ब्यारेकभित्र विष्फोट

महाराजगञ्जस्थित त्यही चर्चित भैरवनाथ गण हो, जहाँ सशस्त्र द्वन्द्वकालमा थुनिएका माओवादीका ४७ भाइको अझै अत्तोपत्तो छैन । त्यही नाममा सेना पटक पटक बद्नाम भइरहन्छ । अहिले त्यही ब्यारेकभित्र हाते बम (ग्रिनेड) पड्किएर एक महिला सिपाही (दिपिका बस्नेत) मरणासन्न अवस्थामा पुगेकी छन् । उनको आँखा र हातमा गम्भीर चोट लागेको छ । ती महिलाको उपचार व्यवस्थापन नहुँदै त्यही गणमा कार्यरत एकजना सिपाही ज्यानमारा केस लागेर समातिएका छन् । कमाण्ड कन्ट्रोल फितलो हुँदा, माथिल्लो दर्जाका मान्छेले आफन्तलाई व्यारेकबाहिर घुमी हिँड्ने सुविधा दिँदा यस्तो हुन जाने चर्चा त्यहाँ चल्ने गरेको छ । त्यही ब्यारेकबाट हराएको एउटा पिस्तोल अझै भेटिएको छैन । व्यारेकमा राति खासै नबस्ने प्रधानसेनापतिका भाञ्जा हरि बोहोरालाई कमाण्डर बनाएर पठाइएको छ ।

उता, सेनाले कल्याणकारीको रकमबाट विभिन्न ठाउँमा जमिन किनेको छ । तर, त्यसको उचित व्यवस्थापन हुन नसक्दा हाँसोको पात्र बन्नुपरेको छ । प्रधानसेनापति बस्ने शशीभवन र जंगी अड्डाको भूकम्पपछि पुनर्निर्माण त भयो । तर, त्यही निर्माणकार्यमा ईंटा बोक्ने, बालुवा बोक्ने सिपाहीका घर पनि भत्किएका छन् । तिनको घरचाहिँ कसले र कहिले बनाइदिने ? इटहरीमा किनिएको जग्गामा न बाटो छ, न बिजुली । मोरङको थलाहामा उपरथी महेश कार्कीको जग्गा किनेर इपिसेन्टर निर्माण गरिएको छ । त्यो जमिन वर्षौं डुबानमा पर्ने गरेको छ । वर्षा लागेपछि सेनाहरु डुब्छन् र सिभिलियनहरुले तिनको उद्धारमा दौडनुपर्ने अवस्था छ । काठमाडौंको दुवाकोटमा रुक्माङ्द कट्वालकै पालामा कुमार बुढाथोकीहरुले किनेको जग्गालाई सशस्त्रले परेड ग्राउण्ड बनाएको छ । पोखरामा किनिएको  जमिनको लालपुर्जा सेनासँगै छ । तर, अदालतले त्यसलाई सार्वजनिक जमिन भन्दिसक्यो । चोभारमा किनेर छाडेको जग्गामा बागमती बग्छ, गाईको चरन भएको छ ।
 

टिप्पणीहरू