहरीले केही बेरमै महिलासहित चालकद्वयलाई नियन्त्रणमा लियो । लोग्ने, बालबच्चा नभएकी महिलाले आफू यौनकर्मी भएको खुलेरै बताइन् भने टेम्पोका चालकहरूले पनि महिला मिलाइदिने गरेको स्वीकारे । उजुरी टिपाउने युवक सर्लाही घर गएको र फर्केर आएपछि उसलाई पनि कानुनबमोजिम गर्ने प्रहरीले बताएको छ । तर बलात्कार जस्ता जघन्य अपराध न्यूनीकरणका लागि वेश्यावृत्ति आवश्यक भएको डीएसपी शिवको धारणा छ । राज्यलाई राजस्व पनि हुन्छ । विकसित देशहरूमा यो चाहिन्छ भनेर धेरै वर्ष अघिदेखि नै वेश्यालय सञ्चालनमा ल्याइएको उनले बताए । 
– अजय गोर्खाली 

टिप्पणीहरू