अव्यवस्थित पार्किङ, अस्तव्यस्त राजधानी

राजधानी काठमाडौं उपत्यका मुलुककै अति व्यस्त शहर हो । यहाँका सडकमा दोहोरो सवारी साधनको ताँती हुन्छन् । यस्तो व्यस्त शहरको व्यस्त बजार मानिएको नयाँ सडकको छेउछाउमा अव्यवस्थित रुपमा पार्किङ गरिएका सवारी साधनका कारण धेरैले दुःख पाएका छन् ।

पार्किङ क्षेत्र अभावको कारण देखाउँदै सवारी चालकले मनपरी ढंगले फुटपाथमा पार्किङ गर्दै आएका छन् । फुटपाथमा पार्किङ गर्ने बढ्दो प्रवृत्तिले पैदलयात्रीलाई निकै नै सास्ती हुने गरेको छ ।

पार्किङको सुविधा नहुँदा सवारी चालकसमेत मारमा पर्ने गरेका छन् । पार्किङको समुचित संरचना निर्माणमा सरोकारवालाले चासो नदिँदा यो समस्या क्रमशः भयावह हुँदै गएको छ ।

पैदलयात्रीलाई हिँड्न निषेधजस्तै गरेर महानगरपालिकाले दुई पाडङग्रे सवारी साधनलाई व्यस्त शहरको साँघुरा बजार क्षेत्रमा पार्किङको स्वीकृति दिएको छ । कतिपय सरकारी कार्यालयमा आवश्यक सवारी पार्किङको व्यवस्था समेत गरिएको पाईंदैन ।

काठ्माडौंका नयाँसडक, सुन्धारा, रत्नपार्क, पुतलीसडक, नयाँ बानेश्वर, ललितपुरको मंगलबजार, पुल्चोक, पाटनढोका, भक्तपुरको सल्लाघारी, सूर्यविनायकमा पार्किङको समस्या छ ।

यातायात कार्यालय एकान्तकुनाले दिएको विवरणअनुसार आर्थिक आर्थिक वर्षमा बागमती प्रदेशमा मात्रै ३९ हजार ५६ वटा दुई पाङ्ग्रे सवारी साधन दर्ता भएका छन् ।

यातायात कार्यालयमा दर्ता भएका अधिकांश सवारी साधन काठमाडौं, भक्तपुर र ललितपुरका सडकमा गुड्छन् । आवश्यक परेको बेलामा सार्वजनिक सवारी नपाइने भएकाले पनि अधिकांश नेपाली निजी सवारी र त्यसमा पनि दुई पाङ्ग्रे किन्नेतर्फ आकर्षित देखिएका हुन् ।

तर, पार्किङको भरपर्दो व्यवस्थापन गरेको देखिँदैन । सडक किनारका घरधनीले पनि पार्किङ क्षेत्र राखेर घर बनाएको देखिँदैन । सटर वा घर भाडामा लिएर व्यवसाय गर्ने र सामान खरिद गर्न जाने उपभोक्ताहरुको पार्किङस्थल सडकनै बन्न पुगेको छ ।

पार्किङ निषेधित क्षेत्र तोकिएका स्थानमा समेत दुई पाङ्ग्रे सवारी साधन पार्किङ गरिएको पाइन्छ । सवारी साधन किन्नेको चाप वर्षेनी बढ्दै गएको छ तर पार्किङको समस्या समाधान गर्नेतर्फ सम्बन्धित निकायको चासो नै देखिँदैन ।

निजी सवारीको चाप बढ्दा घण्टौं ट्राफिक जाममा बस्नुपर्ने बाध्यता अर्कोतिर छ । यता, सडकमार्गमा सवारी जाम बढ्नाले ट्राफिक प्रहरीलाई व्यवस्थापन गर्न हम्मेहम्मे पर्दै गएको छ ।

काठमाडौं उपत्यकामा सवारी साधन पार्किङको अभाव रहेको र यसलाई व्यवस्थापन गर्न निकै कठिनाइ भएको यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले बताउनुभयो ।

जबसम्म निजी सवारी साधन दर्तालाई निरुत्साहित गर्न सकिँदैन तबसम्म यो समस्या बल्झिरहन्छ,’ उहाँले भन्नुभयो । उपत्यकाको ट्राफिक व्यवस्था तत्काल सुधार्न सक्ने स्थिति नरहेको सरोकारवाला सबै पक्षले अनौपचारिक रुपमा बताउँदै आएका छन् ।

काठमाडौंमा झण्डै १६ लाख सवारी साधन गुड्छन् । तीमध्ये ७० प्रतिशत दुईपाङ्ग्रे सवारी साधन छन् ।

टिप्पणीहरू