इन्धनको मूल्यवृद्धिविरुद्ध अनेरास्ववियुको राँके जुलुस

इन्धनको मूल्यवृद्धिविरुद्ध अनेरास्ववियुको राँके जुलुस

सरकारले बुधबार मध्यरातदेखि लागू गरेको पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले आज मसाल जुलुससहित विरोध प्रदर्शन गरेको छ ।

इन्धनमा गरिएको मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गर्दै अनेरास्ववियुले उपत्यकाका त्रिचन्द्र र महेद्ररत्न क्याम्पस अगाडि छुट्टाछुट्टै प्रदर्शन गरेको हो ।

त्रिचन्द्र क्याम्पसको गेट अगाडि अनेरास्ववियुका केन्द्रीय महासचिव समिक बडाल, संगठन विभाग सचिव गोविन्द थपलिया, त्रिचन्द्र क्याम्पस कमिटीका सहसंयोजक सरद पोखरेलको नेतृत्वमा मसाल जुलुस निकालिएको हो ।

यता, महेन्द्ररत्न क्याम्पस ताहाचलमा बाग्मती प्रदेशका संयोजक पंकज भण्डारीको नेतृत्वमा अनेरास्ववियुले प्रदर्शन गरेको छ । सो क्रममा टाउकोमा कालोपट्टी बाँधेका अखिलका कार्यकर्ताहरुले प्लेकार्ड प्रदर्शन गर्दै नारा–जुलुस गरेका थिए । क्याम्पस कमिटीका अध्यक्ष लोकेन्द्र बोहरा, कालिमाटी–कलंकी क्षेत्रका अध्यक्ष पवित्र ढकाललगायतले प्रदर्शनको नेतृत्व गरेका थिए ।

प्रदर्शनकारीले ’नाफा घाटा जान्दैनौं, मूल्यवृद्धि मान्दैनौं’, ’मूल्यवृद्धि फिर्ता गर !’ जस्ता नाराबाजी गरेका थिए । नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टीतेल र ग्यासको भाउ बढाएको बिरोधमा अन्य विद्यार्थी संगठनले पनि प्रदर्शन गर्दै आएका छन् ।

टिप्पणीहरू