‘म एमालेमा होइन, एकीकृत समाजवादीमै छु’

‘म एमालेमा होइन, एकीकृत समाजवादीमै छु’

एमालेले गण्डकी प्रदेश कमिटीमा मनोनित गरेका एक जना कमरेडले आफू एमाले विभाजन भएपछि प्रतिबद्धतासाथ नेकपा एकीकृत समाजवादीमै सक्रिय रहेको बताएका छन् । उनले एमालेले पत्तै नदिई मनोनित गरेको निर्णय गलत भएकाले आफ्नो आवद्धता एकीकृत समाजवादीमा रहेकोमा शंक नगर्न आग्रह गरेका छन् ।

एमालेको गत मंगलबार पोखरामा भएको प्रदेश कमिटीको बैठकले माछापुच्छ्रे गाउँपालिका ५ निवासी गोपाल गिरीलाई बिनासूचना र जानकारी कमिटीमा मनोनित गरेको बताइन्छ । मनोनयनको अनौपचारिक जानकारी पाएपछि गिरीले गत बुधबार विज्ञप्ति जारी गर्दै आफू एमालेमा विभाजन आएपछि उक्त पार्टीमा नभएको उल्लेख गरेका हुन् ।

आफ्नो विज्ञप्तिमा भनेका छन, ‘कम्युुनिष्ट पार्टीमा लगातार चार दशकभन्दा बढी क्रियाशील हुँदा म सँधै कम्युनिष्ट पार्टीको विचार, कार्यक्रम र सिद्धान्तप्रति इमान्दारपूर्वक भूमिका निर्वाह गर्दै आइरहेको छु,’ उनले अगाडि लेखेका छन्, ‘एमालेको नेतृत्वले विधि र विधानभन्दा बाहिर गएर गरेको स्वेच्छाचारी कदमको विपक्षमा म सँधै दृढतापूर्वक उभिँदै आइरहेको छु ।’

पछिल्लो पटक एकीकृत समाजवादीको गठनपछि आफू उक्त पार्टीको प्रदेश कमिटीको सदस्यको रुपमा अविचलित र सक्रियतापूर्वक क्रियाशील रहेको उनले जानकारी गराएका छन् । विज्ञप्तिमा लेखेका छन्, ‘भविश्यमा पनि निरन्तर क्रियाशील भइरहने प्रण गर्दै कोही कसैलाई भ्रममा नपर्न अनुरोध छ ।’

टिप्पणीहरू