माधव नेपालले फेरि निकाल्नुभयो जाँडरक्सीको सन्दर्भ

माधव नेपालले फेरि निकाल्नुभयो जाँडरक्सीको सन्दर्भ

पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले फेरि जाँडरक्सीको सन्दर्भ निकाल्नुभएको छ । उहाँले आज पनि साँझ परेपछि होटल र भट्टी धाउने बानी भएमा तत्काल त्याग्न सुझाव दिनुभएको हो ।

समाजवादी प्रेस संगठनकाे घोषणासभालाई सम्बोधन गर्ने क्रममा अध्यक्ष नेपालले पत्रकारहरुलाई पनि साँझ परेपछि होटल र भट्टी धाउने बानी भएमा त्यस्तो खराब बानी त्याग्न निर्देशन दिनुभएको छ । उहाँले भन्नुभयो, ‘साँझ परेपछि होटल धाउने र रक्सी नखाई निन्द्रा नलाग्ने बानी परेको भन्नेहरुले पनि त्यो बानी त्याग्नुहोस् ।’

कार्यक्रममा केही दिनअघि सर्लाहीमा भएको घटनाको चर्चा गर्दै अध्यक्ष नेपालले गर्मी महिनामा साँझको साढे ७ बजे, जाडो महिनामा साढे ५ बजे अँध्यारो नहुँदै होटल र रेष्टुरेण्टका कोठाहरु भरिभराउ हुने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘अनि ग्लाँस ठोकाठोक, गर्मागर्मी र चर्काचर्की गर्दै घर पुगेर झगडा गर्छन् । यस्तो गर्ने पार्टीका नेता को होलान्, म फोटो खिच्न चाहन्छु, गोप्य रुपमा फोटो दिनु भनेको थिएँ, ती सबै भागेछन् ।’

यसअघि पनि उहाँले गत असोजमा आफ्ना पार्टीका मन्त्रीहरुलाई पार्टी केन्द्रीय कार्यालयमा बोलाएर रक्सी खाने बानी भएमा त्याग्न निर्देशन दिनुभएको थियो ।

कार्यक्रममा नेपालले राक्षसलाई देवता र देवतालाई राक्षस नबनाउन पनि पत्रकारहरुलाई आग्रह गर्नुभएको छ । आर्थिक प्रलोभनमा परी पत्रकारहरुले राक्षसका दाह्रा र नंग्रा निकालेर देउता बनाउने प्रवृत्ति पछिल्लो समयमा बढ्दै गएकाले त्यसतर्फ सचेत हुन आफू निकटस्थ पत्रकारहरुलाई आग्रह गर्नुभएको हो ।

उहाँले पछिल्लो समयमा नेकपा एकीकृत पार्टीप्रति आकर्षण बढ्दै गएको चर्चा गर्नुभएको छ । उहाँका अनुसार आफ्नो पार्टीले मनाङ र मुस्ताङ बाहेक ७५ वटै जिल्लामा संगठन बिस्तारको काम सम्पन्न गरेको छ । रौतहट, मोरङ, डडेलधुरा, काभ्रेपलाञ्चोक, दार्चुलालगायतका जिल्लामा सोचेभन्दा बढी सहभागिता रहेकाले आफू उत्साहित भएको उहाँले बताउनुभयो ।

टिप्पणीहरू