प्रधानन्यायाधीश आज पनि अर्कै बाटोबाट छिर्नुभयो

प्रधानन्यायाधीश आज पनि अर्कै बाटोबाट छिर्नुभयो

प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबरा आज पनि अर्कै बाटोबाट सर्वोच्च अदालत प्रवेश गर्नुभएको छ । नेपाल बार एसोसिएसनको नेतृत्वमा कानुन व्यवसायीहरुको अवरोधका बीच उहाँ वैकल्पिक बाटोबाट अदालत छिर्नुभएको हो ।

प्रधानन्यायधीश राणाको राजीनामा माग्दै सर्वोच्चको मूल गेटमा कानुन व्यवसायीहरु धर्नामा उत्रिएपछि राणा अस्ति शुक्रवारको झैं महान्यायाधिवक्ता कार्यालयतर्फको वैकल्पिक बाटो प्रयोग गरी बिहान १० बजेर ५० मिनेट जाँदा सर्वोच्च छिर्नुभएको हो ।

राणाले आजका लागि दश वटा इजलाश तोक्नुभएको छ । २ वटा एकल र ८ वटा संयुक्त इजलास गठन गर्नुभएका राणाले सबैप्रकारका मुद्दाको पेशी तोक्नुभएको छ । शुक्रवारझैं उहाँले आजका लागि आफ्ना लागि भने इजलास तोक्नुभएको छैन ।

यता, भर्खरै सर्वोच्चको गेट अगाडि प्रधानन्यायधीश राणाको समर्थनमा उत्रिएका केही युवालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा तारा बराल, नूरप्रसाद अधिकारी, मनोज सापकोटालगायत छन् । उनीहरुलाई सर्वोच्चको मूल गेट अगाडिबाट प्रहरीले पक्राउ गरेको हो ।

बराल आफूलाई अभियन्ता बताउँछिन् भने अधिकारी गोर्खा फुजेलका हुन् । उनी अनसरनरत गंगामाया अधिकारीका छोरा हुन् । सापकोटा शिवसेना नेपालसँग आवद्ध रहेको प्रहरीले जनाएको छ ।

प्रधानन्यायाधीशसम्बन्धी विवाद चर्किंदै जाँदा बार एशोसिएशनले प्रधानन्यायाधीश राणालाई अदालत प्रवेशमा रोक लगाउने निर्णय गरेको थियो । सोही अनुसार बारको आव्हानमा कानुन व्यवसायीहरुले सर्वोच्चको मूल गेटमै धर्ना दिइरहेका छन् ।

टिप्पणीहरू