​चीन भ्रमणका अनमेल केही चित्र

प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणमा रंगीचंगी मान्छे सहभागी भएका देखिए । कोही चीनबारे भुत्लोभाङ नजान्ने थिए भने कोही दुई/चारपटक घुमेर आफूलाई चीनविद् नै ठान्थे । पत्रकार पनि उस्तै । जता गए पनि रक्सीकै कुरा गर्ने ।

सबैभन्दा ठूलो समस्या सम्हाल्नै नसकिने खालको भीड थियो । न समय तालिकाअनुसार काम गर्ने न त सुरक्षा व्यवस्थालाई ध्यान दिने । प्रोटोकोल पनि वास्ता नगरिकन जताततै हुलहुज्जत गरेपछि चिनियाँका लागि नेपाली प्रतिनिधिमण्डलमा सहभागीहरु जात्रा प्रदर्शन गर्ने कलाकारजस्ता भैदिए । प्रतिनिधिमण्डलमा सहभागी कतिपय व्यक्ति एकअर्काका ज्यानीदुश्मन रहेछन् । न बोलचाल, न त हेराहेर । त्यसमाथि नेपाली पारामा आँखा छलेर एकअर्काको कुरा काट्न थालिहाल्ने । कसैको राजनीतिक रिस त कसैको व्यापारिक प्रतिस्पर्धा ।

डिनर–लञ्चमा नेपाली खाना पाइँदैन भनेर सोध्ने काम धेरैको साझा थियो । होटलमा खाने लाइनदेखि हिँडडुल गर्दा पनि नेपालीले हुलहुज्जत गरेको देखिन्थ्यो । प्रधानमन्त्रीको भ्रमण दलमा सहभागी भए पनि सबैको चासोचाहिँ यसो किनमेल गर्न कता पाइन्छ भन्नेमै थियो । त्यस्तो भ्रमण दलमा एक जना भद्र व्यक्ति देखिए । साह्रै कम बोल्थे । आँपझाँप गर्दै कहिल्यै पनि कुर्सीमा बस्न गएनन् । हरेकपटक लाइनमा उभिएर शिष्टता प्रदर्शन गर्थे । मर्यादामा उच्च ध्यान दिन्थे । उनी हुन् गृहमन्त्री रामबहादुर थापा बादल ।

ज्वाइँ मिडिया
प्रधानमन्त्रीको भ्रमण दलमा सरकारी सञ्चारमाध्यममध्ये गोरखापत्रलाई समावेश नगरेर निजी क्षेत्रको एउटा टेलिभिजनलाई लगियो । चीन भ्रमणभरि उक्त टेलिभिजनलाई ज्वाइँ मिडिया र गोरखापत्रलाई झड्केलो मिडियाको उपमा दिइयो । नेपाल टेलिभिजन अफिसियल मिडिया भनेर गए पनि काम भने निजी च्यानलले मात्र गर्न सक्यो । एभिन्युजले चाहिँ नेपालबाटै डिभाइस लिएर गएकाले प्रायःजसो कार्यक्रमको प्रत्यक्ष प्रसारण गरेर सरकारी पैसा र भत्ता खानेहरूलाई लोप्पा खुवाइदियो ।

ऋषिको रमिता
प्रधानमन्त्रीको यसपटकको चीन भ्रमणको अर्को गाईजात्रे क्यारेक्टरका रूपमा ऋषि धमला देखिए । चिनियाँ कडा सुरक्षा व्यवस्था र अनुशासनबीच ऋषिले नेपाल र भारतजस्तै ठानेर जता पनि ल्याङफ्यांगे तरिकाले पस्न र कुराकानी गर्न खोजेका थिए । प्रधानमन्त्री बेइजिङ पुगेको भोलिपल्ट बिहान नेपाली दूतावासमा एउटा कार्यक्रम राखिएको थियो । कार्यक्रमलाई संबोधन गरिसकेपछि केही समय प्रधानमन्त्री र मन्त्रीहरू चिनियाँ सञ्चारमाध्यमसँग अन्तक्र्रिया गर्न कोठाभित्र प्रवेश गरे । त्यहाँ पनि ऋषि जान खोजे । तर, उनलाई ढोकामा उभिएका दुईजनाले रोकिदिए । ‘भित्र पस्न पाइँदैन । कसैलाई पनि पस्न नदिने आदेश आएको छ’ ती व्यक्तिले भने । ‘छ नि आजको दिनमा तपाईं ऋषि धमलालाई छेक्न खोज्ने को हो ? सुरक्षाकर्मी हो कि कूटनीतिज्ञ ?’ जसै गरे पनि ऋषिलाई ती व्यक्तिले पस्न दिएनन् । पछि बुझ्दा बाटो छेक्ने व्यक्ति बेइजिङमा पढ्दै गरेका नेपाली विद्यार्थी रहेछन् । उनलाई दूतावासले स्वयंसेवकका रूपमा राखेको रहेछ ।

रातो नाक भएका ऋषि एक जना विद्यार्थीले रोकेपछि झन् रातोपिरो हुँदै बाहिरै बसे । अन्य ठाउँमा पनि अनधिकृतसीमा उल्लंघन गरेपछि चिनियाँ सुरक्षाकर्मीले धकेलेर पर पु¥याउने गरेका थिए । दूतावासका सैनिक सहचारीले पनि धकेलेर बाहिर निकालेको दृश्य थुप्रै ठाउँमा देखियो । भारतमा भए जोसुकैसँग हिन्दीमा कुरा गर्न तम्सिने उनले चीनमा चाहिँ कसैसँग अन्तर्वार्ता लिन सकेनन् । अनि घरिघरी प्रतिनिधिमण्डलमा रहेका नेपाली पत्रकारलाई सोधेर हैरान बनाएका थिए । 

चीनमा अर्का चरित्र
चीन भ्रमणको दोस्रो दिन बिहान दूतावासले नेपाली समुदायसँग अन्तक्र्रिया राखेको थियो । सो कार्यक्रमपछि प्रधानमन्त्री ओली हतारहतार नेपाल–चीन आर्थिक मञ्चलाई संबोधन गर्न गए । दूतावासबाट प्रधानमन्त्री निस्किएपछि एकाएक एकजना मान्छे निकै पड्किएर कुरा गर्न थाले– के ताली बजाउन मात्र बोलाएको ? हामीले केपी ओली देखेका थिएनौँ ? यहाँ बोलाएर बेइज्जत गर्ने ? हेपेको ? यो राजदूतले अब देख्छ बाउको बिहे ! मैले जान्या छु यस्ता मान्छेलाई तह लगाउन ! 

 

टिप्पणीहरू