आफ्नै जिल्लामा ओलीलाई असफलता

आफ्नै जिल्लामा ओलीलाई असफलता

झापा एमालेभित्र गाउँपालिका र नगरपालिकास्तरीय कमिटी निर्माणका लागि तोकिएको दिन कतै पनि कमिटी गठन भएनन् । केही पालिकामा आजसम्म पनि अधिवेशन स्थगन छ । जहाँ जहाँ चुनाव भए त्यहाँ दुई लाइन संघर्ष जीवितै देखियो ।

जुन हिसाबले एमालेबाट माधवकुमार नेपालहरूलाई पार्टीबाट निकालियो, त्यसको उद्देश्य अझै पूरा भएको देखिएन । अन्यत्रको कुरा बेग्लै हो, केपी ओलीको घर भएको जिल्लामा पनि एमालेभित्र फरक धार बलियो देखियो । जस्तो, १५ वटा पालिकामध्ये बिर्तामोड, अर्जुनधारा र मेचीनगरजस्ता बलिया नगरमा ओली पक्षका उम्मेदवार पराजित भए ।

बिर्तामोडमा योगेश भट्टराईका भाइ सुवाषले अध्यक्ष जिते भने उनका प्रतिद्वन्द्वी केपी ओलीका नातेदार उमानाथ ओली पराजित भए । ३० वर्षसम्म प्राध्यापन गरेका, पूर्वको राजनीतिक इतिहास बोकेको मेची क्याम्पसको चिफसमेत भइसकेका ओलीको पराजयले यहाँका एमाले कार्यकर्ता क्रुद्ध बनेका छन् ।

उनीहरूको आफ्नै पार्टी र टिमप्रति व्यक्त टिप्पणीले यो कुरालाई सहजै पुष्टि गर्छ । उता, झापाकै सुखानी सहादत स्थल नजिकै रहेको अर्जुनधारा नगरमा पनि उही गति छ । त्यहाँ ओली पक्षबाट उठेका लोकनाथ गौतम ओलीसँगै १४ वर्ष जेल बसेका मनकुमार गौतमका सहोदर भाइ हुन् । तर, त्यहाँ उनले जित्न सकेनन् । बरु राजनीतिमा धेरै पछि लागेका बलदेव गोम्देनले जिते । गोम्देन पनि प्रतिगमनविरोधी कित्तामा उभिएका व्यक्ति हुन् ।

उता, लामो समयसम्म ओलीविरोधी धारमा उभिएर अहिले १० भाइसँगै एमालेमै अडिएका रविन कोइरालाको नगरमा पनि ओली टिमले उठाएका उम्मेदवार पराजित बने । भद्रपुर, शिवसतासीलगायत नगरको हालत पनि उही छ ।

टिप्पणीहरू