भारत र माल्दिभ्सको सम्बन्धमा अर्को गतिराेध

भारत र माल्दिभ्सको सम्बन्धमा अर्को गतिराेध

माल्दिभ्समा भारतबिरोधी एकपछि अर्को प्रदर्शन र घटनाक्रम बढ्दो छ । शुक्रबार राजधानी मालेमा भारतीय सैनिक हटाउने माग गर्दै आयोजित विशाल प्रदर्शनपछि अहिले माल्दिभ्समा उडाउँदै गरिएको भारतीय जहाजको विषयले नयाँ रुप लिएको छ ।

त्यहाँकी रक्षामन्त्री मारिया अहमद दीदीले माल्दिभ्स सरकार डोर्नियर विमान उडाउने चालकहरुको महँगो तलब र सुविधा तिर्न आर्थिकरुपमा असक्षम रहेको बताएपछि नयाँ विषय सार्वजनिक भएको हो । भारतीय सेनाले माल्दिभ्सको समुद्री किनारको सुरक्षार्थ भन्दै डोर्नियर विमान उडाउँदै आएको छ । अहिले उक्त विमान उडाउने चालक र समूहलाई तलब र सुविधा माल्दिभ्सले नै उपलब्ध गराउनुपर्ने भारतीय धारणापछि माल्दिभ्सले औपचारिक असहमति राखेको हो ।

मन्त्री मारियाको उक्त भनाइ एउटा अचम्मको समयमा आएको त्यहाँको माल्दिभ्स जर्नलले शनिबारको अंकमा लेखेको छ । रक्षा मन्त्रालयले शुक्रबार राति भारत सरकारसँग गरेको डोर्निएर विमान सञ्चालन सम्झौताबारे राष्ट्रिय सुरक्षा सेवा सम्बन्धी संसदीय समितिलाई आवश्यक जानकारी दिए लगत्तै बाहिर आएको हो ।

मन्त्रीले आफ्नो मुलुक डोर्नियर जहाज उडाउने चालक र चालक दलका सदस्यहरुलाई विदेशी र आन्तरिक वायुसेवा कम्पनीसँग तुलना गरेर सोबमोजिमको तलब दिन असमर्थ रहेको कुरा बताएपछि अहिले भारत र माल्दिभ्सबीच कुटनीतिक वृत्तमा तरंग उठेको छ ।

‘हाम्रो बजेटमा वाह्य र आन्तरिक वायुसेवा कम्पनीहरूले दिने सुविधासँग तुलना गरेर सोबमोजिमको सुविधा दिन माल्दिभ्स सरकार सक्दैन,’उनले भनिन् । उनले आफ्नो मुलुक डोर्नियर विमान मर्मत र त्यसको लागि आवश्यक आर्थिक जोहो गर्न समेत असमर्थ रहेको उल्लेख गरेकी छन् ।

उनको भनाइको निचोड थियो, ‘माल्दिभ्स राष्ट्रिय सुरक्षा बललाई समुद्री एम्बुलेन्सको रुपमा उडाइने डोर्निएर विमान उडाइराख्न असमर्थ छ ।’

टिप्पणीहरू