तीन टिकट, महाविकट

कल्पना गरौँ त, सोमलाल सुवेदीले मुख्यसचिवको जागिर छाडेर नगएको भए आउने भदौको पहिलो सातापछि निजामती कर्मचारीको सर्वाेच्च पदमा को बहाल हुन्थ्यो होला ?

अहिलेका मुख्यसचिव लोकदर्शन रेग्मी सोमलालले बीचैमा धेरै लोभ नगरेको भए सचिवबाटै साउनमा घर गइसकेका हुन्थे । अहिले खुदो यी दुवैलाई पल्टिएको छ । साउनमा घर जानुपर्ने लोकदर्शनले तीन वर्षे पदावधि सक्न पाउने गरी बाँकी २६ महिना (दुई वर्ष दुई महिना) ढलिमली गर्न पाएका छन् । उता, सोमलालले चाहिँ मनिलास्थित एशियाली विकास बैंकको वैकल्पिक निर्देशक (सहसचिवसरह) का रुपमा वार्षिक डेढ करोड (मासिक १५ हजार डलर) को दरले पोको पारिसकेका छन् । उनलाई बीचैमा फिर्ता बोलाइएपछि त्यही पदमा अर्थ मन्त्रालयका सहसचिव रामशरण पुडासैनी जान लागेका छन् । सोमलाल दुई वर्षे कार्यकालका लागि गएका हुन् । यो जुलाई १५ मा कार्यकाल एक वर्ष पुग्दैछ । बाँकी एक वर्षे कार्यकाल रामशरणले नेपालको तर्फबाट बिताउनेछन् ।

यता मुख्यसचिव पद माया मारेर हिँडेका सोमलालको उता एक वर्षको बाँकी पदावधि कटौतीमा परेको छ । तर, पिर मान्नुपर्ने ठाउँ किन छैन भने नेपालमै वर्षौं सरकारी जागिर खाँदा पनि सोझो तरिकाले करोडको बोरा भिर्ने मौका मिल्दैनथ्यो । यही पदमा यसअघि उपसचिव हुँदा लालशंकर घिमिरे, इश्वरी अर्याल गएका थिए । अहिले उप र सहसचिव जाने ठाउँमा लोभ राखेर मुख्यसचिव आफैँ गइदिए । सोमलालको यो जागिरले फाइदाचाहिँ तीन भाइलाई भयो । उनी त उनै भइहाले । लोकदर्शनको तीन वर्षे जागिर जोगियो, अनि अर्थबाट रामशरणले पनि त्यही ठाउँमा जान पाउने भए ।
 

टिप्पणीहरू