सर्वोच्चका कर्मचारीहरु पनि आन्दोलनको तयारीमा

सर्वोच्चका कर्मचारीहरु पनि आन्दोलनको तयारीमा

प्रधानन्यायाधीश र न्यायाधीशहरुको लफडाले झण्डै तीन हप्तादेखि न्यायसम्पादन ठप्प भएपछि सर्वाेच्च अदालतका कर्मचारीहरु आन्दोलनको तयारीमा जुटेका छन् ।

प्रधानन्यायाधीशसहित बहालवाला २० जनै न्यायाधीशहरूले राजीनामा गरेर मार्गप्रशस्त गर्नुपर्ने माग राख्दै कर्मचारीहरु आन्दोलनको तयारीमा लागेका हुन् । कर्मचारीहरु बिहानैदेखि आन्दोलनबारे छलफलमा जुटेका छन् ।

प्रधानन्यायाधीश र न्यायाधीशहरूले आफ्नो मर्यादा बिर्सेर गुटगत क्रियाकलापमा सक्रिय हुँदा न्यायसम्पादन ठप्प भएको भन्दै सर्वोच्चका पाँच सय बढी कर्मचारीहरु आन्दोलनमा जाने निष्कर्षमा पुगेको बताइएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग्दै नेपाल बार एसोसिएसन, सर्वोच्च बार, कानुन व्यवसायीहरु र सर्वोच्चकै बहुमत न्यायाधीशहरु आन्दोलित छन् । प्रधानन्यायाधीश राणाले भने कुनै हालतमा राजीनामा नदिने बरु महाभियोगको सामना गर्ने बताइरहनु भएको छ ।

राणाको पक्षमासमेत कानुन व्यवसायीहरु प्रदर्शनमा उत्रिन थालेपछि केही दिनयता सर्वोच्च अदालतमा झडपको स्थिति बनिरहेको छ ।

टिप्पणीहरू