माल्दिभ्समा भारतविरोधी प्रदर्शन

माल्दिभ्समा भारतविरोधी प्रदर्शन

माल्दिभ्सको राजधानी मालेमा भारतविरोधी प्रदर्शन भएको छ । माल्दिभ्समा रहेको भारतीय सैन्य उपस्थिति हटाउन माग गर्दै हिजो विशाल प्रदर्शन भएको हो । यो भारतीय सैन्य उपस्थितिलाई लिएर त्यहाँ भएको यो वर्षको दोस्रो ठूलो प्रदर्शन हो ।

विपक्षी गठबन्धनले आयोजना गर्दै आएको ‘माल्दिभ्सको रक्षा’ अभियानअन्तर्गत पछिल्लो प्रदर्शन भएको बताइएको छ । हिजोको प्रदर्शनमा विपक्षी गठबन्धनका सबैजसो नेतृत्व, माल्दिभ्स क्रान्तिकारी आन्दोलनका सदस्यहरू र सेवानिवृत्त वरिष्ठ सैन्य र प्रहरी अधिकारीहरूको उपस्थितिलाई विशेष अर्थपूर्ण ठानिएको छ ।

प्रदर्शनकारीले माल्दिभ्सबाट बिनाशर्त तत्काल भारतीय सेना हटाउन माग गरेका छन् । उनीहरूले राष्ट्रपति इब्राहिम मोहम्मद सोलिह, रक्षामन्त्री मारिया दीदी र विदेशमन्त्री अब्दुल्ला शाहिद एसीको समेत राजीनामा मागेका छन् ।

माल्दिभ्स न्युज नेटवर्कले भारतको पछिल्लो सैनिक गतिबिधिले माल्दिभ्सका जनतासमेत चर्को बिरोधमा उत्रन बाध्य भएको विश्लेषण गरेको छ । झण्डै तीन वर्ष अघिदेखि त्यहाँस्थित भारतीय उच्चायुक्तमाथि माल्दिभ्सको आन्तरिक मामिलामा हस्तक्षेप गरेको, सरकारी अधिकारीहरूलाई घुस र प्रलोभनमा पार्दै आफ्नो स्वार्थसिद्ध गरेको आरोप लाग्दै आएको छ । माल्दिभ्समा सन् २०१८ देखि भारतविरोधी प्रदर्शन हुँदै आएको छ ।

टिप्पणीहरू