जसपा सांसद कांग्रेसको क्रियाशील सदस्य

जसपा सांसद कांग्रेसको क्रियाशील सदस्य

जनता समाजवादी पार्टी (जसपा) का बाग्मती प्रदेशसभा सदस्य प्रेम तामाङले काँग्रेसको क्रियाशील सदस्यता लिएका छन् । माओवादी केन्द्रमा प्रवेश गरेर बाग्मती प्रदेश सरकारमा मन्त्री बन्ने चर्चाका बीच तामाङले काँग्रेसको सदस्यता लिएका हुन् ।

कांग्रेसको १४ औँ महाधिवेशनको पूर्वसन्ध्यामा सोमबार सार्वजनिक गरिएको क्रियाशील सदस्यको लिष्टमा तामाङको नाम समेटिएको छ । उनको नाम कालिका गाउँपालिका-२ को क्रियाशील सदस्यताको लिष्टमा ८२ नम्बरमा छ ।

गत चुनावमा तत्कालीन नयाँ शक्ति पार्टीले देशभर खराब नतिजा निकाल्दा तामाङले भने रसुवाको प्रदेश ‘ख’ बाट जितेका थिए । कांग्रेससँग गठवन्धन गरेर चुनाव जितेका उनी त्यसयता अघोषित रुपमा काँग्रेस बनेपनि वैधानिक रुपमा भने पार्टी प्रवेश गरेका थिएनन् ।

“पुराना नेता-कार्यकर्तालाई माइनस गरेर अर्बपति माननीय मोहन आचार्य र जिल्ला सभापति पेम्बा तामाङ प्रेमसमूहलाई बढी क्रियाशील दिलाउन लागेपछि पुराना कांग्रेसी रुष्ट भएको बताइन्छ ।”

सांसद पद जोगाउन आफू जसपामै बसेर उनले डेढ वर्षअघि नै आफ्ना नेता-कार्यकर्ता भने कांग्रेसमा पठाइसकेका थिए । उनले भित्री रुपमा आफूसहित १२ सय कार्यकर्ताको क्रियाशील सदस्यता उतिबेलै भरेका थिए । तामाङले क्रियाशील सदस्यतामा बार्गेनिङ गरेकै कारण विवाद चर्किएको थियो । क्रियाशील विवादकै कारण अहिलेसम्म वडा र पालिका तहको अधिवेशन हुन सकेको छैन ।

सांसद तामाङकै कारण रसुवा काँग्रेसका नेताहरु दुईतिर बाँडिएका छन् । पुराना नेता-कार्यकर्तालाई माइनस गरेर अर्बपति माननीय मोहन आचार्य र जिल्ला सभापति पेम्बा तामाङ प्रेमसमूहलाई बढी क्रियाशील दिलाउन लागेपछि पुराना कांग्रेसी रुष्ट भएको बताइन्छ । एक नेताका अनुसार आचार्य र तामाङलाई प्रभावमा पारेर सांसद तामाङले चर्को बार्गेनिङ गरेका कारण सदस्यता विवाद बढेको हो ।

“वडा,पालिका र निर्वाचन क्षेत्र हुँदै सदस्यताको सिफारिस जिल्लामा आउनुपर्नेमा नयाँ शक्तिबाट आएका १४ सय ६५ जना उक्त प्रक्रियामा सहभागी नै नभएको बताइन्छ ।”

कांग्रेसको विधान र निर्देशिकामा तल्ला कमिटीले सिफारिस गरेर पठाएका सदस्यता आवश्यक रुजु गरेर केन्द्रले टुंगो लगाउनुपर्ने उल्लेख छ । वडा,पालिका र निर्वाचन क्षेत्र हुँदै सदस्यताको सिफारिस जिल्लामा आउनुपर्नेमा नयाँ शक्तिबाट आएका १४ सय ६५ जना उक्त प्रक्रियामा सहभागी नै नभएको बताइन्छ । प्रक्रिया पूरा नगरिकनै केन्द्रसँग सेटिङ मिलाएर फारम भरेका सबैलाई सदस्यता दिन खोजेपछि लफडा निम्तिएको हो ।

लामो रस्साकस्सीपछि सोमबार सदस्यता विवाद टुंगो लागेको हो । तर, प्रेम समूहले आठ सय मात्रै क्रियाशील पाएपछि माननीय र जिल्ला सभापतिको टोली फेरि केन्द्रमा लबिङ गर्न थालेको नेताहरुले बताएका छन् । सांसद आचार्य र सभापति तामाङमाथि ठूलो आर्थिक चलखेल गरेर आफू अनुकूललाई क्रियाशील सदस्यता बाँडेको आरोप लागेको छ ।

टिप्पणीहरू