सर्वोच्चमा लफडा चर्केपछि कानुनमन्त्रीलाई बालुवाटार बोलाइयो

सर्वोच्चमा लफडा चर्केपछि कानुनमन्त्रीलाई बालुवाटार बोलाइयो

न्यायालयमा देखिएको पछिल्लो विवादबारे सरकारले चासो देखाएको छ । विवाद चर्किंदै जाँदा सर्वोच्च अदालत परिसरमै झडपको स्थिति बनेपछि सरकारले चासो देखाएको हो ।

प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाको राजीनामा माग्दै वकिलहरुले सर्वोच्चको मुख्य गेटमा धर्ना दिइरहेकै बेला प्रधानमन्त्री देउवाले कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूलाई बालुवाटार बोलाउनुभएको छ ।

यसअघि आजै कानुनमन्त्री बडूले सरकारका महान्यायाधिवक्ता र केही वरिष्ठ अधिवक्ताहरुसँग भेटघाट गर्नुभएको थियो । भेटका क्रममा कानुनमन्त्रीले संवैधानिक बाटोबाटै न्यायालयमा देखिएको गत्यावरोध समाधान गर्ने बताउनुभएको बताइएको छ ।

प्रधानन्यायाधीश राणाको राजीनामा मागेर नेपाल बार एसोसिएसन, सर्वोच्च अदालतका अधिकांश न्यायाधीश, स्वतन्त्र कानुन व्यवसायीलगायतले आन्दोलन गरिरहेका छन् । आन्दोलनका कारण दुई सातादेखि अदालत ठप्प छ । तर, सरकार र सत्तारुढ दलका नेताहरुले भने न्यायालय विवादको समाधान त्यहिँ भित्रबाट खोजिनुपर्ने बताइरहेका छन् ।

संवैधानिक बाटोबाट मात्रै पद छाड्ने प्रधानन्यायाधीशको अडान आइरहेका बेला प्रधानमन्त्री र कानुनमन्त्रीबीचको छलफललाई चासोका साथ हेरिएको छ ।

टिप्पणीहरू