पेलाई धेरै भो भन्दै माधव अप्रसन्न

पेलाई धेरै भो भन्दै माधव अप्रसन्न

‘केपीले मलाई पेल्ने, तपाईंहरू पनि मलाई नै पेल्ने ?’ यसो भन्दै प्रधानमन्त्री शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच १९ गते शुक्रबार साँझ बालुवाटारमा भनाभन चल्यो ।

सरकार गठबन्धनको, तर ‘गठ’, अर्थात् एकता नभई ‘बन्धन’ मात्रै बन्न पुग्दा माधव नेपाल रिसाउनुभएको हो । हरेक काम–कुरामा देउवा र प्रचण्डबीच सल्लाह हुने, अनि उपेन्द्र र माधवमार्फत लागु गराउने । त्यसमाथि जस आफूमात्रै लिने, अपजस अरुलाई भिराउने भएपछि उहाँ रिसाउनुभएको बताइन्छ ।

भर्खरै तीन देशमा राजदूत तोकियो, प्रधानमन्त्री बेलायत र स्कटल्याण्ड जानु परेकोले त्यसअघि त्यहाँको निम्ति राजदूत तोक्ने काम त जायज नै मानिएला तर त्यही निहुँमा अमेरिका र भारत पनि घुसाइयो । फेरि बेलायतमा राजदूत तोकिए पनि सबै प्रक्रिया पूरा हुन अरु २ महिना लाग्छ । त्यतिञ्जेलसम्म प्रधानमन्त्री उतै बस्ने र नयाँ राजदूतले स्वागत गर्ने कुरा पनि आएन ।

भूमि आयोग बन्यो । यी कुनै कुरामा यथेष्ट छलफल गरिएन । सुुकुम्बासी आयोगमा त अध्यक्ष देउवा र उपाध्यक्ष प्रचण्डको भाग लाग्यो । माधवलाई वास्तासम्म गरिएन । दुई प्रदेश प्रमुख दिने भनिएको थियो, बागमतीमै थन्क्याइयो । प्रदेश १ का सोमनाथ प्यासीलाई हटाइहाल्ने भनिएको थियो, अहिलेसम्म हटाइएन । हुँदाहुँदा पत्नी आरजु देउवासँगै शेरबहादुरले झुठो बोल्नुभएछ, तत्कालिन स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठको हकमा ।

माधव नेपालले किचकिच गरेर बसिखान नदिएपछि स्वास्थ्य मन्त्रालय दिनुप¥यो भनी शेरबहादुरले पत्नी आरजुलाई भन्नुभएको रहेछ । अनि, एकदिन उमेश श्रेष्ठ एकाबिहानै माधव नेपाललाई भेट्न पुगे । ‘मेरो मन्त्री पद त हजुरले गर्दा गएको रहेछ नि’ भन्ने गुनासो पोखेपछि माधव छक्क पर्नुभयो ।

‘मलाई तपाईंको मन्त्री पद खाने, नखाने कुरासँग के मतलब छ र ? पाँच जनाको नाम दिनुस् भनियो । हामीले दियाँै । ती साथीहरूलाई शेरबहादुरजी आफैँले सेट गर्नुभएको हो । त्यस्तो गर्दा स्वास्थ्यमा हाम्रो मन्त्रीलाई पठाइयो । यसमा मेरो के दोष छ र ?’ उमेशले भने, ‘मलाई आरजु म्याडमले हजुरले गर्दा नै भएको हो भन्नुभयो ।’

एक त भनिएजति मन्त्रालय नदिइएको गुनासो उद्योग, बाणिज्य र आपूर्ति तथा कानुन पनि अरुलाई दिने नाममा आफैंसँग राखिएको रिस, त्यसमाथि आफूखुशी चल्ने स्वभाव ! आफ्नो कारणले उमेश श्रेष्ठ मन्त्रीबाट हटाइने, आफू उम्किन माधव नेपालतिर देखाइदिने । यसरी ‘अति’ भएपछि उहाँ बालुवाटार जानुभएको थियो ।

भारत, बेलायत र अमेरिकाजस्ता महत्वपूर्ण देशका लागि राजदूत बनाउने क्रममा तिहार अगाडि माधवसँग सोधिएन । प्रचण्डले बेलायतका लागिसम्म राजदूत तोक्न सहमति दिनुभएकोमा त्यसमाथि थपेर भारत र अमेरिका देउवाले लिनुभएको पनि अर्को गुनासो रह्यो ।

टिप्पणीहरू