भारतसँग नयाँ रुट मागिँदै

भारतसँग नयाँ रुट मागिँदै

पर्यटन मन्त्री प्रेम आले आज भारतको राजधानी नयाँ दिल्लीतर्फ जाँदै हुनुहुन्छ । तिहारअघि बेलायत पुग्नुभएका उहाँ एक हप्तापछि नयाँ दिल्ली जान लाग्नुभएको हो ।

नयाँ दिल्लीमा विश्वका पाँच तारेदेखि सात तारेसम्मका होटलहरुको सम्मेलन हुँदै छ । कोरोनापछि ठप्प भएको पर्यटन क्षेत्रलाई चलायमान बनाउन मन्त्री आले तिहारअघि लण्डन र अहिले दिल्ली जानुभएको बताइएको छ ।

सोही क्रममा उहाँले भारतीय समकक्षीसँग हुने भेटघाटमा लुम्बिनीमा बन्दै गरेको गौतमबुध्द अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई अवतरणको निम्ति नयाँ एअररुट खुलाउने सम्बन्धमा छलफल गर्ने बुझिएको छ । अहिले सबैजसो अन्तर्राष्ट्रिय उडान वीरगञ्जमाथिको आकाश र सिमरा भएर भित्रिने गरेको छ ।

नेपालबाट अन्यत्र जाने उडान भने पूर्वमा बिराटनगर,जनकपुर, भैरहवा र महेन्द्रनगर भएर बाहिरिने रुट छ । तर, लुम्बिनीमा अवतरण गर्ने अन्तर्राष्ट्रिय उडानको अवतरणमा नजिकैको रुट उपयोगी हुने भएकाले भारत सरकारसँग भएको यसअघिको पत्राचार र अनुरोधलाई पुनः अगाडि बढाउन मन्त्री आलेले विशेष पहल गर्ने मन्त्रालय स्रोतले बताएको छ । लुम्बिनीमा निर्माणाधीन विमानस्थलमा अवतरण गर्ने अन्तर्राष्ट्रिय उडान सहजताको निम्ति भारतीय सीमादेखि नै उचाइ कम गर्नुपर्ने भएकाले पनि भारतीय अनुमति आवश्यक देखिएको हो ।

तिहारअघि आयरल्याण्डको ग्लास्गो भ्रमणमा जाँदा प्रधानमन्त्री शेरबहादुर देउवाले समेत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग नयाँ हवाइ रुटबारे छलफल गर्नुभएको बताइन्छ ।

टिप्पणीहरू