आज देशव्यापी चक्काजामसम्मका कार्यक्रम हुँदै

आज देशव्यापी चक्काजामसम्मका कार्यक्रम हुँदै

सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको बिरोधमा नेकपा नेत्रविक्रम चन्द (विप्लव) समूहले देशव्यापी देशव्यापी चक्काजाम गर्दैछ । उसले राजधानीदेखि सम्पूर्ण ठूला शहर र बजारमा बिहान १० बजेदेखि ११ बजेसम्म चक्काजामको कार्यक्रम राखेको छ ।

त्यसैगरी संयुक्त विधार्थी संगठनले पनि पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिविरुद्ध खाली सिलिण्डर प्रदर्शन गर्दैछ । दिउँसो २ बजे प्रदर्शनीमार्गमा सिलिण्डर प्रदर्शनको कार्यक्रम राखेको हो ।

नेपाली काँग्रेस (वी.पी.) को भातृ संगठन नेपाल महिला संघले पनि महंगी, भ्रष्टाचारलगायतको विरुद्ध दिउँसो १ बजे माइतीघर मण्डलामा बिरोध प्रदर्शन गर्ने जनाएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले आज प्रज्ञासभाको ३६ औं बैठकको उद्घाटन गर्दै हुनुहुन्छ । कार्यक्रम नेपाल प्रज्ञाप्रतिष्ठान, कमलादीमा अहिले बिहान ९ बजे शुरु भएको हो ।

नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक आज बिहान ११ बजेदेखि बस्दैछ । हिजोदेखि शुरु भएको बैठक आज पनि हेरिटेज गार्डेन, सानेपामा बस्न लागेको हो ।

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले गैरआवासीय नेपाली संघ (एनआरएन) बेल्जियमको स्मारिका बेल्जियम दर्पण सार्वजनिक गर्दै हुनुहुन्छ । कार्यक्रम नेपाल हाउस रेस्टुरेन्ट, हातिसारमा बिहान ११ बजे हुँदैछ ।

आजै बिहान ११ बजे किराँत राईको तेस्रो अन्तर्राष्ट्रिय सम्मेलनको दोस्रो दिनको कार्यक्रम राष्ट्रिय सभागृह, प्रदर्शनी मार्गमा हुँदैछ ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) महालक्ष्मी नगर कमिटीले पार्टी प्रवेश कार्यक्रम राखेको छ । दिउँसो १ बजे सिस्नेरीमा उक्त कार्यक्रम राखिएको आयोजकले जानकारी दिएको छ ।

आजै नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बोलाइएको छ । दिउँसो १ बजे बोलाइएको बैठक पार्टी कार्यालय, सानेपामा डाकिएको हो ।

राष्ट्रिय विभूति शंखधर साख्वा दिवसको अवसरमा काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले शंखधर पार्कको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । दिउँसो २ बजे मध्यपुर थिमि–४, शंखधर चोकमा उद्घाटन समारोह राखिएको छ ।

आजै अनेरास्ववियु उपत्यका विशेष वागमती प्रदेश कमिटीले अगुवा कार्यकर्ता भेला राखेको छ । रत्नराज्य क्याम्पस, प्रदर्शनीमार्गमा दिउँसो ३ बजे कार्यक्रम हुने बताइएको छ ।

नेपाली काँग्रेसको केन्द्रीय कार्यालयमा हुँदै आएको बिरोध कार्यक्रम आज पनि बिहान ९ बजेदेखि शुरु भएको छ । रौतहटका काँग्रेसीहरुले शुरु गरेको कार्यक्रममा अन्य जिल्लाका काँग्रेसीले समेत सहभागिता जनाउन थालेको बताइन्छ ।

टिप्पणीहरू