विद्यार्थीहरुले आयल निगम घेरे

विद्यार्थीहरुले आयल निगम घेरे

पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता लिन सरकारसँग माग गर्दै आएको संयुक्त विद्यार्थी संगठनले नेपाल आयल निगमको केन्द्रीय कार्यालय घेराउ गरेको छ ।

आज बिहानदेखि निगमको केन्द्रीय कार्यालय घेराउ गर्दै विद्यार्थी संगठनहरुले तत्काल मूल्यवृद्धि फिर्ता गर्न सरकारलाई दबाब दिएका हुन् ।

विद्यार्थी संगठनका नेताहरुले आमजनता र विद्यार्थीको चुल्हो समेत बल्न नदिने गरी एलपी ग्यासलगायतका पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको बताएका छन् । विद्यार्थीहरुले निगमका भ्रष्ट कर्मचारी र सरकारबिरुद्ध चर्का नाराबाजी समेत गरेका छन् ।

कार्यक्रममा सत्तारुढ नेकपा (माओवादी केन्द्र) मा आवद्ध विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी), नेकपा (एकीकृत समाजवादी) मा आवद्ध अनेरास्ववियुसहितका विद्यार्थी संगठनका नेताहरुले निगमका भ्रष्ट कर्मचारीहरुलाई सामाजिक रुपमा बहिष्कार गर्न आह्वान समेत गरेका छन् ।

संयुक्त विद्यार्थी संगठनहरुले जनतालाई आहात हुने गरी बढाइएको मूल्यवृद्धि तत्काल फिर्ता गर्न प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालसहितका सत्तारुढ दलका नेताहरुलाई समेत दवाव दिइएको बताएका छन् ।

पेट्रोलियम पदार्थको पछिल्लो पटकको मूल्यवृद्धिपछि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेमा आवद्ध अनेरास्ववियुले समेत सरकारविरुद्धको आन्दोलनलाई चर्काएको छ ।

टिप्पणीहरू