लाइसेन्स चाहनेको ओइरो तर कहिले पाइने टुंगो छैन

लाइसेन्स चाहनेको ओइरो तर कहिले पाइने टुंगो छैन

सवारी लाइसेन्सको लागि आवेदन दिनेको संख्या सात लाख नाघेको छ । यही कात्तिक ८ गतेदेखि खोलिएको लाइसेन्सको आवेदन प्राविधिक समस्याको कारण एक सातामै रोकिएको थियो ।

पहिले नै आवेदन दिएकासहित उक्त संख्या स्मार्ट लाइसेन्सको पर्खाइमा रहेको यातायात व्यवस्था विभागले जनाएको छ । कोरोना महामारीको दोस्रो लहर शुरु हुनु अगावै आवेदन दिएकाहरुले समेत स्मार्ट लाइसेन्स पाउन सकेका छैनन् । पछिल्ला दिनमा आवेदन दिएकाहरुको लाइसेन्स आउन एक वर्षभन्दा बढी समय लाग्ने निश्चित छ ।

नयाँ आवेदकहरुले नयाँ मापदण्डबमोजिमको परीक्षा दिनुपर्ने विभागले बताएको छ । नयाँ मापदण्डअनुसार अंकभार प्रणालीमा रहेर परीक्षा दिनुपर्ने हुन्छ । लाइसेन्सको लागि लिइने परीक्षा १०० पूर्णाङ्कको हुनेछ । लिखित परीक्षाको समयावधि ३० मिनेटको हुनेछ । लिखित परीक्षामा न्यूनतम ६० अंक प्राप्त गर्ने परीक्षार्थी मात्र उत्र्तीण हुने छ ।

पछिल्लो व्यवस्थाअनुसार लिखित परीक्षा दिनेहरुले यातायात व्यवस्था सम्बन्धी कानुनी प्रावधान, ट्राफिक नियमको पालना तथा सवारीको प्राविधिक पक्षसम्बन्धी ज्ञानका २५ वटा वस्तुगत उत्तर दिनुपर्ने छ ।

प्रत्येक प्रश्न चार अंकको हुनेछ । सम्बन्धित कार्यालयले विद्युतीय माध्यमबाट परीक्षा सञ्चालन गर्न सक्ने समेत जनाइएको छ । ट्रायल दिनेहरुले न्यूनतम ७० अंक ल्याए उत्तीर्ण हुनेछन् । तर ट्रायलमा आफ्नो सवारी साधनको प्रयोग गर्न पाइने छैन । सम्बन्धित कार्यालयले तोकेको सवारी साधन मात्र प्रयोग गर्न पाइने व्यवस्था गरिएको छ ।

ट्रायलको लागि प्रयोग गरिने सवारी साधन पेट्रोल, डिजेल र ग्यासबाट चल्ने हुनुपर्ने भनिएको छ । तेस्रो पक्षको समेत बिमा गरिएको सवारी साधनबाट मात्र ट्रायल दिन पाइने व्यवस्था गरिएको छ ।

टिप्पणीहरू