एमाले छाडेर आफ्नो पार्टी प्रवेश गर्नेको लहर चलेको अध्यक्ष नेपालको दाबी

एमाले छाडेर आफ्नो पार्टी प्रवेश गर्नेको लहर चलेको अध्यक्ष नेपालको दाबी

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले छाडेर आफ्नो पार्टीमा प्रवेश गर्नेहरुको लहर चलेको बताउनुभएको छ । आज बसेको पार्टीको स्थायी समिति बैठकमा बोल्दै उहाँले स्वतःस्फूर्त ढंगले एमाले छाडेर आफ्नो पार्टीमा प्रवेश गर्नेहरुको लहर आएको उल्लेख गर्नुभएको हो ।

उहाँका अनुसार डडेलधुरामा एमालेको सिंगो जिल्ला कमिटीनै एकीकृत समाजवादीमा प्रवेश गरेपछि सर्वत्र त्यसको प्रभाव परेको छ । यसबीचमा अन्य पार्टीसमेत आफ्नो पार्टीसँग एकताबद्ध भएर अघि बढ्ने विषयमा छलफल भइरहेको उहाँले बताउनुभयो ।

अध्यक्ष नेपालले एमाले अध्यक्ष केपी ओलीको गुटले आफ्नो पार्टीविरुद्ध झुठो प्रचार गरेकाले त्यसविरुद्ध चोटिलो प्रहार गर्नसमेत पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।

उहाँले भन्नुभयो, ‘जताततै एर्कीकृत समाजवादीको लहर आउँदाआउँदै पनि हाम्रो विपक्षमा केपी गुट पूरै लागिपरेको छ । उसले अनावश्यक आरोप लगाइरहेको छ, झुठो प्रचार गरिरहेको छ । यसको सशक्त प्रतिकार गरेर पार्टीलाई थप धारिलो बनाउनु पर्नेछ ।’

नेपालले सत्तारुढ गठबन्धन आगामी चुनावसम्मै जाने बताउनुभएको छ । उहाँले राष्ट्रियसभाको निर्वाचन र उपनिर्वाचनमा सत्तारुढ दलहरुले मिलेर उम्मेदवारी दिने सहमति गरिएको उल्लेख गर्दै भन्नुभयो, ‘सत्तारुढ गठबन्धनलाई तोड्न नदिनका लागि पार्टीहरुबीच समन्वय समिति बनाइएको हो ।’

त्यसअवसरमा उहाँले अरुले कुप्रचार गरेजस्तो सरकारको मामिलामा सत्तारुढ गठबन्धन दलले बनाएको समन्वय समितिले हस्तक्षेप नगर्ने स्पष्ट पार्नुभएको छ ।

अध्यक्ष नेपालले निर्वाचनको तयारीमा जुट्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभएको छ । उहाँले भन्नुभयो, ‘नियम र कानुनले मिलेमा तीन वटै तहको निर्वाचन एकैपटक गर्ने सोच बनाइएको छ ।’

टिप्पणीहरू