अनलाइनबाट माओवादी सदस्य सात लाख

अनलाइनबाट माओवादी सदस्य सात लाख

निर्धारित भाकाको अन्तिम दिन आज नेकपा माओवादी केन्द्रमा संगठित सदस्यको संख्या पाँच लाख पुगेको छ ।

आगामी पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलनको तयारी गरेको माओवादीले कात्तिक २५ गतेसम्म सदस्यता नवीकरणको म्याद तोकेको थियो । सदस्यता नवीकरणको अन्तिम दिन केन्द्रीय सफ्टवेयरमा पाँच लाख संगठित सदस्यको विवरण इन्ट्री भएको छ ।

माओवादी केन्द्रीय कार्यालय सचिव श्रीराम ढकाल ‘प्रशान्त’ले आज राती १२ बजेसम्म संगठित सदस्यको संख्या सात लाख पुग्ने अनुमान गरिएको बताउनुभएको छ । यसअघि माओवादीले साढे सात लाख संगठित सदस्य र ३१ लाख साधारण सदस्य बनाउने सांगठानिक कार्ययोजना अघि बढाएको थियो ।

‘साढे सात लाख संगठित सदस्य बनाउने योजना हो,आजसम्म आइपुग्दा सात लाखले फारम भरिसकेका छन्’, उहाँले भन्नुभयो, ‘सिस्टममा भने पाँच लाख मात्र इन्ट्री भएको छ । बाँकी आज राती १२ बजेसम्ममा इन्ट्री गरिसक्ने गरी धमाधम काम भैरहेको छ ।’

देशभरबाट एकैचोटी इन्ट्री गर्दा सर्भर स्लो भएकाले निर्धारित समयमा काम सम्पन्न हुन नसकेको ढकालको भनाइ छ । कतिपय जिल्लामा नेट नचल्ने समस्या भएकाले हार्ड कपी संकलन गरिएको पनि उहाँले जानकारी दिनुभयो । वडा–वडाबाट सदस्यता भरेर जिल्लामा आइसकेको तर, सफ्टवेयरमा इन्ट्री गर्ने काम मात्र बाँकी रहेकाले आजै सदस्यता नवीकरण सकिने ढकालको विश्वास छ ।

सदस्यता नवीकरणमा ढिलाई हुँदा राष्ट्रिय सम्मेलनको मिति प्रभावित हुनसक्ने आशंका गरिएका बेला ढकालले भने अब सम्मेलनको कार्यतालिका हेरफेर नहुने बताउनुभयो । ‘सकभर सदस्यता नवीकरणको मिति सार्ने काम हुँदैन, आज राति १२ बजेसम्म हेरेर निर्णय गर्छौ’, उहाँले भन्नुभयो ।

सदस्यता नवीकरणमा ढिलाई भएकै कारण माओवादीले यसअघि दुई पटकसम्म सम्मेलनको कार्यतालिका हेरफेर गरिसकेको छ । पछिल्लो कार्यतालिकाअनुसार सदस्यता नवीकरणको म्याद कात्तिक २५ गतेसम्म पुर्याइएको थियो । जसका कारण तल्ला कमिटीका अधिवेशनहरुको मिति सरिसकेको छ ।

यसअघि कात्तिक ६ मा टोल सम्मेलन, १३ मा वडा सम्मेलन र मंसिर ४ मा पालिका सम्मेलन गर्ने कार्यतालिका थियो । उक्त कार्यतालिका संशोधन गरी टोल भेला कात्तिक २७ गते,वडा सम्मेलन मङ्सिर ४ गते र पालिका सम्मेलन मङ्सिर ११ गते पुर्याइएको छ । मंसिर १५ मा गर्ने भनिएको प्रदेश सम्मेलन १० दिनपछि सारेर २५ गते हुनेगरी कार्यतालिका हेरफेर गरिएको छ ।

टिप्पणीहरू