सकिन बाबा, सकिन भन्दिनु भएछ

  • डा. शोभाकर पराजुली, कांग्रेस नेता

कांग्रेसभित्र वैचारिक अभ्यासमा तल्लिन थोरै नेता छन्, तीमध्येका हुन्, डा.शोभाकर पराजुली । त्रिभुवन विश्वविद्यालयबाट जनप्रशासनमा स्नातकोत्तर (एमपिए) गरेका उनले हालै भारत, राजस्थानस्थित सिंहानिया विश्वविद्यालयबाट पिएचडी सकेका छन् । कांग्रेस केन्द्रीय कार्यालयको मुख्यसचिव, केन्द्रीय सदस्यजस्तो जिम्मेवारी निभाइसकेका उनले बाराबाट निर्वाचनमा पराजित भएपछि अध्ययनमा लागेर पिएचडी गरेका हुन् । पार्टीभित्र देउवाविरोधी भएका कारण हिजोआज अलिक फुर्सद पाएका छन् ।

० प्रतिपक्षका रुपमा पनि कांग्रेस उति सफल हुन नसकेको भनिन्छ । के भन्नुहुन्छ ?
– जुनखालको सशक्त र रचनात्मक भूमिका निर्वाह गर्नुपथ्र्यो, त्यो देखिएन । कांग्रेसका कार्यकर्ता तथा शुभचिन्तक, लोकतन्त्रप्रेमी जनता सबैले आशा गरेअनुरुप कांग्रेसले प्रतिपक्षको भूमिका निर्वाह गर्न नसकेको कुरा छर्लङ्गै छ । यो सरकारको नीति तथा कार्यक्रमप्रति असहमति जनाएर कांग्रेसले संशोधनको प्रस्ताव अघि सा¥यो र मतदान भयो । तर, मतदान गर्नुको कुनै औचित्य देखिएन । यद्यपि, कांग्रेसले कि त संशोधन प्रस्ताव दर्ता गर्न हुँदैन थियो । असहमति जनाउँदै संशोधन प्रस्ताव दर्ता गरिसकेपछि अपुरो नीति तथा कार्यक्रमविरुद्ध कडा रुपमा प्रस्तुत हुनुपथ्र्यो । एकाएक यो निर्णय लिन नसकेर चुकेको कांग्रेसले विपक्षमा उत्रिनुको कुनै अर्थ रहेन । यसले बाहिर थप नकरात्मक सन्देश गयो । पछि पार्टीका शीर्ष नेताले यसबारे आफूहरु चुक्नुसम्म चुकेको धारणा सार्वजनिक गर्दै गल्ती स्वीकारे । तर, त्यसबेलासम्म समय निक्कै घर्किसकेको थियो । पछाडि फर्किने अवस्था थिएन । यसरी प्रतिपक्षको रुपमा कांग्रेसले कमजोर भूमिका देखाउँदै आएको छ ।

० के कारण यस्तो भएको होला ?
– अहिले मुलुकमा जे जति परिवर्तन भए, त्यसको पहिलो श्रेय कांग्रेसलाई नै जान्छ । तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको स्वच्छ छविका कारण संविधान जारी हुन सफल भयो । उहाँको निधनपछि पार्टी नेतृत्व शेरबहादुर देउवाले सम्हाल्नुभयो । उहाँले तीन तहको निर्वाचन सम्पन्न गर्नुभयो, त्यो ठूलो कुरो हो । तर, पार्टीलाई सशक्त रुपमा अघि बढाउन सक्नुभएन । सरकारमा रहँदा उहाँले निर्वाह गर्नुभएको जिम्मेवारी र कार्यकर्तालाई दिनुभएको गुट र उपगुटले गाँज्यो । उम्मेदवारी छनोट गर्दा पनि यही शैली अपनाएपछि अवस्था झन् नाजुक बनेको हो । यी प्रश्न उठ्नुको पछाडि पैसा हावी हुनु नै प्रमुख कारक देखिन्छ । लोकतन्त्रको रक्षा गर्ने पार्टीप्रति आम जनताको कति विश्वास रहेछ भन्ने निर्वाचनको समानुपातिक मत परिणामले देखायो । यसकारण पार्टी हाँक्ने अदूरदर्शी नेतृत्वको असक्षमताका कारण यी सबै समस्या निम्तिएको बिल्कुलै हो ।

० बजेट, नीति तथा कार्यक्रमहरुमा देखिएको भूमिका त प्रतिपक्षी हैन कि, सत्तापक्षीय हुन पाइन्छ कि भन्ने लोभ पालेका कारण भएको भन्ने आरोप पनि छ नि !
– निर्विवाद सत्य के हो भने, संसदीय राजनीति गरिसकेपछि प्रतिपक्षको भूमिका सशक्त हुनै पर्छ । प्रतिपक्ष पनि संसदीय राजनीतिको सफलताको मुख्य पात्र हुन्छ । पहिलो ठूलो दल सत्तामा र दोस्रो दल दह्रो रुपमा प्रतिपक्षमा बस्नै पर्छ । लोकतन्त्रमा बहुमतप्राप्त सरकारमा रहन्छ । तर, सत्ता प्रतिपक्षको पनि हुन्छ । कांग्रेस सत्तामा जानका लागि हातेमालो गर्नेभन्दा पनि कामको गुण र दोषका आधारमा अघि बढिरहेको छ । त्यहाँ सत्तापक्षीय लालच बिल्कुलै छैन । समस्या नेतृत्व र व्यवस्थापनको मात्र हो ।  

० तपाइँं पनि समानुपातिकमा उम्मेदवार त बन्नुभयो नि !
– अघिल्लोचोटी नै समानुपातिकबाट संसदमा उपस्थिति जनाइसकेकाले नैतिक रुपमा मेरो उम्मेदवारी थिएन । आफू जन्मे, हुर्केको क्षेत्रबाट प्रत्यक्ष उम्मेदवार बनेर त्यहाँको मुहार फेर्ने चाहना थियो । तर, षड्यन्त्रपूर्वक त्यो भेगबाट सिफारिस नै नभएका व्यक्तिलाई उम्मेदवार बनाइयो । पार्टीमा कमै योगदान भएका व्यक्तिले चुनाव लड्नुभयो र उसैगरी हार पनि व्यहोर्नुप¥यो । यद्यपि, तत्कालिन अवस्थामा यस्ता नाजायज कामहरु भए पनि पार्टीले खटाएको ठाउँमा गएर मैले आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेँ । रामेछाप, पर्सा, बारा, रौतहट सबैतिर पुगेँ । ती क्षेत्रमा उम्मेदवार चयन लुते थियो । जसमा पैसा नै हावी भएको चर्चा परिचर्चा पनि गरियो । टिकट भन्ने कुरा कहिले पाइन्छ, कहिले पाइँदैन । पार्टीमा रहेका कार्यकर्ता सबैलाई हेर्नु पर्छ । तर, स्थानीय जनचाहनाअनुरुप टिकट दिने काम भएन । योचाहिँ सत्य कुरा हो ।

० तपाइँंहरुसँग ‘कम्युनिष्ट सरकार अधिनायकवादतिर गयो’ भन्नेबाहेकका टिकाटिप्पणी गर्ने शब्द छन् कि छैनन् ?
– नेपालमात्र होइन, जुनकुनै मुलुकमा अधिनायकवाद चल्न सक्दैन । मानिसको चेतना स्तर र विकास यति उच्च विन्दूमा पुगिसकेको छ कि, कुनै तत्वले चाहेर पनि कुनै एक पक्षको अधिनायकत्व हावी हुन सक्दैन । म त कम्युनिष्ट राष्ट्र (उत्तर कोरिया, भियतनाम, क्युबा, चीन) पनि निकट भविष्यमा लोकतन्त्रउन्मुख हुने देख्छु । दलको नाम कम्युनिष्ट भए पनि विप्लवको दलभन्दा अन्य सबै दल लोकतन्त्रमुखी छन् । अहिले संसदमा भएका दलहरु कम्युनिष्ट होइनन्, नाम मात्र कम्युनिष्ट हो । अहिले प्रत्यक्ष कार्यकारी राष्ट्रपति बनाएर देशलाई राजनीतिक स्थिरतातर्फ लैजाने भन्दै संविधान हेरफेर गर्ने हल्ला चलेको छ । बरु, यसैलाई लोकतान्त्रिक ढंगले अघि बढाएर जाऔँ भनिएको भए अझ सुन्दर देखिने थियो । यद्यपि, संविधानको ढड्डा नै फेर्ने भनिदिँदा मुलुकमा अधिनायकवाद सिर्जना हुने आशंका उब्जिएको छ । मुलुक विकास गर्ने भनेर यसअघि जति गफ जोतियो, तर दुईतिहाइ बहुमतमा बनेको कम्युनिष्ट सरकारले ल्याएको नीति तथा कार्यक्रम निमुखा जनताको हक हितनिम्ति कुनै फलदायी छैन । काखा र पाखामा पारिएको देखिन्छ ।

० दुई ठूला कम्युनिष्टको एकताले कांग्रेसलाई पार्ने प्रभाव कस्तो देख्नुहुन्छ ?
– दुई कम्युनिष्टको एकता भएको भनिए पनि पार्टीका कार्यकर्ताले सहमति जनाइसकेको अवस्था देखिँदैन । तर, दुबैले संगठनलाई चुस्त, दुरुस्त बनाएर अघि बढे भने थप जनविश्वास लिन सक्छन् । के यो सम्भव छ ? प्रश्न आफैँ उम्रिन्छ । यता, प्रतिपक्षी कांग्रेसले आफ्नो नेतृत्व रुपान्तरण गर्नुप¥यो । या त, नेतृत्वबाट विस्थापित भएर अभिभावकको जिम्मेवारी निर्वाह गर्नुप¥यो ।

० तर, कांग्रेसभित्र चुलिएको आन्तरिक किचलोले कम्युनिष्टलाई थप फाइदा पुगेको छैन र ?
– पार्टीको १३ औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित भएसँगै शेरबहादुर देउवाले विधानलाई कुल्चिनुभयो । दुई महिनाभित्र सबै तह÷विभागको नेतृत्व चयन गर्नुपर्ने हुन्छ । तर, उहाँले एक वर्ष नौ महिना लगाउनुभयो । अझै पार्टीका कतिपय तह रिक्त अवस्थामा, लथालिंग छन् । यसैबीच, एक महिने केन्द्रीय बैंठक पनि भयो । तर, उपयुक्त समाधान निस्किएन । विवाद, झगडा र लफडा सिर्जना भयो । त्यतिबेला डा. रामशरण महतले विधानको धारा संशोधन गरेर पदाधिकारी चयन गर्ने कुरा उठाउनुभएको थियो । तर, उहाँको आवाज ओझेलमा पारियो÷प¥यो । यसकारण पार्टीलाई गतिशील रुपमा व्यवस्थित तरिकाले अघि बढाइने कुरा उठान गर्दा किन केन्द्रीय स्तरका नेता बोल्दैनन् ? यो प्रश्न अनुत्तरित छ । अहिले अग्रिम महाधिवेशनका कुरा पनि उठेका छन् । ‘म त्यो क्षेत्रबाट निर्वाचित भएको हुँ’ भनेर साथीहरुले छाती फुलाउन थाल्नु भयो भने अरु समस्याले च्याप्दैन भन्न सकिँदैन । तथापि, आन्तरिक रुपमा पार्टीको व्यवस्थापन नहुँदा स्वभाविक रुपमा विपक्षीलाई फाइदा त पुग्छ । अहिले कांग्रेसभित्र यस्ताखालका समस्या देखिन्छ । अब जसरी हुन्छ, सबै आन्तरिक व्यवस्थापनतर्फ अघि बढ्नुपर्छ ।

० केही दिनअघि कांग्रेसनिकट ट्रेड युनियनको निर्वाचनमा पौडेल–सिटौलाको प्यानल विजयी हुनु के को संकेत हो ?
– कुरा स्पष्ट छ । यसअघि सम्पन्न भएको निर्वाचनबाट छर्लङ्गै हुन्छ । पार्टीको नेतृत्वकर्ताले कहिले छातामा भोट दिन लगाउने, कहिले हँसिया–हथौडामा । त्यस्तै, प्रधान्यायाधीशमाथि महाभियोग, राजदूत नियुक्ति र आइजीपी प्रकरणलगायत धेरै विषयमा छलफल नगरी एकांकी निर्णय गरेर बढिँदाको फल हो । ट्रेड युनियनको परिणाम सिंगो कांग्रेसलाई रुपान्तरण गर्ने सन्देश हो । अब हैकमवादी शैलीमा चल्दैन भनेर त्यो क्षेत्रका साथीहरुले परिवर्तनको आह्वान गर्नुभएको हो ।

० कांग्रेस बढी सत्ताउन्मुख भएर यो अवस्थामा पुगेको हो भनिन्छ । तपाइँंको मत के छ ?
– जुनसुकै दललाई बहुमत लिएर त्यहीँ पुग्ने धोको हुन्छ । बहुमत नभई सत्तामा पुग्नुचाहिँ अनुपयुक्त नै  हो । सत्तामा जाने जनताको साथ र समर्थनले हो । कुनै फाइदा तथा लाभका लागि हो ।

० देशभरका कांग्रेसजन हिजोआज के गर्दैछन् ?
– सबैको एउटै कुरा छ, विधानविपरीत पदाधिकारी तोकियो । कांग्रेसको रुपान्तरण अहिले मूल शर्त हो । नेतृत्व व्यवस्थापन, पुस्तान्तरण र संगठन निर्माण नेपाली कांग्रेससँग जोडिएका ज्वलन्त विषय हुन् ।

० तपाइँंहरुले भन्दै आउनुभएको प्रजातान्त्रिक समाजवादलाई कम्युनिष्टले अंगिकार गरेका हुन् कि त्यो समाजवादचाहिँ छुट्टै हो ?
– इतिहास हेरौँ, तत्कालीन पार्टी सभापति तथा प्रधानमन्त्री बिपी कोइराला र कम्युनिष्टका अग्रज पुष्पलालबीच एकताबद्ध भएर जाने कुरा भएको थियो । बिपीले पार्टीका सदस्यसँग छलफल गरेर कांग्रेस र कम्युनिष्ट मिल्न तयार रहेको बताउनुभयो । पुष्पलालले कार्यक्रमको खाका लिएर आउनुस् ‘म आँखा चिम्लेर सही गर्छु’ भन्नुभएको थियो रे । त्यसपछि ‘राजनीतिक स्वतन्त्रताको कुरा म ल्याउँछु, तपाइँले गर्नुस्’ भनेर पुष्पलालकहाँ पुग्दा उहाँले, ‘सकिनँ, बाबा सकिनँ †’ भन्दै जवाफ दिनुभएको थियो । यसकारण समाजवाद भनेको तल्लो तहका निमुखा जनताको जीवनस्तर उकास्ने, बढी पँुजीपतिलाई बढी नै कर लगाउनेलगायतका अवधारणाहरु विकास गर्ने नीति नै वास्तविक लोकतान्त्रिक समाजवाद हो । रुसमा लेनिन र स्टालिनको अवधारणाजस्तो । चीनमा माओको जस्तो । र, यी सबै साम्यवादमा प्रजातन्त्र जोडिँदिँदा समाजवाद हुन्छ, प्रजातन्त्रबाट स्वतन्त्रतालाई हटाइयो भने साम्यवाद सिर्जना हुन्छ । यसो भनेर बिपीले भन्नुभएको उक्ति अहिले सान्दर्भिक बन्दै गएको छ । तर, हालसालै सार्वजनिक बजेटमा पनि यस्ताखाले नीति तथा कार्यक्रम देखिँदैन । डा. बाबुराम भट्टराई अर्थमन्त्री हुँदा उहाँलाई प्रश्न गरेको थिएँ, ‘बजेटमा समाजवाद देखिएको छ ?’ उहाँले जवाफ दिनुभयो, ‘हो, ‘तपाइँले ठीक भन्नुभयो, त्यो देखिएको छैन । गल्ति भएका छन् ।’
पँुजीवाद, दलालवाद, विस्तारवादजस्ता शब्दहरु हामीसँग छैन । त्यो शब्द उहाँहरु (कम्युनिष्ट) सँग नै छ । मलाई धेरै वर्ष पहिलेको याद आयो । एक जना कम्युनिष्ट साथीले ‘रुपान्तरण’ शब्द प्रयोग गर्नुभयो । मैले तत्काल सोधेँ, ‘यो भनेको के हो ?’ तपाइँले मलाई यसमा मलाई सहमत गराउन सक्नुहुन्छ भने म पनि कम्युनिष्ट हुन्छु ।’ तर, उहाँले दलाल, पँुजीवादमा मुलुक भासिएको भन्ने उत्तर दिँदै आफ्ना नेताहरुले भाषण गर्ने गरेको सुनाउनुभयो । पँुजीवादीबाट उठाएको करले तल्ला स्तरका जनताका निम्ति चाँजोपाँजो जुटाउने प्रक्रिया नै समाजवाद हो । यद्यपि, यो सरकार बहुमतको छ । यसअघिका दलहरु सत्तासिन मात्रै देखिए । यो सरकारले संविधानको अक्षर पालना गरोस् ।

० प्रधानमन्त्रीसहित चार मन्त्री चीन भ्रमणमा छन् । यो भ्रमणबाट के अपेक्षा गर्न सकिन्छ ?
– यो विगतदेखि चल्दै आएको परम्परा हो । भारत–चीन सत्तामा पुगेपछि गइहाल्नुपर्ने मान्यता हटेको छैन । तर, दुई देश विकासको गतिमा कहाँदेखि कहाँ पुगिसकेका छन् । त्यसतर्फ कसैको ध्यान छैन । विगतमा हुलाकी राजमार्ग बनाइदिन्छु भन्ने आश्वासन दिएको भारतले त्यो काम अझै गर्न सकेको छैन । चीनले पनि त्यसै गरेको छ । यसकारण चीनतिर  प्रधानमन्त्री ओली होइन, देश नै उतातिर दौडिरहेको छ ।

टिप्पणीहरू