माओवादी बैठक साँझ ६ बजे, ५ बजेसम्म सदस्यता नवीकरण

माओवादी बैठक साँझ ६ बजे, ५ बजेसम्म सदस्यता नवीकरण

नेकपा (माओवादी केन्द्र) ले केन्द्रीय कमिटी बैठक बोलाएको छ । विधान परिमार्जन, सदस्यता नवीकरणलगायत समसामयिक राजनीतिक विषयमा छलफल गर्न बैठक बोलाइएको हो ।

केन्द्रीय कार्यालय सचिव श्रीराम ढकाल ‘प्रशान्त’ का अनुसार बैठक साँझ ६ बजे भर्चुअल माध्यमबाट बस्नेछ । अधिकांश केन्द्रीय सदस्यहरु पार्टी कामको सिलसिलामा उपत्यका बाहिर रहेकाले भर्चुअल बैठक बस्न लागेको उहाँले जानकारी दिनुभयो ।

आजको बैठकले सदस्यता नवीकरको म्याद थप गर्नेबारे निर्णय लिने बताइएको छ । आगामी पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलनको तयारी गरेको माओवादीले कात्तिक २५ गते (हिजो) सम्म सदस्यता नवीकरणको म्याद तोकेको थियो । तर, सो अवधिमा सदस्यता नवीकरण सम्पन्न नभएपछि आज साँझ ५ बजेसम्म म्याद थपिएको छ ।

‘हिजो र अस्ति चार घण्टा सर्भर डाउन भएकाले फारम भरिसकेकाहरुको डाटा इन्ट्री गर्न सकिएन, त्यसकारण आज साँझ ५ बजेसम्मका लागि म्याद थपिएको हो’, ढकालले भन्नुभयो, ’अझै धेरै छुटेको भन्ने कुरा आइरहेको छ, यसबारे आजको बैठकले निर्णय गर्छ ।’

पहिलोचोटी सदस्यहरुको विवरण व्यवस्थित गर्न लागेको माओवादीले केन्द्रीय सफ्टवेयरमा सदस्यहरुको डाटा इन्ट्री गरिरहेको छ । साढे सात लाख संगठित सदस्य बनाउने योजना बनाएकोमा अहिलेसम्म करिब साढे पाँच लाख मात्रै डाटा इन्ट्री भएको ढकालको भनाइ छ ।

आजसम्म पनि डाटा इन्ट्री भइरहेकाले सदस्यता नवीकरणको म्याद एक–दुई दिन थपिन सक्ने बताइएको छ । अझै करिब डेढ लाखले फाराम भर्न बाँकी रहेको कार्यालय सचिव ढकालको अनुमान छ । कतिपय जिल्लामा नेट नचल्ने र सर्भर ढिलोको समस्या आएका कारण भरिएका फारमसमेत इन्ट्री गर्न नसकेको उहाँको भनाइ छ ।

टिप्पणीहरू