के–के हुन्छन् के–के !

उमेरको कारण देखाउँदै एक साताभित्र दुई जर्नेलले राजीनामा दिएका छन् । राम्रो छवि भएका र योग्यमा गनिएका सहायक रथी सूर्यप्रसाद खनालको उमेर जागिर खाँदा २०२० साल कात्तिक १७ गते थियो तर पूर्ण सिलवाल सैनिक सचिव भएपछि सुटुक्क एउटा समिति बनाएर २०१९ साल जेठ २८ कायम गरिएको जानकारी पाउनासाथ खनालले अन्याय भो भन्दै निवेदन दिएका थिए । सोहीमुताविक जंगी अड्डाले २०२०÷८÷१७ कायम गर्न रक्षा मन्त्रालयलाई पत्र लेखे पनि कुनै सकारात्मक जवाफ नआएपछि जेठ २२ गते राजीनामा दिइएको हो ।  तर यसबाट राम्रो परम्परा नबस्ने भन्दै राजीनामा स्वीकृतिको कुनै प्रक्रिया अघि नबढाइ प्रधानसेनापति भारत भ्रमणमा निस्किएपछि जेठ २८ गते खनालले उमेर हदका कारण अवकाश पाएका छन् ।

जेठ २६ गते नारायणगोपाल जर्साब भनेर चिनिएका सहायक रथी सुदर्शन रानाले पनि राजीनामा दिएका छन् । खनाल जर्साबकै बेसिकका रानाले के कारण राजीनामा दिएको नखुले पनि पूर्ण सिलवालकै पालामा उमेर बढाइएकाले नैतिकताको आधारमा राजीनामा दिएको चर्चा छ । क्याडेटमा भर्ना हुँदा बिहे गरेको हुन नहुने भए पनि राना सेनामा सामेल हुँदा छोरी जन्मिसकेको थियो । पूर्ण सिलवालपीडित अझै दुई÷चार जनाको राजीनामा आउने सम्भावना रहेको सेनामा चर्चा छ ।

यता, २० जनाले महासेनानीमा बढुवा भएर फूली लगाएका छन् । नौ वर्ष जुनियर पदम बुढा सबैभन्दा सिनियर भएका छन् । तीन जना सहायक जर्नेल उमेर हदले यही असारमा घर जाने भएका छन् । सहायक रथी भरत खड्काले असार १० गतेबाट अवकाश पाउने भए पनि उनलाई मानार्थ दुई तारे बनाएर फास्ट ट्र्याकमा करारमा राख्ने योजना रहेको बुझिएको छ । अरुण घले असार ८ गते अवकाश हुँदै छन् भने असार १८ गते विश्वनाथ शर्मा पनि उमेरकै कारणले घर जाँदै छन् । सेकेन्ड म्यान भइसकेको लेफ्टिनेन्ट जर्नेल बलदेवराज महतले भने सत्याल पब्लिकेसनमा जागिर खान थालेका छन् ।

यसबीच आर्थिक वर्ष २०७४ सालमा सम्भार रथी विभागले सैनिक जवानको पोसाक, ज्याकेट, बुट खरिद गर्दा करोडौं भ्रष्टाचार भएको छ । दीपक भारतीले ठेकेदारहरुसँग कमिसन खाएर किनेको ज्याकेट जंगी असबाव खानाको स्टोरमा थन्क्याएर राखिएको छ । जवानहरुलाई वितरण गर्न किनिएको कमसल बुट हालै भर्ना भई तालिम सुरु गरेका जवानहरुलाई दिइएकोमा एक दिनमै च्यातिने, भाँच्चिने अवस्था छ ।

टिप्पणीहरू