केटी र भट्टीतिर कुद्नेलाई…

छद्मभेषमा सूचना संकलन गरी देशको शान्ति सुरक्षा बहाल गर्नुपर्ने पदाधिकारी नै कर्तव्यच्युत बनेर भट्टी र केटी ताक्दै हिँड्न थालेपछि राज्यले गरेको लगानी बालुवामा पानी नहोस् कसरी ?

यस्तै केस लागेर पाल्पाका गुप्तचर प्रमुख सुशान्त बराल क्षेत्रीय कार्यालय पोखरा तानिएका छन् । पूर्व घर भएका उनी सूचनाभन्दा कन्या र मापसेको खोजीमा तानसेनका डाँडाकाँडा चहार्ने गर्दथे ।

१५–१६ वर्षदेखि प्रधानमन्त्री, मन्त्री, नेताहरूको भनसुनका आधारमा जागिर खाएर काम नगरी बसेका गुप्तचरहरू अब भने तालिममा जाने या कामको जिम्मेवारी लिने बाध्यतामा परेपछि राजीनामा ठेल्दै घर जान थालेका छन् । तल्लोतहका डेढ सयसहित एसपी फलबहादुर तामाङले पदत्याग गरेको जानकारी प्राप्त भएको छ ।

यसैबीच, राष्ट्रिय अनुसन्धान विभागले हाल छुट्टिएका दुई जिल्ला नवलपरासी र रुकुमबाहेक सबै ठाउँका इञ्चार्जहरूको हेरफेर गर्न लाग्दै छ भने दुई करोड बराबरको बगिङ डिभाइस (अरुको कुरा सुन्ने यन्त्र) किन्ने रकमसहित प्रदेश २ र ५ अनि विभिन्न क्षेत्रमा खटिने हाकिमहरूका निम्ति गाडी खरिद प्रयोजनार्थ अढाई करोडको छुट्टै निकासा प्राप्त गरेको बुझिएको छ ।

उता, रानीबारी पार्कछेऊ आसरा सुधार केन्द्रसँगै नेपाल प्रहरीले सौजन्यस्वरूप उपलब्ध गराएको दुई रोपनी जग्गामा अनुसन्धान विभागले आफ्नो चिफको निवास र सेफ हाउसको निम्ति भन्दै भवन निर्माणकार्य माघसम्म सक्न लागेको छ । कम्पाउण्डवाल, गार्ड क्वार्टर र एक तला डिपिसी ढलान भइसकेको उक्त भवन वैशाख २२ बाट दुई करोड आठ लाख रूपैयाँको लागतमा बनाउन थालिएको हो । उसले पाल्पा, मोरङ र काभ्रेमा पनि आफ्नो अलग्गै कार्यालय भवनका निम्ति अहिलेको सरकारबाट रकम सहयोग पाएको छ ।

प्रहरी र सशस्त्रतिर मेरिट र ज्येष्ठताको विवाद देखा परे पनि तीन डिआइजीसहित केही एसएसपीमा सर्लक्कै बढुवा प्रक्रिया सिध्याइसकेको उसले १५ एसपी र २६ डिएसपीको बढुवा प्रक्रियालाई अन्तिम चरणमा पु¥याएको बताइन्छ ।

यसबीच, राष्ट्रिय अनुसन्धानको तर्फबाट सातै प्रदेशमा इञ्चार्जहरू हेरफेर गरिएका छन् । ३ नं.मा कार्यरत सुनील ढकाल १ मा पुगेका छन् भने २ नं. प्रदेश जनकपुरका निम्ति राष्ट्रिय सुरक्षा परिषद्मा कार्यरत रहँदै गर्दा भर्खरै डिआइजीमा बढुवा भएका सुमन वैद्यलाई खटाइएको छ । पोखरामा कार्यरत कूलदेव थापा ३ नं. प्रदेशको राजधानी हेटौंडा पुगेका छन् । उनले छाडेको ४ नं. प्रदेशमा १ नं. का हरिहर पौडेलको जिम्मेवारी तोकिएको छ । सुर्खेतबाट टेकेन्द्र कार्की ५ नंं. प्रदेशमा पुगेका छन् । तालिम हेर्ने मधु कार्कीलाई कर्णाली प्रदेश (६ नं.) को इञ्चार्ज बनाइएको छ । दिल्ली दूतावासमा कार्यरत प्रकाशराज पाण्डेले ७ नं. प्रदेशको कमाण्ड सम्हाल्ने मौका पाएका छन् । कपिलवस्तुमा तैनाथ शरदबन्धु डिसी, भीम बुढाथोकी, इन्द्र लामा, कृष्ण खनाल, किशोर श्रेष्ठ (लमजुङ), माधव तिम्सिना, यामप्रसाद पराजुली, प्रजितसिंह हमाल, ठाकुरचन्द्र केसी र सञ्जय यादव पनि एसएसपीमा बढुवा भएका छन् ।

टिप्पणीहरू